मातृभूमि जोगाउन भएपनि कोरोनाबाट जोगिऔँ’

मातृभूमि जोगाउन भएपनि कोरोनाबाट जोगिऔँ’

बद्रिराज तिमल्सिना (सेताेपाटि बाट उदृत)

एक मिलनसार साथी फोटो पत्रकार भरतबन्धु थापालाई मेसेन्जरमार्फत कोरोनाको प्रभाव बारे सोधेँ। जवाफमा युरोपबाट फर्केर सेल्फ क्वारेन्टाइनमा बसेको आज १५ दिन पुगेको बताए। सरकारले दिएको निर्देशनअनुसार १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेको बताउँदै आफूलाई सामान्य रुघाखोकीले समेत नछोएको उनले बताए।

साथीले आत्मविश्वास बढेर अलिअलि लापरबाही गरेको पनि स्वीकारे।  ‘अरुलाई जति अर्तिउपदेश दिए पनि मनमा कताकता डर पनि थियो, कतै मसँग कोरोना पनि नेपाल आएको त छैन? तर रहेनछ भन्नेमा करिबकरिब निश्चित भएँ। यद्यपी सतर्कता आपनाइरहेको छु,’ उनले मेसेन्जरमा लेखेका थिए।

यो संदेश आएपछि म झसंग भएँ। किनकी म पनि यतिबेला सेल्फ क्वारेन्टाइनमा छु। चैत ३ गते भारतको दिल्लीबाट नेपाली ध्वजाबाहक जहाजमार्फत काठमाडौँ अवतरण गरेको हुँ। त्यसयता म होम क्वारेन्टाइनमा छु। सोमबार १४ दिन पूरा भयो। यो अवधिमा कसैले छुन सकेको छैन भन्ने दृढ अत्मविश्वास रहँदारहँदै पनि साथी भरतबन्धुले भनेझैँ कता/कता मनमा डर लागिरहेको थियो। तर आज खुशीका साथ भन्न सक्ने भएँकी म पूर्णतः सुरक्षित छु। संक्रमणरहीत छु।

नेपाल फर्किए लगत्तै पहिलो हप्तादेखि नै मैले संवेदनशीलका साथ सतर्कता अपनाएको थिए, यसबाट मलाई कुनै संक्रमण र त्यसको लक्षण छैन भन्नेमा ढुक्क छु। ममा पनि धेरै अत्मविश्वास बढेकाले थोरै हेल्चेक्राइँ गरेँ पनि। हेलचेक्राइँ गरेँ भनेर महशुस भएको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको देशबासीको नाममा सम्बोधन आयो। अत्यावश्यक काम बाहेक सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरियो। 

त्यसपछि बजारका सबै पसल/सटर, गोदाम/कारखाना, मल/हल, सरकारी/गैरसरकारी कार्यालय, विद्यालय/विमानस्थल एवं सारा उद्योगधन्दा ठप्प भए।  मानौँ प्रधानमन्त्रीको सम्बोधनपछि आम जनता कोरोना त ढोकै अगाडी आइसकेको जसरी अत्तालिए। त्यसको दुई दिनपछि मुलुक ‘लकडाउन’ मा जाने निर्णय भयो। ढिलै भएनि सरकारले मुलुकका लागि राम्रो निर्णय गर्यो।

सञ्चार माध्यममार्फत जनतालाई नडराऊन, नआत्तिन र संयमित हुन् आग्रह गरियो। उच्च सतर्कता आपनाउन पुर्व सावधानीयुक्त संदेशहरु छ्याप्छ्याप्ती आए। बाहिर निस्किन परे मास्क तथा पन्जा लगाएर हिड्ने, साबुन पानीले मिचिमिची हात धुने, सेनिटाईजरको प्रयोग अधिक गर्न सचेतना फैलाईयो।

यसै क्रममा आम नागरिक एकै कुरामा डराएर खाद्यान्न लगायत घरायसी समान जुटाउन तल्लीन भए। त्यस बाहेक जुनरुपमा सरकार, प्रहरीले वा स्थानीय निकायले आग्रह गरेबमोजिम लकडाउनको पूर्ण पालना गरेर घर मै बसेको भने पाइएन। मानिसलाई नडराऊन र निर्धक्क भएर बस्न दिएको सुझावले गलत कार्यमा लाग्न प्रेरित गरेको मैले बुझेको छु। यो डराउनु पर्ने रोग हो, फैली हाले रोक्न गार्हो छ। त्यसैले संक्रमण रोक्न र महामारीको भयावह अवस्था आउन नदिन नागरिकलाई कडाई गरिनु पर्ने आवश्यकता देखिएको छ।

सरकारले डराएर रोकथामको व्यवस्थापन गर्ने र नागरिक डराएर सरकारलाई सहयोग गर्न तत्पर भएनन् भने कोरोनासँग जुध्न सकिदैँन, त्यसैले सबै जना डराउँ भन्न चाहन्छु। म डराउनु त झनै स्वभाविक नै भयो। एक त म भारतबाट आएको दुई हप्ता मात्र भयो। अर्को नेपालमा पनि परिस्थिति प्रतिकुल बनिरहेको थियो।

जतिबेला म भारतका विभिन्न सहर हुदै मार्च १६ मा नेपाल आएँ, त्यसको दुई दिन पहिले भारतमा कोरोनाका कारण तीन जनाले ज्यान गुमाइसकेका थिए। अर्को कुरा म मुम्बई हुँदा नै नेपालमा सरकारले मार्च १४ (चैत १ गते)पछि नेपाल आउनेले अनिवार्य होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइसकेको थियो। मेरो क्वारेन्टाइन अवधि सकिएपनि मेरो डर, मेरो सावधानी र सरकारलाई गर्नुपर्ने साथ, सहयोग र समर्थन सकिएको छैन। तर यो आत्माविश्वास गुमाएको वा डराएको भने हैन, मात्रै सतर्क भएको हुँ।

कोरोना अति चलाख र शक्तिशाली भाइरस हो। यो छिमेकी राष्ट्र चीनको वुहान प्रान्तबाट फैलिएर संसारका सबै शक्तिशाली मुलुकलाई हल्लाउदै अर्को छिमेकी मुलुक भारत हुँदै नेपाल प्रवेश गरिसकेको सर्वविदितै छ। यसको नियन्त्रण, रोकथाम र उपचारका लागि हामी वा हाम्रो सरकारले के गरिरहेको छ त? आम चासो र चिन्ताको विषय बनेको छ यतिबेला।

मित्रराष्ट्रबाट फैलिएको इतिहासकै शक्तिशाली भनिएको भाइरस संसारभर संक्रमण गरेर नेपाल प्रवेश गर्दासम्म हामी कुनैपनि सावधानी र पुर्वतयारी अवस्थामा बसेनौँ। यो नागरिक तहबाट जे जति सोच्नु पर्थ्यो त्यो भन्दा दश गुणा राज्य र राजनीतिक नेतृत्वले सोच्नु पर्थ्यो, सोचेन। संसारका शक्तिशाली देशलाई रिँगटा लाग्नेगरी घुमाइसकेको कोरोना भाइरस नेपालमा आउने कुरामा नागरिक जति डराइरहेका थिए, नेतामा त्यो देखिएन। राज्य संचालकमा त्यसको अनुभूति नै देखिएन सुरुआती दिनमा। विश्वव्यापी महामारीको संक्रमण तेज गतिमा फैलिरहँदा नेतृत्वले हल्का रुपमा मात्र लिएनन् कि टिप्पणी समेत हल्कै गरे। 

यदि थियो भने किन व्यवस्थापनमा चुक्यौं हामी? किन औषधि उपचारका सरसामग्री जुटाउन पहल गरेनौँ? जतिबेला हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका थियौं। चीनमा कोरोना आतंक सुरु भैसक्दा पनि चीन/नेपाल हवाई उडान बन्द भएनन्। महामारीको दुर्दर्शिता थियो भने पर्यटन मन्त्रीले ‘नेपाल कोरोना फ्री जोन’ भएकाले नेपाल भ्रमणका लागि आइदिन आव्हान पक्कै गर्दैनन् थिए। वुहानबाट वायु गतिमा खाडीतर्फ हान्निएको कोभिड-१९ एशिया, युरोप, अमेरिका सकेर भारत हुँदै नेपाल आउदासम्म हामीले आधारभूत सावधानी समेत आपनाएनौँ। न त कुनै मुलुकका उडान रोकिए, न त नेपाल आउनेले सावधानी आपनाए। सरकारको कमजोरी त छदैँ छ, आगन्तुक नेपाली वा गैरनेपालीको चरम लापरबाही  पनि भएकै हो।

यो कमजोरी र लापरबाहीको मूल कारण नेपालमा संक्रमण र लक्षण नदेखिएर पनि होला। कसैले दैवीशक्ति भएको देश हो, नेपाल यहाँ कुनै महामारी हुने छैन भने। हामी संक्रमण फैलिहाले पशुपतिनाथको भरपर्दै  नेता र सरकारले केहि गर्न सक्दैनन् भनी कटाक्ष्य गरिरहेका थियौँ। यो भगवानप्रतिको भरोसाभन्दा पनि आम नागरिकले आशा र भरोसा गरेको हाम्रो राजनीतक नेतृत्व, वर्तमान सरकार र तिनका संयन्त्रले जनताका लागि केही गर्न सक्दैनन् भन्ने गतिलो व्यंग्य थियो भन्ने मलाई लाग्छ। हुनपनि नेता तथा राज्यका संचालकहरुका भनाई र क्रियाकलाप हेर्दा विश्वस्त हुने ठाउँ थिएन।

राजीतिक तहले केहीपनि गर्न सक्दैन भन्नुमा उनीहरुको जनताप्रति भावनात्मक लगाव कम छ। राज्यले अभिभावकीय जिम्मेवारी बहन गरी आफ्ना नागरिकको जिउज्यान र स्वास्थ्य सुरक्षाप्रति जुन इच्छाशक्ति देखाएर कुशल नेतृत्व र व्यवस्थापकीय संयोजन गर्नु पर्ने हो, त्यो गर्न सक्दैन। त्यसो त श्रोत साधन र प्रविधि हाम्रो अर्को कमजोरी हो। लोकत्रान्त्रिक गणतन्त्रमा गैसकेपछि भर्खर विकासको मोडल पछ्याई रहेको हाम्रो मुलुक आर्थिक र भौतिक दृष्टिले पनि कमजोर छ। साथै भौगोलिक विकटता र आधुनिक प्रविधिमा समेत हामी प्रगति गर्न सकिरहेका छैनौँ।

स-साना विकास निर्माण होस् या ठुल्ठुला विपत्तिमा, हामीले बाह्य सहयोगकै मुख ताक्नु पर्ने बाध्यता छ। तर अहिलेको कोरोना महामारीमा नेपालले बाह्य सहयोग र अनुदान पाउने आशा नगरे हुन्छ। कारण यसले संसारलाई बिचलित बनाइसकेको छ। सबै मुलुक आफ्नै देश र जनताको रक्षार्थ कोरोना भाइरससँग जुधिरहेका छन्। पश्चिमा मुलुकलाई कोभिड-१९ तेश्रो विश्वयुद्ध सरह भैरहेको छ।

संसारलाई ‘लिड’ गर्छु भनेर आफूलाई शक्तिशाली दाबी गरिरहेको अमेरिका होस् या युरोपियन मुलुकहरु इटाली, स्पेन, फ्रान्स, स्विजरल्यान्ड, जर्मनी, नेदरल्याण्ड र बेलायत, उनीहरुको पछिल्लो अवस्था हेर्दा कहाली लाग्दो सपना जस्तो लाग्छ। एकै दिनमा हजारौँ नागरिक गुमाउनु पर्दा कोहीपनि राष्ट्रप्रमुख चैनले बसेका छैनन्। चीन चट्टानमा पछारिएको ‘पाह’ झैं अवस्थाबाट बल्लतल्ल उठेर तंग्रिने कोसिसमा छ।

यस्तो अवस्थामा नेपालले अरुको अपेक्षा गर्ने भन्दा आफ्नो सिप र क्षमताका आधारमा कोरोना रोकथाम तथा न्यूनीकरणका लागि विशेष पहल गर्न आवश्यक छ। विकास तथा प्रशासनिक खर्च कटौती गरेर भएपनि जनताको जिउधन र स्वास्थ्यको जिम्मा लिन अत्यावश्यक छ। तथापी सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ। कोरोना भाइरसबाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो। अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७।५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको छ। एशियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि सरकारले स्वीकृत गरेको छ। यसले राहत तथा उपचारमा खर्च गरिने भनेको छ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भनेझैँ संक्रमण फैलिएर त्रासदीपूर्ण उपचारमा लाग्नुभन्दा संक्रमणबाट जोगिनु नै प्राथमिक वुद्धिमानी हो। यसका लागि अब सरकारमात्र दोषी छैन र हुन्न पनि। मेरा साथी भारतबन्धु हुन् या म आफैँ, सुरक्षित सेल्फ क्वारेन्टाइनमा बसेर सरकारलाई मात्र हैन हामीले आफैँलाई सहयोग गरेका छौँ, न्याय गरेका छौँ।

हामी जस्तै जोजो पछिल्लो समय वैदेशिक यात्राबाट नेपाल फर्किएका छन्, उनीहरु सबैले १४ दिन वा त्यो भन्दा पनि बढी सेल्फ क्वारेन्टाइनमा बसौं। सरकारले नियम लगाएको मिति चैत १ गते अगाडि नै आएकाहरु पनि पूर्णतस् ढुक्क नहुनु। चैत १ गतेपछि आएकाहरु झन् बढी नै सावधान रहनुस्।

लामो समयदेखि देश तथा विदेश नगरेकाहरु पनि ढुक्क हुने अवस्था छैन। इस्टमित्र/आफन्त, घर/टोल वरिपरि छरछिमेक अथवा उनीहरुका पनि आफन्त इस्टमित्र विदेश गएका वा गएर आएकाहरुसंग सम्पर्कमा रहेका हुन सक्छन्। कोरोना भाइरस मानिसलाई मानिसबाट, हावाबाट, सरसामानबाट, स्वासप्रस्वासबाट हुने भएकाले मान्छेको सम्पर्कमा नजान सरकारले गरेको आग्रहको पूर्णपालना गरौँ। यसको उपचार भनेकै घरमै बस्ने सरसफाई गर्ने र संक्रमण फैलिन नदिने हो। यो भन्दा बाहेक अहिलेसम्म पत्ता लागेको औसधि उपचार केहि छैन।

यो लेख तयार पार्दासम्म नेपालमा पाँच जनालाई कोरोना संक्रमण देखिएकोमा एक जना पहिले नै निको भै घर फर्किसकेका छन्। यसलाई यही संख्यामा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय सरकारले यथासंभव समन्वय गरी थप स्वास्थ्य सुरक्षा अपनाउन अत्ति आवश्यक छ।

तत्कालका लागि एक हप्ते लकडाउन गर्ने निर्णय गरेको सरकारले फेरी अर्को निर्णयमार्फत चैत २५ गतेसम्मका लागि यसको अवधि लम्ब्याएको छ। यतिबेला एक सचेत नागरिकको हिसाबले हामीले सरकारले अख्तियार गरेको सम्पूर्ण नीति नियमको पालना गरी कोरोना भाइरस विरुद्धको अभियानमा एक असल अभियन्ता बनिदिनु पर्छ। निश्चय नै यो बेला सहज छैन, तर हाम्रो अर्को विकल्प पनि छैन।

स्वास्थ्य बाहेक संसारमा अर्को मुल्यवान चिज केही छैन। तसर्थ घरमै बसौँ, सुरक्षित बसौँ, स्वस्थ्य रहौँ। पहिला हामी जोगियौँ भने बल्ल देश जोगिन्छ। आफ्नो मातृभूमि जोगाउन भएपनि हामी कोरोनाबाट जोगिऔँ।   

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal