विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रुवाहक बस जलाए, नवलपरासीमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार

विप्लवका कार्यकर्ताले सुर्खेतमा यात्रुवाहक बस जलाए, नवलपरासीमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् भने नवलपरासीमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् ।
गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले सोमबार बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।


त्यस्तै नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो । पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ । ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते हुनुभएको छ । उहाँको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्कनु अघि नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal