हिरासतमा बस्नु पर्ने गृहमन्त्रीका भाइ क्याबिनमा मस्त

हिरासतमा बस्नु पर्ने गृहमन्त्रीका भाइ क्याबिनमा मस्त

काठमाडौं, भदौ ३१ : पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन्। उनले त्यहाँ एउटा क्याबिन रुम लिएका छन्। मंगलबार सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैं गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए। त्यसपछि यता अस्पताललाई नै उनले ‘हिरासत’ बनाउँदै आइरहेका छन्। ब्युरो प्रमुख डिआइजी निरजकुमार शाहीले पनि थापा अस्पतालमा भएको पुष्टि गरे।

‘बिरामी भएपछि उहाँ मात्र होइन, अरू पनि अस्पताल भर्ना हुन्छन्। बिरामी हुने कुरा प्रहरीको वशमा नरहने भएकाले चिकित्सकले जे भन्छन्, त्यही नै गर्ने हो। अस्पतालमा हाम्रा सुरक्षाकर्मी भने हुन्छन्,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो। बिरामी भएपछि जाँच गराउन लानुपर्छ। चिकित्सकले अस्पतालमै राखेर उपचार गर्नुपर्छ भन्यो भने हामीले सुरक्षा दिनेबाहेक अर्को उपाय हुन्न।’ अदालतको आदेशमै उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ।

प्रहरीले उनलाई अस्पतालबाटै बयानका लागि बिहीबारदेखि काठमाडौ जिल्ला अदालतमा लैजाने गरेको छ। बिहीबार उनी मुखमा ‘मेडिकल मास्क’ लगाएर अदालत गएका थिए। बिहीबार उनलाई ३ बजेसम्म इजलास नं. ४ मा उपस्थित गराइएको थियो। आइतबार पनि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार १२ बजे मात्रै उनको बयान भएको थियो। उनले करिब एक घण्टा इजलासमा सरकारी वकिलले उठाएको प्रश्नको जवाफ दिएका थिए। उनीलगायत आपराधिक लाभ तथा संगठित अपराधमा पक्राउ परेका अन्य सातजनाकै बयान सकिएपछि सोमबारबाटै थुनछेक बहस सुरु भएको छ। थुनछेकको बहस मंगलबार पनि जारी रहने अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal