बेथाञ्चोकमा व्यवसायिक किवि खेती

बेथाञ्चोकमा व्यवसायिक किवि खेती

बेथानचोक / थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि काभ्रेको बेथानचोक गाउँपालिकाका किसान किवि खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भगवान घिमिरेको अगुवाइमा त्यस भेगमा किवि खेतीको विस्तार अभियान थालिएको छ ।


वडा अध्यक्ष घिमिरेले भने, “हाम्रो वडामा किवि खेतीका लागि प्रचुर सम्भावना छ, त्यसैले हामीले यसका लागि अभियान थालेका छौं । “एक हजार ४ सय मिटरभन्दा माथिको उचाइमा किविको उत्पादन लिन सकिन्छ । कम लगानी मै पर्याप्त फल पाइने र राम्रो मुल्य मिल्ने किबी खेती बेथाञ्चोक गाउँपालिकाभरी नै गर्न सकिन्छ ।”उनले भने ।


वडाबासीको कृषिको आयमा बढोत्तरी एवं आर्थिक स्रोतलाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । वडाले विरुवा खरिद गरेर किसानलाई वितरण गर्ने बताउँदै यसका लागि कृषकलाई तालिम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ । यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको काभ्रे सुपरजोन (आलु) कार्यालयले कृषकहरुलाई प्राविधिक सहयोग गरिरहेको छ ।


यसका लागि वडाले शुक्रवार मात्र २० जना कृषकलाई कृषिमा आधुनिकीकरण क्षमता विकास अन्तर्गत किवि खेती अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि यस वर्ष वडाले २ लाख २५ हजार बजेट छुट्याएको छ ।


सरकारी रेटमा प्रति विरुवा १ सय मूल्य पर्ने भए पनि प्राइभेट फर्ममा भने २ सयदेखि ३ सयसम्म रुपैयाँ पर्छ । किविको विरुवाको लागत भने वडाले व्यहोर्ने र पहिलो चरणमा ३ सय वटा बिरुवा वितरण गरिने वडा अध्यक्ष घिमिरेले जानकारी दिए ।


“वडाका बाँझो जमीनको सदुपयोग गर्न किवि खेती विस्तार गर्न लागिएको र स्थानीय तहमै रोजगारी पनि सिर्जना हुनाले वडाबासी उत्सुक हुनुहुन्छ ।” वडा अध्यक्ष घिमिरेले भने । किसानले किविको फल र विरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो ४०० देखि ६०० सम्ममा बिक्री हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal