भन्सार छली ल्याएको ७ लाख बराबरको कपडा बरामद

भन्सार छली ल्याएको ७ लाख बराबरको कपडा बरामद

महानगरी प्रहरी प्रभाग नागढुंगाले भन्सार छली ल्याएको कपडा बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुंगास्थित चेक जाँचको क्रममा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २०११ नम्बरको बसबाट भन्सार छली ल्याएको कपडा वरामद गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वेवारिसे अवस्थामा उक्त कपडा भन्सार छली ल्याएको हुन सक्ने देखिएकोले कपडा बरामद गरिएको बताए।

प्रहरी प्रमुख थापाका अनुसार कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, कुर्ता १५ थान, कुर्ता र सल १० सेट टप्स कुर्ता ५६० थान गरी रु ७ लाख २९ हजार बराबरको कपडा रहेको जानकारी दिए।

प्रहरीका अनुसार उक्त सामानको धनी भने सम्पर्कमा आएका छैनन्। महानगरीय प्रहरी वृत्त थानकोटले बरामद गरेको सामग्री अनुसन्धान पश्चात् आन्तरिक राजस्व कार्यालय पठाउने तयारी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal