चितुवाको आक्रमणबाट आठ जना घाइते, आक्रमण गर्ने चितुवालाई स्थानीयले ‘मारे’

चितुवाको आक्रमणबाट आठ जना घाइते, आक्रमण गर्ने चितुवालाई स्थानीयले ‘मारे’

पाँचखाल नगरपालिका ६ र धुलिखेल नगरपालिका ८ का स्थानीयलाई चितुवाले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । गएकाे शनिबारदेखि चितुवाले स्थानीयमाथि आक्रमण गर्न सुरु गरेकाे थियाे ।  

घाइते हुनेहरुमा पाँचखाल नगरपालिका ६ की भीमकुमारी सत्याल, वैकुण्ठ कायस्थ, अर्जुन श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायस्थ, सनकबहादुर विकका छोरा कुमार विक घाइते भएको प्रहरी चौकी काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक (असई) राजकुमार पटेलले जानकारी दिनुभयो ।

त्यस्तै धुलिखेल नगरपालिका ८ का नारायण बडाल घाइते हुनु भएकाे छ । जथाभाबी स्थानीयलाई आक्रमण गरेपछि स्थानीयले चितुवालाई घरेलु हतियार प्रयोग गरेर मारेका छन् । चितुवाले सोमबारमात्र ६ जनालाई आक्रमण गरेको पाँचखाल नगरपालिका ६ की सुमन्त पराजुलीले जानकारी दिनुभयो । 

सोमबार पाँचखाल नगरपालिका ६ को गहते फाँटमा चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । समयमा प्रहरी नपुगेपछि थप आक्रमण गर्ने डरले स्थानीयले घरेलु हतियार प्रहार गरी चितुवा मारेकाे जानकारी प्राप्त भएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal