टेकोको भरमा विजुलीको पोल

टेकोको भरमा विजुलीको पोल


कपिल कोईराला/काभ्रे

देश लोडसेडिङ मुक्त भएपनि काभ्रेका विभिन्न स्थानमा बर्षौ अघि गाडिएका विजुलीका पोल जिर्ण हुँदा स्थानीयमा त्रासदी सँगै जोखिम मोलेर विजुली बाल्न बाध्य छन् ।


बेथानचोक गाउँपालिका र नमोबुद्ध नगरपालिकाका वडाहरुमा १० वर्ष भन्दा अघि देखि विद्युतिकरण भएका सबै जसो शाखा लाइनमा काठको पोल प्रयोग गरिएको छ । ति शाखा लाईनको पोल कुहिएर कहिँ टेको तथा कहि बाँस तथा अन्य काठका टेको लगाएर विजुली बाल्न बाध्य छन् ।

बेथाञ्चोक १ अलकापुरीबासीका बिद्युतिकरणका लागि स्थानीयले ढुर्खक देखि करिब १५ किलोमिटरको बाटो मेन लाइनका फलामे पोलहरु जनश्रमदान स्वरुप काँधमै बोकेर भएपनि परिवर्तन गरेका थिए । तर शाखा लाईनहरुमा स्थानीय काठ नै प्रयोग गरेर पोल हालिएको थियो । प्राधिकरणले उपलब्ध गराइएको काठको पोल ४ देखि ५ वर्ष सम्म टिके पनि स्थानीय पोल भने २ वर्षमै ढल्ने गरेकोे उनीहरुको भनाई छ । पानीले कुहिने तथा धमिराले नष्ट गरेका कारण साधारण हावाहुरीले नै पोल ढाल्ने गरेको स्थानीयको भनाई छ । ‘प्रधिकरणले दिएको पोल ढले पछि गाउँले मिलेरै स्थानीय काठको पोल हालियो, त्यो पनि कुहिसकेको छ । पोल घर नजिकै गाडिएको छ असुरक्षा त त्यतिकै छँदै छ, हाम्रो त काम नै पोल काटने र गाडने मात्र हुने भयो ।’– स्थानीय हिरामणि सापकोटाले बताए । उनका अनुसार घरको छानामाथि नाङ्गो तार भएको तथा पोल कुहिएको कारण हावा चले सँगै कतिखेर नाङ्गो तार छानामा बज्रनेहो भन्ने चिन्तै चिन्ता मात्र बोकिरहनुपर्ने उनले दुखेसो थियो ।


विद्युतिकरणका बेला टाढा देखि ढुवानी गर्नुपर्ने समस्याको विकल्पका रुपमा स्थानीय काठको पोल प्रयोग गरिएको उक्त क्षेत्रका विद्युत उपभोक्ता समितिका अध्यक्ष गोपाल कृष्ण सापकोटाले बताए । ‘हरेक साल मर्मतका लागि भनेर प्राधिकरणले पोल उपलब्ध गराउँछ । तर त्यो सिमित संख्यामा मात्र उपलब्ध हुन्छ । पानीले कुहिने तथा धमिराले नष्ट गर्ने भएका कारण जिर्ण बनेका पोल प्रशस्तै छन तर सिमित संख्यामा मर्मतका लागि पोल उपलब्ध हुन्छ यसले गर्दा स्थानीयले थप असुरक्षा महशुस गरेका छन् ।’– उनले थपे धेरै जसो लोकल काठको प्रयोग भएको अलकापुरी, सुकुम, फेदी लगायतका क्षेत्रका पोल जिर्ण बनेका र त्यस क्षेत्रका लागि ७० ओटा फलाको पोल आवश्यक पर्ने उनको भनाई थियो । स्थानीयको घर नजिक तथा खेत र बारीमा समेत गाडिएका पोल साधरण हावाले पनि भाँचिने भए पछि खेत बारीमा काम गर्न पनि जोखिम भएको स्थानीय रमेस तिमल्सिनाले बताए । ‘विद्युत सेवाको उपयोग गर्न त पाइएको छ तर अत्यन्तै जोखिम छ । बारीमा पर्ने कति पोलहरु त टेका लगाएर राखिएको छ ।’ – तिमल्सिनाले भने । आफैले पोल फेर्दै आएका उनिहरुले हाल यातायातको सुविधा पुगेको हुनाले प्राधिकरणले फलामका पोल उपलब्ध गराई सुरक्षित रुपमा विद्युतको उपभोग गराउनु पर्ने स्थानीयको माग छ ।


बेथानचोक मात्र हैन काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ५ मा पनि उहि व्यथा छ । मुख्य लाइन फलामको पोल प्रयोग भएपनि शाखा लाईनमा काठको पोल राखिएकोमा प्राय सबै कुहिएर गएको छ । कुहिएको ठाउँमा स्थानीयलेनै पयुँ, बाँस लगायतका पोल फेरेका छन भने कतिपय पोलमा टेको लगाएर जोखिमपूर्ण रुपमा बत्ति बालिरेका छन् । नमोबुद्ध ५ का स्थानीय बाबुराम कोईरालाले धेरै पटक प्राधिकरणमा पोलका बारेमा कुरा गर्न गएपनि हुन्छ भने पनि नगरेको गुनासो गरे । ‘हामीले धेरै पटक प्राधिकरण गयौं तर अहिलेसम्म फेरिदिएको छैन् । जोखिम छ, कुन दिन करेन्ट लागेको दुःखद कुरा सुन्नुपर्ने हो ।’–उनको भनाई छ । नमोबुद्ध ५ माझगाउँको बस्तीमा घरको आँगनमै पोल गाडिएको त्यसमा पनि कुहिएको कारण त्रासमा बस्नुपरेको गुनासो स्थानीय केशव कोईरालाले गुनासो गरे । बस्तीकै विचमा पोल छ, कुहिसक्यो फेर्ने चाँजोपाँजो छैन् । बत्तिको सुविधा त भयो तर टेकोको भरमा राखेको पोल कतिञ्जेल टिक्ला ।–उनले दुःख पोखे ।


पोल कुहिएको र फेर्न स्थानीयले पटक पटक भन्दा पनि नफेरिएकोमा स्थानीय आक्रोशित भएका छन् । केहि समय अघि बेथानचोक गाउँपालिका ३ मा पोल लडेर धराप बनेको तारमा करेन्ट लागेर एक जानाले ज्यान गुमाए । धराप बनेका पोल परिवर्तन गर्नकै लागि पटक पटक आवाज उठाउँदै आएका बेथानचोक ३ च्याल्टी डाँडाका ३८ वर्षिय चेतनाथ पौडेल विद्युतकै कारण ज्यान गुमाउन पुगे । २ दशक अगाडि गाडिएका पुराना जिर्ण सिसौका पोलका अलावा स्थानीय काठका पोल स्थानीयका लागि धराप नै बनेका छन् । प्राधिकरणबाट सिमितमात्रमा उपलब्ध गराइने फलामेपोलले उक्त समस्या समाधान हुन अझै दशकौ लाग्ने स्थानीय बताउँछन । बेथानचोक वडा नं ५ का वडा अध्यक्ष खजाञ्जी लामाका अनुसार गाउँपालिका भित्र ४ सय भन्दा बढि जिर्ण पोल रहेका छन । पोल परिवर्तनका लागि पटक पटक प्राधिकरणमा जानकारी गराइएको तर प्राधिकरणकै वेवास्ताको कारण घटना घटेको उनको भनाई छ ।


पाँचखालमा काठको पोल विस्थापीत गरिने
नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्र र पाँचखाल नगरपालिका विचमा काठका जिर्ण पोलहरु हटाई लाईन सुधार गर्न लिखित सम्झौता भएको छ ।


सम्झौतामा बिद्युत वितरण लाईन नपुगेर बिद्युत सुविधाबाट बन्चित रहेका घर तथा बस्तिहरुमा वितरण लाईन विस्तार गरी पूर्ण बिद्युतिकरण भएको नगरपालिका बनाउन र जिर्ण अबस्थाका पोल तथा बिद्युतिय संरचनाहरुलाई सुधार गर्न पाँचखाल वितरण केन्द्रले योजना बनाई कार्यान्वयन गर्नेछ । सहमति पत्रमा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र पाँचखाल वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख ई. मेघनाथ ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बिद्युतिकरण गर्नको लागि काठका कमसल पोलहरु प्रयोग गरि लाईन पु¥याईएको स्थानमा पोलहरु जिर्ण बन्दै गएकोले सुरक्षित तथा गुणस्तरिय बिद्युत सेवा उपलब्ध गराउनु चुनौतिपूर्ण देखिन्छ । पाँचखाल वितरण केन्द्र अन्तर्गत करिव आठ हजार पोल जिर्ण अबस्थामा छन् । मेन लाईनमा रहेका काठका पोल विस्थापन कार्य सकिएको र शाखा लाईनमा रहेका जिर्ण पोल फेर्ने क्रम तिव्र बनाईएको वितरण केन्द्र प्रमुख ढकालले जानकारी दिए । पाँचखाल वितरण केन्द्रले २०७६ कार्तिक १ देखि पूर्णरुपमा बिद्युत वितरण संग सम्बन्धित सबै कार्यहरु गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal