पाँचखाल ४ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

पाँचखाल ४ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

पाँचखाल/ पाँचखाल नगरपालिकाको समन्वयमा वडा नं ४ ले ३२ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । आईतबार नगर परिसरमा नगरप्रमुख महेश खरेल, वडा नं ४ का अध्यक्ष सुन्दर तामाङ, कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतले पाँचखाल नगरपालिका वडा नं ४ का किसानहरुलाई हाते ट्याक्टर वितरण गर्नुभयो । ट्याक्टर पाउने अधिकांश दनुवार समुदायका छन् ।

वितरण कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषिलाई आधुनिक तरिकामा लैजान कृषि उपकरणको रुपमा हाते ट्याक्टर वितरण गरिएको जानकारी दिनुभयो । कृषकको खेतमा गोरु लगाउन गोरु नपाउन थालेपछि कृषिलाई प्रविधि संग जोड्न हाते ट्याक्टर वितरण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार नगरभरी हाते ट्याक्टर वितरण गरिने छ ।
कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का अध्यक्ष सुन्दर तामाङले ४० हजार पर्ने ट्याक्टरलाई ५० प्रतिशत अनुदानमा कृषकलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । ट्याक्टर पाएपछि आफुले मात्र प्रयोग गर्ने भन्दा पनि आम्दानी नभएका, असहायहरुलाई निशुल्क जोत्न अनुरोध पनि गर्नुभयो ।


कार्यक्रममा नगरका कृषि शाखा प्रमुख इश्वर अधिकारीले पाँचखाल ४ मा आश्रीत समुदायमा रहेका दनुवारहरुलाई प्राथमिकतामा राखेर ट्याक्टर वितरण गरिएको जानकारी दिनुभयो । नगरको वडा नं ६, ८, ९ मा यसअघिनै हाते ट्याक्टर वितरण भैसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal