सडकमा मकै पोलेर बेच्ने चमेलीको जीवन : थकाइ लागे पनि आराम गर्न पाइँदैन

सडकमा मकै पोलेर बेच्ने चमेलीको जीवन : थकाइ लागे पनि आराम गर्न पाइँदैन

सिन्धुलीकी चमेली विशङ्खेले संघर्षको पापड बेल्नसम्म बेलेकी छन् । माइती खान पुग्दैनथ्यो । बिहेअघि बनेपा–सिन्धुलीको भारी बोक्थिन् । १४ वर्षमा बिहे गरेकी ४० वर्षीया विशङ्खे १६ वर्षअघि काठमाडौं पसिन् । काठमाडौं पसेदेखि कहिले मकै पोलेर बेच्छिन् । कहिले तरकारी बेच्छिन् ।

पसिनाको गीत गाएर खानुको मज्जा उनलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उनले काठमाडौंको वसन्तपुरनजिक गणेशथानमार्गको भित्रीसडकमा मकै पोलेर बेच्छिन् । मकै पोलेर बेच्ने ठाउँ र कोठा १ मिनेटमा ओहोरदोहोर गर्न सकिन्छ । ‘हेर्नु न हातको नशा सुनिएको,’ उनले बिलौना गरिन्, ‘मकै पोल्न आगो फुक्न पर्छ । कोइलाको सहारामा बल्ने आगो फुक्न हातले हम्कन मिल्ने साधनले चलाउँदा पाता दुखेर हैरान हुन्छ । दिनभरि यसै गर्नुपर्छ । दिनभरि नदुखे पनि सुत्नेबेला पाता दुखेर मर्नुहुन्छ नि ।’

मेरो जीवन स्तम्भमा समाजका गन्नेमान्ने, चिनिएका अनुहारकाले ठाउँ पाएका छन् । तर, भुँइमान्छेलाई समेट्ने प्रयास कमै भएको थियो । रातोपाटीले भुँइमान्छेको जीवनशैली बुझ्ने प्रयासलाई निरन्तरता दिने नै छ । यसपटकको मेरो जीवनका लागि सहकर्मी सुवास श्रेष्ठ र पंक्तिकार भुँइमान्छेको खोजीमा लाग्यो । खोज्नेक्रममा त्रिपुरेश्वर, टेकु, सोल्टिमोड, कालीमाटी, ताहाचल हुँदै विष्णुमतिपुल तरेर गणेशथानपट्टि लागे । नभन्दै गणेशथानमार्गको भित्रीसडकमा मकै पोलिरहेकी चमेली विशङ्खे भेट्टिइन् । सडकमा मकै पोलेर बेच्ने चमेली विशेङ्खेसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना

मलाई दालभात, तरकारी भए पुग्छ । यो मीठो, त्यो नमीठो भनेर कहिल्यै भनेको छैन । आफ्नै कोठाभन्दा बाहिर खाएकी छैन । अल्छी लागे पनि आफैंले पकाउनुपर्ने बाध्यता छ । बिहान भए बेलुकासम्म पुग्ने र बेलुका भए बिहानसम्म पुग्नेगरी दालभात पकाउँछु ।

मेरो पोसाक

धेरैजसो कुर्तासुरुवाल लगाउँछु । सारीचाहिँ शुभकार्यमा जाँदा लगाउँछु । सबै रङका कपडा मन पर्छ । लगाउन पाए हुन्छ । छान्नैपरे रातो रङको कपडा रोजाइमा पर्छ । धेरैजसो कपडा ‘रेडिमेड’ नै किन्छु । कुर्तासुरुवालचाहिँ कपडा किनेर सिलाउँछु । कुर्तासुरुवाल सिलाएको ३ सय ५० लिन्छन् । वर्षमा एकजोर कपडा सिलाउँछु । वार्षिक १ हजार ७ सय रुपैयाँ कपडामा खर्च गर्छु ।

मेरो व्यापार

बिहान चार बजे उठ्छु । चिया खाएर हरियो मकै लिन कालीमाटी पुग्छु । दैनिक १ सय मकै ल्याउँछु । कहिले सबै बिक्री हुन्छ । कहिलेकाहीं रहन्छ । रह्यो भने भोलिपल्ट तताएर बेच्छु । सयवटा मकैको १ हजार २ सय पर्छ । पोलेर बेच्दा प्रतिगोटा २० देखि २५ रुपैयाँ लिन्छु । सयवटै बिक्री भयो भने ७ सय रुपैयाँसम्म फाइदा हुन्छ ।

मेरो अध्ययन

मैले पढेको छैन । नामसम्म लेख्न सक्छु । त्यो पनि छोरोले सिकाएका हुन् । फाइनान्समा पैसा राख्दा सजिलो हुन्छ भनेर सिकेकी हुँ । आफ्नो नाम लेख्न दुई दिनमै सिकें ।

मेरो घुमफिर

घुमफिर गरेकी छैन । काठमाडौंदेखि सिन्धुली र सिन्धुलीदेखि काठमाडौंबाहेक कतै गएकी छैन । घर पुरानो झाँगाझोली रातमाटा हो । ललितपुर र भक्तपुरसम्म गएकी छैन । काठमाडौंको स्युचाटार र मच्छेगाउँसम्म तरकारी लिन पुगेकी छु । त्यत्ति हो ।

मेरो फुर्सद

बिहान चार बजेदेखि बेलुका आठ बजेसम्म सडकमै बसेर मकै पोल्दै बेच्ने गर्छु । यत्तिका समय मिहिनेत गर्दा थकाइ लाग्ने नै भयो । थकाइ लागे पनि आराम गर्न पाइँदैन । आराम गरे कसले कमाएर खान दिन्छ नि ? कोठाभाडा तिर्नुपर्यो । मासिक ७ हजार त कोठाभाडामात्रै बुझाउनुपर्छ । खानुपर्यो । छोरा पढाउनु छँदै छ ।

मेरो खेलकुद

केटाकेटीमा गट्टा खेलेकी थिएँ । डन्डिबियो खेलेको पनि बिर्सेकी छैन । त्यसबाहेक अरू केही खेलिनँ ।

मेरो मोबाइल

सामसुङको मोबाइल सेट प्रयोग गर्दै आएकी छु । वर्ष दिनअघि ९ हजार ५ सयमा किनेकी हुँ । पहिले सामान्यखालको चलाउँथें । मोबाइल चलाउन सक्छु । जसलाई गर्नुपर्ने हो उसको नाम खोजेर फोन गर्न सक्छु । मोबाइलमा नेपालीबाट नाम राखेको छ भनेचाहिँ खोज्न सक्दिनँ । अंग्रेजीबाट नाम राखेको हो भने खोज्न सक्छु ।

म फेसबुक पनि चलाउँछु । आफ्नो नाममा फेसबुक नभए पनि छोराको चलाउँछु ।

मेरो टीभी

कोठामा कोनिका टीभी छ । आठ वर्षअघि किनेको टीभीको ६ हजार ५ सय परेको थियो । केही समयअघिसम्म टीभी हेरेकी थिएँ । अहिले त लाइन काटिदियो नि । ‘सेटर बक्स’ राख्नुपर्ने अरे । नराखेकाले लाइन काटिदियो । त्यसपछि टीभी हेर्न पाएको छैन । ‘सेटर बक्स’ जोड्न हजार रुपैयाँ लाग्छ अरे । अहिलेसम्म जोड्न सकेकी छैन । पैसा कमाएर जोड्ने भन्दै छु । मभन्दा छोराले टीभी बढी हेर्छन् । उसकै कोठमा टीभी छ । मैले कहिलेकाहीं हिन्दी सिरियल हेर्थें ।

मेरो चलचित्र

ठूलो छोरो पेटमा हुँदा विश्वज्योति हलसम्म पुगेर चलचित्र ‘नेपाली बाबु’ हेरेकी थिएँ । यो संवत् २०४९ को कुरा हो । दुई वर्षअघि पनि टीभीमा चलचित्र हेरेकी थिएँ । भुवन केसी, सुस्मिता केसी र उनको छोराचाहिँ प्रस्टै चिन्छु । अरू त चिन्दिनँ ।

मेरो स्वास्थ्य

भगवान्को कानमा नपरोस् आजको दिनसम्म सन्चै छु । कहिलेकाहीं तल्लो पेट दुख्छ । बिरामी नभई अस्पताल गएर चेक–जाँच गराएकी छैन । (कुराकानी चलिरहँदा पटक–पटक मकै किन्ने ग्राहक आए । स्वास्थ्यको कुरा भइरहँदा पनि मकै किन्ने ग्राहक आए । स्कुटरमा आएका ग्राहकले पाँच मकै किनिन् । चमेलीले ५० रुपैयाँको पाँच मकै खोसेलेर दिइन् । ग्राहकले ५० को ६ वटा मकै मागिन् । उनले मलाई पोस आउँदैन भनिन् । पछि के सम्झिन् कुन्नि ५० मा ६ वटा मकै दिइन् । ग्राहक बाटो लागिन् । चमेलीले भनिन्, ‘ओहो तपाईंले रेकर्ड पो गरिरहनुभएको ?’ पंक्तिकारले कुराकानी गरेर अनलाइन पत्रिकामा छाप्न भने । किन छाप्नुपर्यो नि भनेर फेरि सोधिन् । तपाईंजस्तो गरिखानेको सुख–दुःख पढाउन नि भने पंक्तिकारले । उनी ग्राहकलाई काँचो मकै दिन व्यस्त रहिन् । फोटो पत्रकार सुवास श्रेष्ठ फोटो खिच्न व्यस्त देखिन्थे ।)

मेरो मापसे

बियर खान्छु । उनले हाँस्दै भनिन्, ‘योचाहिँ नलेखिदा हुन्न ।’ पंक्तिकारले सहमति जनाएपछि उनी बोल्न थालिन् । मैले नेपाल आइस भन्ने बियर खान्छु । दिनदिन बियर खाने पैसा कहाँबाट ल्याउनु ? १५ दिनमा एकपटक बियर खान्छु । चुरोट पनि खान्छु । पाइलट चुरोट खान्छु ।

मेरो संगीत

म लोकदोहोरी सुन्छु । राधिका हमालको आवाज असाध्यै मन पर्छ । गायकको नाम नै थाहा छैन । गीत सुन्न मन पराए पनि गुनगुनाउनचाहिँ आउँदैन । केटाकेटीमा घाँस काट्न जाँदा, गोठाला, खेताला गर्दा जानी नजानी धेरै गाएकी थिएँ । शुभकार्यमा पनि गाएँ ।

मेरो भूल

मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो स्वाभाविकै हो । पश्चाताप लाग्नेगरी गल्ती नगरे पनि केटाकेटीमा अन्डा चोरेर खाँदा आमाको हातको कुटाइ खाएकी थिएँ । ओथारो बसेको कुखुराको दुई अन्डा चोरेर जंगलमा पोलेर खाँदा आमाले चाल पाएपछि लौराले कुट्नुभयो ।

मेरो घर

मेरो घर छैन । खरले छाएको एकतले घर गोरखा भूकम्पले भत्काइदियो । घर बनाउने सोचेकी छैन । मकै पोलेर घर बनाउन के सकिएला र ? काठमाडौंमा भाडामा बसेकी छु । सुरुमा कोठाभाडा पाँच हजार थियो । अहिले सात हजार पुगेको छ ।

मेरो राशी

मेरो राशी तुला हो । ग्रहदशा हेराएकी छैन । ग्रहशान्ति गराउने फुर्सद नै कहाँ छ र ? देब्रहातको कान्छीऔंलामा नेपाली सिक्काको औंठी बनाएर लगाएकी हुँ भने अर्को औंलाको चाँदीको औंठी हो ।

मेरो सौन्दर्यचेत

हुँदा कपालमा तोरीको तेल लगाउँछु । नहुँदा लगाउँदिनँ । अनुहारमा लोसन लगाउँछु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु ।

मेरो प्रेम

मैले मागीबिहे गरेकी हुँ । १४ वर्षमा बिहे भएको थियो ।

मेरो सपना

दुई छाक खान पाए हुन्छ । त्योभन्दा बढी सोचेकी छैन । पाखुरा बजारेर खानुपर्ने हो । हामीजस्तालाई कसले हेर्लान् ?

मेरो मृत्यु

मानिस जन्मेपछि मर्नुपर्छ । यो ध्रुवसत्य हो । मृत्यु टारेर टार्न सकिँदैन । मृत्युसँग डर लाग्दैन । अरूलाई दुःख नदिई मर्न पाए कति जाती हुन्थ्यो । काम गर्दागर्दै मर्न पाए झन् राम्रो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal