पनौतीको नगरसभा सम्पन्न, काँग्रेसको बहिस्कार

पनौतीको नगरसभा सम्पन्न, काँग्रेसको बहिस्कार

पनौती नगरको छैठौं नगर सभा सम्पन्न भएको छ । सभामा पनौती नगरपालिकाकी उप–प्रमुख गिता बञ्जाराले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा उप–प्रमुखले प्रस्तुत गरेको अर्धवार्षिक प्रतिवेदनमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु भएको, विशेष सामाजिक सुरक्षा भक्ताको रकम वृद्धि भएको, सामुदायिक तथा संस्थागत विद्यालय र उच्च मावि कक्षा थप अनुमतीका लागि स्थलगत अनुगमन गरी अनुमती प्रदान गरीएको, कृषकहरुलाई पाडा पाडी वितरण लगायतका कार्य भएको उल्लेख छ । यस्तै न्यायिक समितिमा आएका २४ वटा विवाद मध्ये ६ वटा फछ्योट भएको ३ वटा वडा तहमा मेलमिलाप गर्न पठाइएको नगरपािलकाले जनाएको छ । नगरपालिकाका १४८ योजनामा २९ वटा योजनाको सम्झौता सम्पन्न भएको छ भने ११९ योजना सम्झौता हुन बाँकी छ । २ वटा योजना सम्पन्न भएको छ । सभामा नगरप्रमुख भिम न्यौपानेले नगरपालिकाले दिर्घकालिन विकासलाई जोड दिएको बताउँदै जनताको तहबाट आएका जायज माग पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै न्यायिक समिति सदस्य मधुकृष्ण श्रेष्ठले मेलमिलाप कर्ताको थप नाम सुचिकृत सम्बन्धि प्रस्ताव पेश गरेका थिए ।


वडा नम्वर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले टिपरका कारण बाटो विग्रेको तथा राती सुत्न समेत नपाएको गुनासो गर्नुभएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष केशव बञ्जाराले वडामा पर्याप्त कर्मचारी नहुँदा काम गर्न अप्ठेरो परेको बताउनुभयो । वडा नम्वर १२ का वडा अध्यक्ष इश्वरराज जंगमले भौतिक र सामाजिक विकासलाई नगरपालिकाले सँगसँगै लानुपर्ने बताउनुभयो ।

काँग्रेसद्धारा सभा वहिस्कार
पनौती नगरको छैठौं सभा नेपाली काँगे्रसबाट निर्वाचित ६ जना वडा अध्यक्ष सहित २३ जना सदस्यले सभा बहिष्कार गरेका छन् ।
वडा नं ६, ७, ८, ९, १० र ११ का वडा अध्यक्षहरु साथै अन्य १७ जना नगरसभा सदस्यहरुले ‘फाहोरमैला, शिक्षा, स्वास्थ्य, कृषि, टिपर आतंक साथै पनौती मकरमेलाको बारेमा आ—आफ्नो धारणा राख्दै नगर सभा बहिस्कार गरेका थिए । नगरका प्रमुख भिम न्यौपानेबाट जवाफ आउने अपेक्षा गरेपनि राम्रो जवाफ नआएपछि नगरसभा बहिष्कार गरेको वडा नं ६ का वडा अध्यक्ष सुधिर सापकोटाले बताउनुभयो । उहाँले बडा न १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नगर प्रमुखलाई सोधेको जवाफ दिन अगाडि सरेपछि एउटा नगरमा दुई वटा नगर प्रमुख हुन नसक्ने भन्दै नगरसभा बहिष्कार गरेको जानकारी दिनुभयो । त्यसैगरी वडा नं ९ का वडा अध्यक्ष सहकुल हुमागाईले बहुमतको आडमा काँग्रेसले जितेका वडाहरुबाट नगरवासिको सुझाव नगरसभामा राख्दा कुनै सुनुवाई नहुने साथै आफ्नो धारणा समेत राख्न नदिएकोले नगरसभा वहिस्कार गर्नुपरेको उहाँको भनाई छ ।
नगरसभामा नगरप्रमुख भीम न्यौपानेले नगरसभाको अन्तिम समयमा नगरका समग्र बिषयमा आफुले जवाफ दिने कार्यक्रम बाँकी हुँदै बहिस्कार गर्नुभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal