इँटा उद्योगमा काम गर्ने दुई सय ५० कामदार र बालबालिका स्वास्थ्य शिविरबाट लाभान्वित

इँटा उद्योगमा काम गर्ने दुई सय ५० कामदार र बालबालिका स्वास्थ्य शिविरबाट लाभान्वित

काठमाण्डौ / ‘अघिल्लो महिनादेखि नै अलिअलि कमजोर हुने, काँप्ने जस्तो भइरा’थ्यो, बल्ल अहिले थाहा भयो, जिउमा सुगरको कमी भा’रैछ,’ रोल्पाका झोकबहादुर परियारले आफूलाई सुगरको कमी भएको कुरा स्वास्थ्य शिविरमा भएको परीक्षणबाट पत्ता लागेको बताउनुभयो ।

‘औषधि पाएँ, अहिले अलि ठिक हुँदै गा’छ,’ सामान्य उपचारपछि औषधि पनि पाएको उहाँले बताउनुभयो । आदिनारायण इँटा उद्योग थानकोटमा काम गर्ने उहाँ लगायत दुई सय ५० जना कामदार तथा बालबालिकाहरुले वैशाख १७ गते सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेर औषधि पनि पाएका छन् ।

शिविरमा परीक्षण गर्न आउने सबै व्यक्तिको तौल मापन, रक्तचाप मापन, सुगर परीक्षण, सामान्य परामर्श सेवा तथा साधारण स्वास्थ्य चेकजाँच गरी औषधि वितरण गरिएको बाल विकास समाजका कार्यक्रम व्यवस्थापक प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल सरकार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले ‘१९ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह-२०७६’ अन्तर्गत ‘कामको भविष्य र सुरक्षा तथा स्वास्थ्य’ भन्ने नाराका साथ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य केन्द्र प्रमुख वरुणकुमार झाले शिविरको अनुगमन गर्नुभएको थियो । शिविरमा आएका सेवाग्राहीहरुलाई मेडिसिटी हस्पिटलका चिकित्सकले परीक्षण गरेका थिए । 

बाल विकास समाजले इँटा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना अन्तर्गत उद्योग व्यवसायी, स्थानीय निकाय एवं चन्द्रागिरी नगरपालिका र राष्ट्रिय स्तरका सम्बन्धित निकायसँग समन्वय गरी अधिकारमूखी तथा सेवामूखी कार्यहरु सञ्चालन गरिरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal