सर्पकाे मुखमा परेको भ्यागुताको झिंगा खाने लालसा (काेराेना विशेष बैठक यसरि समपन्न भयाे)

सर्पकाे मुखमा परेको भ्यागुताको झिंगा खाने लालसा (काेराेना विशेष बैठक यसरि समपन्न भयाे)

हरि प्रसाद रिमाल

यसरी बैठक सम्पन्न भयाे !!!
१. केही जनप्रतिनिधिहरू एक वैठकका निम्ति भेला हुनुभएको थियो । उहाँहरूले कोरोनाका साथै लज्जाव्याधि समेत छोपिने गरी टम्म हुने गरी आफ्आफ्ना नाशिकालाई टोपी लगाइदिनुभएको थियो । उहाँहरू बस्ने आरादायी कुर्सीहरू तीन तीन मिटरको दूरी मिलाएर राखिएका थिए । वैठक हुने ठाउँ खुला र रमाइलो थियो, ढकमक्क फुलेका मौसमी फूलहरूको शोभा र वास्नाले वातावरण मनमुग्ध थियो । उहाँहरू त्यसरी वैठकमा उपस्थित भए पछि आज त्यो वैठकले के के महत्वपूर्ण निर्णय गर्ने होला भनेर जनता आशावादी भई कान ठाडा ठाडा पारिरहेका थिए ।

जनता समूह नं. १ ‘यस्तो कोरोना भाइरसको बिगबिगी भएका बेला समेत महोदयहरू जनताका के के समस्याहरू छन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीर रूपमा छलफल गर्न भेला हुनुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद छ !’

जनता समूह नं.२ ‘हामी मजदुरहरू जो लकडाउनका कारण कामबाट निकालियौँ, काम गरेको वरिपरिको स्थानीय निकायले हामीलाई ‘आफ्नो क्षेत्रको नभएको’ भनेर राहत दिएन । त्यसैले विपत्तिको बेला राहत पाउन पनि आफ्नै क्षेत्रमा जानुपर्ने रहेछ भनेर गन्तव्यसम्म पुग्न पैदलै भोकभोकै सयौं कोष हिडिरहेका छौँ । अझ त्यसमाथि यी प्रहरीहरूले लकडाउन उल्लङ्घन गर्ने भनेर हामीलाई बेसरी गाली गर्छन् र कतिपयले त हामीमाथि लाठी समेत वर्षाउँछन् । यति दुःख र पीडा त हामीले कहिल्यै पनि भोगेका थिएनौँ । हाम्रो दुःखले मर्माहत भएर हामीलाई घरसम्म पु¥याउन र खानाको व्यवस्था गर्न उहाँहरूको आपत्कालीन बैठक बस्न लागेको होला ! ।’

जनता समूह नं ३. ‘लकडाउनका कारण भिक्षा माग्न जान पनि नसकेका, मतदाता नामावलीमा नाम नभएकाले स्थानीय जनप्रतिनिधिबाट पनि राहत नपाएका र भोकभोकै मर्न लागेका हामी अभागी मगन्तेहरूका बारेमा निर्णय गर्न उहाँहरूको वैठक बस्न लागेको हुनुपर्छ !।’

जनता समूह नंं ४ ‘लकडाउनका कारण बाहिर निस्कन नसकेका र लुकिछिपी निस्किए पनि प्रहरीको लाठी वर्षला भन्ने भयले भोकभोकै कोठामा कोचिएर बसेका हामी सिदासादा, दृष्टिविहीन र अरु अपाङ्गहरूलाई खोजी खोजी राहत बाँड्ने विवेकपूर्ण निर्णय गर्न उहाँहरूको बैठक बस्न लागेको हुनुपर्छ ! ।

जनता समूह नं. ५ ‘यस्तो महामारीका बेला पनि कोरोनाका बिरामीलाई राख्ने भेन्टिलेटर जस्ता सामान समेत पुराना र नक्कली ल्याएर भ्रष्टाचार गर्ने, चामल बाँड्नुपर्ने बेला पच्चीस पच्चीस केजी म्याद नाघेको नुन बिक्री गर्नेहरूलाई तुरुन्त खोरमा हाल र मुद्दा दायर गर कति खरदार र सुब्बाहरूलाई मात्र भ्रष्ट र अपराधी देखिरहन्छौ!’ भनी अख्तियारलाई घचघच्याउन वैठक बस्न लागेको हुनुपर्छ ! धन्यवाद छ उहाँहरूलाई अब भ्रष्टहरू उम्कन नपाउने भए !’
यसरी जनताले आशावादी नजर र उत्सुकतापूर्ण कर्णविवर तुल्याइरहेका बेला महोदयहरूको वैठक शुरु भयो । वैठकमा एक महोदयले भारत–नेपाल सीमामा विचल्लीमा परेका नेपालीलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राखिनुपर्छ र उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने राय राख्नुभयो । त्यसपछि सबै महोदयहरूको तर्फबाट एक खातापिता (मोटाघाटा) महोदय सिटबाट उठ्नुभयो र आफ्नो भनाई यसप्रकार राख्नुभयो—‘यो लकडाउनका समयमा पनि एक ज्यादै नमिठो खबर सुनिएकाले हामी उपस्थित भएका छौँ । सांसद् विकास कोषको रकम कोरोना संक्रमण राहत कोषमा सार्ने अरे ! यो कसरी हुन सक्छ ? त्यसबाट कति ठूला ठूला योजना बनाइरहका छौँ । पुल, सिंचाइ, बाटोघाटो आदि’ । त्यसो गर्दा हाम्रा योजना अधुरा हुँदैनन् ?! कोरोनाका नाममा हाम्रो बजेट काट्न पाइन्छ ?’ उहाँ महोदयले त्यसो भनिरहँदा उहाँको हृदयवासी आत्माले भने ‘जनता यति विपत्तिमा परेका बेला समेत सांसद्कोषको रकमको लोभ गर्ने ?’ भनी धिक्कारिरहेकोे उहाँको कालोनीलो अनुहारबाट स्पष्ट अनुमान गर्न सकिन्थ्यो ।

त्यसपछि त्यस सभाको अध्यक्षता गरिरहनु भएका शक्तिसम्पन्न महोदयले आफ्नो सिटमा बसी बसी नै सबैलाई आश्वस्त पार्दै भन्नुभयो ‘ कानूनी रूपमा नै संसद्ले पास गरी छुट्याएको रकम कुनै पनि हालतमा अर्कातिर सार्न मिल्दैन र पाइँदैन । तपाइँहरू ढुक्क हुनुहोस् ।’ त्यसपछि सर्वसम्मति स्वरूप टुर्र ताली बज्यो र वैठक सम्पन्न भयो ।

त्यस बैठकको निर्णय सुनेर सर्वसाधारण जनताले टिप्पणी गरेको सुनियो ‘कोरोनाले डस्न लागेको यस्तो दारुण बेला सर्पको मुखमा परेको भ्यागुताको झिंगा खाने लालसा जस्तै भएन र यी महोदयहरूको लोभ ?’

(हरि प्रसाद रिमालकाे फेसबुकबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal