त्रिशुलीमा बेपत्ता दुई बसको खोजी कार्य जारी; आज बसको खोजी गर्न ठूलो चुम्बकको प्रयोग गरिदै


काठमाडौं । पहिरोले त्रिशूली नदीमा खसालेको बसलाई तीन दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि चुम्बकको प्रयोग गरिने भएको छ ।

खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी निरन्तर खटिएका छन् ।

आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानसँगै देवघाटमा समेत खोजी कार्य सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो। घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

बेपत्ता यात्रीमध्ये तीनजनाको शव भने भेटिएको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ।

परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए । यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै थिए ।

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको थियो ।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं आउदै गरेको अर्को बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।


प्रकाशित : २०८१ असार ३०, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित