काभ्रेका स्थानीय तहमा कोरोना सचेताना : स्वः घोषित कर्फ्यु, सेवा स्थगित देखि आइससुलेसन कक्ष व्यवस्थापन

काभ्रेका स्थानीय तहमा कोरोना सचेताना : स्वः घोषित कर्फ्यु, सेवा स्थगित देखि आइससुलेसन कक्ष व्यवस्थापन

कपिल कोइराला/काभ्रे

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि काभ्रेमा रहेका स्थानीय तहहरुले विभिन्न कार्यक्रम अघि सारेका छन् । काभ्रेमा रहेका १३ स्थानीय तहहरुले अत्यावश्यकका बाहेक सबै सेवा स्थगित गरेका छन् । उनीहरुले चैत्र १० गते देखि चैत्र २१ गते सम्म सरकारले तोकेका अत्यावश्यकका सेवा वाहेक सबै सेवा स्थगित गरेका हुन । त्यस्तै नगरपालिका तथा गाउँपालिकाहरुले स्वः घोषित कर्फ्यु समेतको घोषणा गरेका हुन ।


काभ्रेको पाँचखाल नगरपालिकाले नगर प्रमुख महेश खरेलको संयोजकत्वमा आज आईतबार बसेको बैठकले २०७६।१२।१० देखि २०७६।१२।२१ गतेसम्म नगर क्षेत्रमा घरभित्रै बसी स्वःघोषित कर्फ्युमा सहयोग गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले अनुरोध गरेपछि पाँचखाल उद्योग बाणिज्य संघको सहयोगमा नगरभित्रका पसलहरु बन्द भएका छन् । पाँचखालको बजार सुनसान भएको छ ।

बैठकले भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न अनुरोध गर्ने निर्णय सकेत गरेको छ । पाँचखाल नगरले सम्भव भएसम्म घरबाट नै काम गरौँ भन्ने अभ्यासलाई जोड दिने, बिदेश वा नगर बाहिरबाट कोही पाँचखाल नगरपालिका भित्र आएको भए अनिवार्य स्वास्थय जाँच गर्नुपर्ने तथा नगरका वडाहरुमा कोही नयाँ ब्यक्ति आएमा व्यक्तिको बारेमा निगरानी राख्ने र वडा, स्वास्थय केन्द्र वा प्रहरीलाई जानकारी दिने, भिडभाडमुलक काम नियन्त्रण गर्ने, पलाञ्चोक भगवती मन्दिर लगायतका धार्मिक स्थलमा नित्य पुजा बाहेक भीडभाड रोक्न अन्य पुजाआजाका कार्यक्रम बन्द गर्ने, कार्यपालिका बैठक र अन्य बैठकहरू भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल वा अन्य बिधिबाट सञ्चालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, वडा समिति र वडा स्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्च सम्बन्धी आवश्यक कागजात पुरा गरी भुक्तानी दिनेगरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न प्रति वडा रु पचास हजार मात्र खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको छ ।

त्यस्तै नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनैपनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नदिने निर्णय गरेको छ । पाँचखाल नगरले काभ्रेका स्थानीय तहहरु मध्ये पहिलो आईसुलेसन कक्ष निर्माण गरेको छ । पाँचखाल ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको आइसुलेसन कक्ष र पाँचखाल ३ मा रहेको समाजकल्याण प्राथमिक विध्यालयमा क्वारेन्टाईन वार्ड बनाउने निर्णय गरेको छ ।
त्यस्तै जिल्लाको रोशी गाउँपालिकाले मंगलटार स्वास्थ्य चौकी वा मंगल जनविजय माध्यमिक विद्यालय र लक्ष्मी नारायण माध्यमिक विद्यालय शिखर आम्बोटेलाई क्वारेन्टाईन स्थल तोकेको छ । रोशी गाउँपालिकाले कोरोना संभावितलाई उद्धारको लागि उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाको संयोजकत्वमा वडा नं ७ का अध्यक्ष पोष्टराज गौतम र कटुञ्जे स्वास्थ्य चौकीका अ.हे.व. लक्ष्मी प्रसाद देवकोटा सदस्य रहने गरी उद्धार टोली समेत गठन गरेको छ । धुलिखेल नगरपालिकाले नगरक्षेत्र भित्र रहेका होटल, पार्टी प्यालेस तथा विद्यालयहरुलाई क्वारेन्टाईन राख्ने निर्णय गरेको छ । पनौती नगरपालिकाले पनौतीको इन्द्रश्वर क्याम्पस, तेजगंगा क्याम्पस, पनौतीमा बन्दै गरेको क्षेत्रीय रंगशाला, शिखर प्लाई उद्योग क्षेत्रलाई क्वारेन्टाईनको लागि तोकेको छ । बनेपा नगरपालिका वडा नं २ ले आकस्मिक बैठक गदविश्व भरि फैलिएको कोरना भाईरस (कोभिड १९) को बारेमा जनचेतनामूलक जानकारी गराउदै साथै सामान्य ज्वरा, रूघा, खोकी औषधी र हात धुने साबुन सहितको मिनि किट टोल टोलमा प्रत्येक घरधुरिलाई बितरण गरिने निर्णय गरेको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिनुभयो ।

नाकामा हेल्थ डेक्स
काभ्रेका ५ वटा पालिकाले आफ्नो नाका प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्कको स्थापना गरेका छन् । रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, चौरी देउराली गाउँपालिकाले आफ्नो नाका छिर्ने ठाउँमा हेल्थ डेक्स राखेका छन् । रोशी गाउँपालिकाले आफ्नो नाका प्रवेश हुने रोशी गाउँपालिकाको कार्यलय कटुञ्जेबेशी, फलामेसाँघु बस स्टप खहरेपाँगु र मंगलटारमा हेल्थ डेस्क स्थापना गरेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जानकारी दिनुभयो । तेमाल गाउँपालिकाले तेमाल प्रवेश गर्ने मुख्यद्वार कालिकाटीमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण शुरु गरेको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले जानकारी दिनुभयो । त्यस्तै भुम्लु गाउँपालिकाले आफ्नो गाउँपालिका छिर्ने मुख्य नाका वडा नं. ८ को दोलालघाट कोसिपारी बसपार्कमा हेल्थ डेस्क स्थापना गरेको छ ।

गाउँपालिमा छिर्न चाहानेले स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गराउने निर्णय भएको गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै काभ्रेको विकट गाउँपालिका महाभारत गाउँपालिकाले पनि आफ्नो गाउँपालिका प्रवेश हुने चार नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बुढाखानी डाँडा, कलवन, बनखुको राङचा तथा गोकुलेको रन्जेडाँडामा हेल्थ डेस्क स्थापना गरी गाउँपालिका प्रवेशगर्नेहरुको स्वास्थ्य जाँच शुरु गरेको जानकारी दिनुभयो ।

माहाभारत गाउँपालिकाले वडा नं ४ मा रहेको महासिद्धि प्राथमिक विद्यालयलाई क्वारेन्टाईनको व्यवस्था गरेको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्धको नाका÷सिमाना साथै नमोबुद्ध परिसरमा नियमित हेल्थ डेस्क स्थापना गरेको छ । नगरपालिकाले कोरोनाबाट बच्न र बचाउन नगर क्षेत्रको मेथिनकोट अस्पताल लगायत सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

एम्बुलेन्स सबै तयारी अवस्थामा
कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले काभ्रेका स्थानीय तहहरुले एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राखेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रवाह गर्ने निर्णय गरेको छ । नगर प्रमुख टोक बहादुर वाईवाले नगर भित्र कोही कसैलाई आबश्यक परे तथा तत्काल अस्पताल लैजान निःशुल्क रुपमा एम्बुलेन्स तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । पाँचखाल नगरपालीका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका, नमोबुद्ध नगरपालिकाले आफ्नो पालिका भित्र रहेका एम्बुलेन्सहरु जतिखेर पनि प्रयोग हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

सेनाले बनायो एक सय बेडको क्वारेन्टाईन
धुलिखेलमा रहेको विष्णु दल गणले कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरेको छ । गणभित्र नै नमुनाका रुपमा सयवटा बेड तयार गरेको गणका गणपति सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपत व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट साथै अन्य सामग्री जुटाएर व्यवस्थापनमा जुटेको बताउनुभयो । आपतकालिन अवस्था आइपरेको खण्डमा एक सय जनाको लागि व्यवस्थापन गर्न सकिने गरी तयारीमा रहेको विष्णु दल गणले जनाएको छ ।

विपद् कोषमा रकम थप
काभ्रेका स्थानीय तहहरुले विपद् कोषमा रकम थपेका छन् । पनौती नगरपालिकाले विपद्कोषमा ३५ लाख रुपैया थपेको छ । रोशी गाउँपालिकाले कोरोना (कोभिड–१९) भाईरस न्युनिकरण गर्न आवश्यक स्वास्थ्य सामग्री खरीद तथा अन्य अत्यावश्यकीय कार्यको लागि विपद व्यवस्थापन कोषमा १० लाख थप गरेको छ । पाँचखाल नगरपालिकाले ७ लाख रुपैया विपद् कोषमा थपेको छ । नमोबुद्ध नगरपालिकाले विपद्कोषमा ३ लाख ३२ हजार रुपैया थप गरेको छ ।

काभ्रेका २१ वेडको आइसुलेसन कक्ष
काभ्रेका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा गरेर २० वेडको आइसुलेसन कक्ष स्थापना भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले धुलिखेल नगरपालिकामा रहेको धुलिखेल अस्पतालमा ६ बेड, बनेपा नगरपालिकामा रहेको शिर मेमोरियल अस्पतालमा ५ वेड, नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा ५ वेड र पाँचखाल नगरपालिकको दुलालथोकमा रहेको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वेडको गरी जम्मा २१ वेडको आइसुलेसन कक्ष स्थापना भएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेका कुनै पनि बिरामीलाई लक्षण देखा परेमा छुट्टै निगरानी कक्षमा राखीसल्लाह सुझाव दिएर अवस्था अनुसार चेकजाँजका लागि पठाउने तयारी भएको तथा घाँटी र ¥याल जाँचका लागि अस्पतालमा उपकरण नभएकोले त्यस्तो लक्षण देखिएका बिरामीहरुलाई परीक्षण गर्न टेकुमा पठाउने गरेको जानकारी दिनुभयो ।


कोरोनाको आशंकामा अस्पताल भर्ना भएका वृद्ध निमोनिया भएको अस्पतालको भनाई

शनिबार धुलिखेल अस्पतालको आईसोलेसनमा राखिएका पनौतीका एक बृद्धलाई निमोनियाको औषधी दिएर घर फकाईएको छ । कोरोना भाईरस (कोभिड १९) को आशंका गरिएका उहाँ डिस्चार्ज हुनु भएको छ । उहाँमा कोरोनाको लक्षण नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला विपद ब्यवस्थापन समितिका फोकल पर्सन डा.नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । आईतवार रामेछाप जिल्लाबाट अत्याधिक ज्वरो र उक्त रोगसँग मिल्ने लक्षण भएका १४ बर्षिय बालक धुलिखेल अस्पताल ल्याईएको थियो । आईसियु नभएका कारण टेकु रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal