पारस खड्काद्वारा कप्तानबाट राजिनामा

२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो ।

दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् ।

सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा-अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए। सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । (अपडेट खबर बाट)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal