भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग


काठमाडौँ — सर्वोच्च अदालतको फुलकोर्टले जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितका लागि सहयोग घोषणा गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको फुलकोर्टको बैठकले प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीश र कर्मचारीको पारिश्रमिकबाट सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशले ७ दिनको पारिश्रमिक भूकम्प पीडितका लागि उपलब्ध गराउने निर्णय भएको हो । त्यस्तै, उच्च अदालतका न्यायाधीशहरूको ५ दिनको पारिश्रमिक र जिल्ला अदालतका न्यायाधीशको ३ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ ।

अदालतमा कार्यरत कर्मचारीमध्ये राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरका कर्मचारीको १ दिनको तलब स्वेच्छिकरूपमा उपलब्ध गराउने निर्णय भएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको सहायक प्रवक्ता घिमिरेले जानकारी दिए ।

गत शुक्रबार जाजरकोटमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट ठूलो संख्यामा घरहरू भत्किएका छन् ।source: ekantipur


प्रकाशित : २०८० कार्तिक २२, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित