अमेरिकन सपनाका शिकारहरु!

अमेरिकन सपनाका शिकारहरु!

होन्मा माजाकाजु जापानीज मुलका अमेरिकन हुँन। अमेरिकन ड्रिम बोकेर २२ बर्षको कलिलो उमेरमा अमेरिका छिरेका उनी अहिले ७२ बर्षका भए।

माजाकाजु अहिले सिकिस्त बिरामी छन्।
पेटको क्यान्सर भएका कारण अपरेसन,कीमो र रेडियसनले जिउ सुकेर सिन्को जस्तै भएको छ। ९२ बर्षकी आमालाई अल्ज़ाइमर छ र ७० बर्षकी श्रीमतीलाई पार्किन्सन छ। आमा र श्रीमती आफै केही गर्न सक्दैनन।दुबैलाई काखे बच्चालाई जत्तीकै स्याहार्नु पर्छ। माजाकाजु घिस्रिएर खाना पकाउछन, पाँच मिनटको बाटोमा आधा घण्टा लगाएर किनमेल गर्न पुग्छन।एउटा प्लास्टिक भरीको किनमेल पनि उचाल्न सक्दैनन्। उनी आफैलाई स्याहार गर्नु पर्ने बेलामा श्रीमती र आमालाई स्याहार गर्नु परेको उनलाई।
हुनत माजाकाजुका ४० कटेका एक छोरी र दुई छोरा छन्। उनिहरु अर्कै राज्यमा बस्छन। छोराछोरीहरु पनि अमेरिकन ड्रिमको मध्यान्नमा छन। उनिहरुलाई पनि अमेरिकन ड्रिमको धुरी चढ्नु छ।
क्रिसमस र थ्यांक्स गिभिकका अबशरमा भेट्न आउछन बा,आमा र हजुर आमालाई।
फोनमा “आई लभ यु”भनि रहन्छन। कहिले काँही त महिनामा दुई पटक पनि फोन गरेर आई लभ यु भन्छन्।
५० बर्षको अमेरिकाको बसाईंमा माजाकाजुले छोराछोरीलाई अमेरिकन सपनाको मुलबाटोमा पुर्याउन सिबाय अरु केही गर्न सकेनन्। अशक्त श्रीमती र आमालाई सुबिधा संपन्न स्याहार केन्द्रमा राख्ने आर्थिक हैसियत छैन उनको। आज उनको पेटको चौथो अपरेसन हुँदैछ ।

अहिले आएर माजाकाजुको “अमेरिकन ड्रीम” फेरिएको छ।
अहिलेको उनको सपना भनेको आमा र श्रीमती भन्दा अगाडी नअस्ताउनु हो। सपनाको साँचो माजाकाजु संग छैन , भगवान संग छ।
माजाकाजुको जस्तै सपना बोकेर ,ठेलम् ठेल् गर्दै, असिनपसिन् भएर दौडी रहेका तपाई , म र हामीलाई शुभकामना छ।

हरिहर दाहाल, अमेरिका

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal