सपनाको पछाडीको मनोबिज्ञान तथा बिज्ञान

सपनाको पछाडीको मनोबिज्ञान तथा बिज्ञान

राम राज प्रताप भण्डारी

के तपाईले यो जान्नु, सुन्नु वा पढ्नु भएको छ ?


तपाई एक रातमा ७ वटा सम्म सपनाहरु देख्ने गर्नुहुन्छ । तपाई आफुले चाहेअनुसारको सपनाहरु देख्न पनि सक्नु हुन्छ । तपाई गर्भमै हुँदा चौंथो महिना देखीनै तपाई सपनाहरु देख्नु हुन्थ्यो । मुटु वा रक्तचाप संबन्धी बिमारीहरु सपना देख्दा देख्दै पनि मर्न सछन् । नवजात शिशुहरु जन्मिएको केही हप्ता भित्रमा निन्द्रामा सपना देख्दै मर्दछन् । यस लेखमा यस्तै अनौंठा सन्दर्भहरु सहितको सपनाहरुको बैज्ञानिक जवाफ र तथ्यहरुको गरिएको छ ? कृपया यो लेखलाई फुर्सदमा सुरु देखी अन्त्य सम्म पढ्नु होला ।

निन्द्रा र सपनाको अन्तरसंबन्ध:
दक्षिण एसियाका केही देशहरुमा छोरीहरुको नाम “सपना” राख्ने प्रचलन छ जस्तो की सपनाश्री, सपना देवी, सपना कुमारी, वा मात्र सपना । तर यस लेखमा त्यो दक्षिण एसियाको प्रचलित स्त्रीलिंगी नाम बुझाउने शब्द “सपना” को नभई, दुई वा सो भन्दा बढी प्रकारका मस्तिष्क भएका प्राणीहरुले निन्द्रा वा तन्द्राको अबस्थामा उत्त्पन्न हुने एक रहस्यमयी प्रकृया, जसलाई हामी सपना भन्दछौं, त्यसैको बारेमा चर्चा गरिनेछ । प्राणीले सपना देख्नु वा नदेख्नुको महत्व शरीरको लागी वास्तव के हो भन्ने कुरा हाल सम्म जानकारी नभए पनि प्राय: जसो मान्छेहरुको दैनिकी हो सपना । यानी सबै मान्छेहरुले सपना देख्छन् ।

सपना प्रत्यक्ष रुपले निन्द्रासंग संबन्धित छ । अत: सपनाको बारे बिस्तृत जान्नु भन्दा पहिले निन्द्राको बारे केही कुरा जान्न जरुरी हुन्छ । संसारका सबै मान्छेहरुले अनिबार्य रुपले सपना देख्दछन्, फरक यत्तिमात्र हो की कोही सपना सम्झन सक्छन् भने कोही सम्झन सक्दैनन् । सायद तपाईंहरु पनि धेरै सपनाहरू सम्झन सक्नुहुन्न । बैज्ञानिक मान्यता अनुसार सपना र निन्द्रा दुबै कुराहरू मानिसको मानसिक र शारिरीक स्वास्थ्यको लागी आबश्यक छन् ।

निन्द्रा:
सामान्यतया हामी आफै पनि निन्द्राका दुई अबस्थाहरु अनुभब गर्ने गर्दछौं: ती हुन पातलो निन्द्रा र गाढा निन्द्रा । त्यस्तै गरेर सपना देख्ने अबस्थाको आधारमा पनि निन्द्राका दुई आधारभूत प्रकारहरू हुन्छन्, ती हुन्: १. द्रुत आँखा चलबल वा रेम् (Rapid Eye Movement or REM) निन्द्रा, र 2. गैर-रेम् (Non-REM) निन्द्रा ।
निंदाउदा आँखा ढकनी बन्द भएपनि आंखा दाँया बाँया चलिरहने गर्दछन्, यस प्रकृयालाई द्रुत आँखा चलबल वा रिम् (REM) निन्द्रा भनिन्छ भने मस्तिस्क सहीत आँखा कन नचली मस्त निंदाउने अबस्थालाई गैर-रेम् (Non-REM) निन्द्रा भनिन्छ । हाम्रो शारिरीक र मानसिक दुबै प्रकारको स्वास्थ्यलाई चुस्त र दुरुस्त राख्न र हाम्रो मस्तिष्कको स्मरणलाई सुब्यबस्थित गर्नको लागी प्रायः दुबै प्रकारहरूका निन्द्राहरू अत्यन्तै आबश्यक छन् ।

रेम् (REM) अबस्थाको निन्द्रा सबभन्दा पहिले निंदाएको ९० मिनेट पछीको निन्द्राबाट आउँछ र यो करीब दुई घंटासम्म चलिरहन्छ, तर रेम् (REM) अबस्थाको निन्द्रा बिहानपखको निन्द्रामा पनि हुन सक्दछ । रेम् (REM) अबस्थाको निन्द्रामा देखिने सपना ब्युँझदा पनि सम्झने संभावना हुन्छ, यद्यपी ब्युँझने बित्तिकै ९०% सम्म सपना हाम्रो मस्तिष्कको स्मरण बाट मेटीने गर्दछ । यस अबस्थामा हाम्रो मष्तिस्क झन्डै ब्युँझिएको बेला जस्तै सकृय रहनु साथै रक्तचाप उच्च हुने, मुटुको धड्कन बढ्ने, मांसपेशीहरु कस्सीने आदि हुन्छ । निन्द्राको यही अबस्थामा ऐंठन पनि हुन्छ र उच्च रक्तचाप भएका मान्छेहरुको सुतिरहेको अबस्थामा मृत्यु हुन पनि सक्दछ ।

गैर-रेम् (Non-REM) निन्द्राका तीन फरक चरणहरू छन् । यस प्रकारको निन्द्रामा सपना देख्ने संभावना कम हुन्छ तर कहीलेकाही सपना देखीए पनि संझने संभावना अति नै कम हुन्छ । गैर-रेम् (Non-REM) निन्द्रामा मस्तिष्क पुरै आरामको अबस्थामा हुन्छ भने आँखाहरु स्थिर हुन्छन्, मुटु र श्वास्प्रश्वासको चाल सुस्त हुनुको साथै मांसपेशीहरु खुकुलो हुने गर्दछन् । यही निन्द्राको अबस्थामा नै शरिरका मांसपेशीहरु बाउडीने गर्दछन् र न्युन रक्तचाप भएका मान्छेहरुको सुतिरहेको अबस्थामा मृत्यु हुन पनि सक्दछ ।

मानिसलाई निन्द्रा अबश्य जरुरी हुन्छ तर कुन उमेर समुहको मान्छेलाई दिनमा कती घण्टा अनिबार्य निदाउन आबस्यक छ भन्ने कुरा को यकिनका साथ भन्न गाह्रो छ । चिकित्सक र बिज्ञहरुको राय अनुसार नवजात शिशुहरूको लागी दिनको १८ घण्टा भन्दा बढी; ५ बर्ष मुनी बच्चाहरूलाई दिनको १२ घण्टा भन्दा बढी; किशोर-किशोरीहरूलाई ८ देखी ९ घण्टा र वयस्कहरूलाई सामान्यतया ७ घण्टा जती निन्द्रा चाहिन्छ ।

सपना:
निन्द्राको केही चरणहरूमा अनैच्छिक रूपमा मस्तिष्क वा दिमागमा केही घटना वा बिवरणहरु जुन सामान्यतया विचार, छवि, भावना र संवेदनाहरूको रुपमा उत्पन्न हुने गर्दछन्, निन्द्राको यस्तो अबस्थालाई “सपना” भनिन्छ । सपनाको विषय, सन्दर्भ, सामग्री र उद्देश्य स्पष्ट रूपमा जान्न र बुझ्न सकिदैन, यद्यपी ईतिहासमा तिनीहरू वैज्ञानिक, दार्शनिक र धार्मिक चासोको विषय भएका छन् । सपना व्याख्या गर्नु भनेको सपनाको अर्थ बुझ्ने प्रयास गर्नु र त्यसको अन्तर्निहित सन्देशको खोजी गर्नु हो । सपनाहरूको वैज्ञानिक अध्ययनलाई “स्वप्नशास्त्र” (Oneirology वा अनईरोलोजी) भनिन्छ, जसमा अनईरो (Oneiro) को अर्थ सपना र लोजीको अर्थ अध्ययन वा बिज्ञान भन्ने हुन्छ ।

सुत्दा प्राय: सबै मान्छेहरु सपना देख्दछन्, तर सपना देख्नुको वास्तविक उद्देश्य के हो, त्यो हाल सम्म स्पष्ट थाहा हुन सकेको छैन, तर सपनाले मानिसका भावनाहरू ब्यबस्थीत गर्न मद्दत पुर्याउछ भन्ने बिश्वाश गरिन्छ । सपनाहरू निद्राको सबै चरणहरूमा अनुभव गर्न सकिन्छ, तर सामान्यतया रेम् (REM) निद्रामा अबस्थामा देखीने सपनाहरू सबै भन्दा स्पष्ट हुन्छन् । केही मानिसहरूले विविध रंगमा वा रंगीन सपनाहरू देख्छन्, जबकि केही मानिसहरूले केवल कालो र सेतोमा मात्र सपनाहरू देख्ने गर्दछन् ।

स्वप्नशास्त्र र सपना बिश्लेषणमा केही भिन्नता छ । सपना बिश्लेषणले देखिएको सपनाको वास्तबिक जीवनमा के कस्तो अर्थ लाग्दछ भन्ने थाहा पाउनु हुन्छ । स्वप्नशास्त्रको काम सपना देख्ने प्रकृया, परिमाण सहित त्यसो अर्थ, विषय, सन्दर्भ आदिको अध्ययन गर्नु भन्ने हुन्छ । सपनाको बारेमा हालसालै गरिएका अनुसंन्धानले प्राणीको सपना देख्ने प्रकृया र उसको तत्कालिन ज्ञान विचको अन्तरसंबन्धका साथै त्यसरी देखिएका सपनाको मस्तिष्कमा स्मरण र मानसिक अबस्था आदिको पनि जानकारी प्राप्त गर्ने कोशिस भईरहेको छ ।

बिकशित मस्तिष्क भएका प्राय: जसो प्राणीले सपना देख्ने गरेको पाईएको छ । यहाँ बिकशित मस्तिष्कको मतलव के हुन्छ भने जुन प्राणीको मेरुदण्डमा मस्तिष्कको न्युरोनको फैलावट भएको वा दुई वा सो भन्दा बढी प्रकारहरु (भागहरु वा खण्डहरु) का मस्तिष्क हुनु हो । त्यसैले प्राय: मेरुदण्ड भएका प्राणीहरुले सपना देख्ने गर्दछन् । यस बारेमा धेरै अनुसन्धान भएका छैनन्, त्यसैले तथ्यहरु अपर्याप्त छन् तर यो संभवना बढी छ कि निदाउन सक्ने सबै नै प्राणीहरुले सपना देख्ने गर्दछन् । अचम्म र चाखलाग्दो कुरा यो छ की हामीहरु आमाको गर्भमा ४ महिनाको हुँदा देखीनै सपनाहरु देख्ने गर्दछौं किनकि त्यो समय सम्ममा हाम्रो मस्तिस्ष्क र मेरुदण्डको बिकाश भैसकेको हुन्छ ।

दिनका घटनाहरूले प्रायः निद्राको बेला मानिसहरूको मस्तिष्कमा असर गर्दछन्, त्यसैले तनाव वा चिन्ताबाट ग्रस्त मानिसहरूले डरलाग्दा सपनाहरू देख्ने साथै प्रफुल्ल र हर्षित अबस्थाका मानिसहरूले रमाईला र आनन्दित सपनाहरू देख्ने सम्भावना हुने बढी हुन्छ । मानिसहरूको सोच र दक्षताको आधारमा अनि प्राय: ब्यस्त हुने पेशा, दिनचर्या आदि पनि सपनाका सामाग्री बन्न सक्छन् । तर यदाकदा जीवनमा सोच्दै नसोचेका, कल्पना र क्षमता भन्दा बाहीरका घटना र बिषयबस्तुहरु पनि सपनामा आउने गर्दछन् । सपना देख्ने प्रकृया स्वभाविक भएपनि सपनाका सामाग्रीहरु (बिषय र घटना) बैज्ञानिकहरुको लागी अतीनै रहस्य र चुनौतीको विषय बन्दै आएको छ ।

सपना एक जैविक-रासायनिक प्रक्रिया:
आखिर सपना कसरी देखिन्छ ? यो सबैको दिमागमा आउने सहज प्रश्न हो । के तपाईको दिमागमा पनि यस्तै प्रश्न आउने गर्दछ ?

सपनाका विद्युतीय संकेतहरू, जैविक र रासायनिक चलखेलको चाखलाग्दो बिज्ञान हो । हाम्रो मस्तिष्कका तीन मुख्य भागहरू हुन्छन्: सेरेब्रम (Cerebrum), सेरेबेलम (Cerebellum) र ब्रेनस्टिम (Brainstem) । विद्युतीय संकेतहरू, जैविक र रासायनिक कार्यहरुको संतुलित संम्पादन सहित मस्तिष्कका सबै भागहरूका अ-आफ्नै विशिष्ट भुमिकाहरु छन् । र मस्तिष्कका ती सबै भागहरू तीनका कामहरू सबै हाम्रो शरीरका लागी महत्वपूर्ण छन् । मस्तिष्कले सबै सन्देशहरुको प्राप्ती, व्याख्या र निर्देशन आदि कार्यहरु हाम्रो शरीरका जैविक-रसायनहरुको कोडिंग र डिकोडिंग द्वारा गर्ने गर्दछ । मस्तिष्कले गर्ने सबै कार्यहरुमा हाम्रो शरीरका जैविक रसायनहरुको न्युरोनहरु मार्फत संबहन भै विविन्न सुचना र संवेदनाहरु संचार हुने गर्दछ ।

सेरेब्रम (मुख्य मस्तिष्क) मस्तिष्कको सबैभन्दा ठूलो अंश हो र दायाँ र बायाँ दुई गोलार्धहरू मिलेर बनेको हुन्छ। यसले स्पर्श, दृष्टि र श्रवणको व्याख्या, साथै बोली, तर्क, भावनाहरू, सिकाइ, र चालको राम्रो नियन्त्रण जस्ता महत्वपूर्ण र उच्च कार्य गर्दछ । सेरेब्रम मानव शरीरको केन्द्रीय प्रसंस्करण इकाई हो किनकि यसले शरीरलाई सबै मुख्य बौद्धिक कार्यहरू नियन्त्रण गर्दछ र सबै गतिविधिहरू र वातावरणको अर्थ दिन्छ । साथै सेरेब्रमको नियमीत र प्रमुख काम भनेको सेरेबेलम र ब्रेनस्टिमहरुबाट जैबिक-रसायनिक माध्यम द्वारा आफुले प्राप्त गरेका सुचना र संबेदनाहरुको अर्थ लगाउनु र आबश्यक प्रतिकृया दिनु हो ।

सेरिबेलमले (सहायक मस्तिष्क) संवेदी प्रणाली, मेरुदण्ड, र मस्तिष्कको अन्य भागहरूबाट जानकारी प्राप्त गर्दछ र त्यसपछि मोटर चालहरूलाई नियमित गर्दछ । जसको परिणामस्वरूप सेरिबेलमले स्वैच्छिक चालहरू जस्तै आसन, सन्तुलन, समन्वय, मांसपेशी गतिविधि र भाषण आदि लाई राम्ररी र सन्तुलित समन्वय गर्दछ । सेरिबेलम हाम्रो टाउकोको आधारमा अवस्थित छ जहाँ टाउकोले घाँटी भेट्दछ र मेरुदण्डको न्युरोनहरू संग जोडीन्छ । यो मस्तिष्कको तुलनात्मक रूपमा सानो भाग हो जुन मस्तिष्कको कुल वजनको दश प्रतिशत मात्र हुन्छ, तर यसमा आधा न्युरोनहरु हुन्छन् जसले विद्युतीय संकेतहरूबाट सूचना प्रसारीत गर्दछन् ।

मस्तिष्कको सबैभन्दा पुरानो अंश ब्रेनस्टेम हो, जुन स्वचालीत वा स्वत: अस्तित्वका कार्यहरूको लागी जिम्मेवार छ। मस्तिष्कको स्टेमले दिमाग र शरीरको बाँकी भाग बीच सन्देशहरूको निरन्तर प्रवाह गर्दछ र यसले शरीरको आधारभूत कार्यहरू जस्तै श्वासप्रश्वास, निल्ने, मुटुको धड्कन, रक्तचाप, पाचन र आन्द्राहरुको चाल आदिको नियन्त्रण गर्दछ । ब्रेनस्टेमले हाम्रो चेतनाको अबस्था र जागेको वा निदाए अबस्थाको पनि शरीरको ख्याल राख्ने गर्दछ । ब्रेनस्टेमका मिडब्रेन, पोन्स, र मेडुला-अब्लांगाटा गरी तीन भागहरु हुन्छन् ।

निंदाएको अबस्था भन्नाले सेरेब्रमले आराम गरेको हो र निंदाएको बेलामा बाँकी अरु दुई मस्तिष्कहरु (सेरेबेलम र ब्रेनस्टिम) ले आफ्नो काम गरिरहेका हुन्छन् । निन्द्राको अबस्थामा सेरेब्रम पूर्ण आरम र निष्कृय स्थितीमा रहे पनि यसले एउटा बिशेस काम गरिरहेको हुन्छ, त्यो हो आफ्नो सकृयतामा भएका घटना, सूचना र अनुभबहरुबाट प्राप्त ज्ञान, जानकारी र आंकडा आदिको बिश्लेषण, संचय र ब्यबस्थापन गरीरहनु ।

निंदाएको अबस्था सेरेब्रमको मुख्य भाग निष्कृय रहेकोले तत्कालीन घटनाहरुको सुचना र संबेदनाहरुलाई स्वीकार्न अनिच्छा देखाउँछ । तर पनि सेरेबेलम र ब्रेनस्टिमहरुले आफ्नो नियमीत आदतको कारणले गर्दा सुचना दिन खोजिरनन्छन् । त्यस्तो अबस्थामा ती तीन मस्तिष्कहरुको संचार सन्तुलन बिग्रीन्छ र अन्योल तथा भ्रमपूर्ण स्थितीको सृजना हुन्छ । यही मस्तिष्कको अचेतना वा अर्धचेतनाको सुचना र संबेदनाहरुको संचार अलमल्ल भएको परिस्थिती नै हाम्रो सपना उत्पन्न वा निर्माणको कारण हो । त्यो समयमा के कस्ता बिषयवस्तु र सन्दर्भका सपनाहरु उत्पन्न हुन्छन् भन्ने कुरा चाँही हाम्रो तत्कालिन शरिरीक, मानसीक, दिनचर्या, वातावरणीय आदि अबस्थाहरुको प्रभाबले निर्धारण गर्दछन् ।

के दृष्टी-विहीन मान्छेहरुले सपना देख्छन् र बहिराहरुले सपनामा सुन्दछन् ?


दृष्टी बिहिनताका दुईवटा अबस्थाहरु हुन्छन्: पहिलो जन्मदै आँखा नदेख्नु र दोश्रो पछी गएर आँखा वा दृष्ती गुमाउँनु । जन्मदै आँखा नभएका वा देख्ने क्षमता नभएका मान्छेहरुलाई उनीहरुका जीवनहरुमा चित्र र आकृती संबन्धी ज्ञान र धारणा नै हुँदैन । अत: तिनीहरुका सपनाहरुमा चित्र र आकृती देख्न सक्दैनन्, तर तिनीहरु चित्र र आकृती बिहिन सपनाहरुमा महशुस गर्दछन् र सपनामा सुन्ने गर्दछन् । जन्म पश्चात दुनियाँ देखेर आँखा गुमाएका मान्छेहरू भने अरु मान्छेहरू जस्तै सपना देख्दछन् । तर पछिल्ला अनुसन्धानहरुले यो पत्ता लगाएका छन् की समय बित्दै जाँदा दृष्टी बिहिन मान्छेहरुले रंगीन सपना नदेखी सादा (श्याम-स्वेत) चित्र र आकृतीमा सपना देख्ने गर्दछन् र धेरै समय पछी त चित्र र आकृती भएका सपनाहरु देख्ने छोड्दै मात्र आवाज सुन्दछन् ।

त्यस्तै बहिरा हुनुका पनि दुईवटा अबस्थाहरु हुन्छन्: पहिलो जन्मदा देखी नै बोल्न नसक्नु र दोश्रो पछी गएर बोली वा वाक्य गुमाउँनु । जन्मदै बोली नभएका वा बोल्न नसक्ने मान्छेहरुलाई उनीहरुका जीवनहरुमा चित्र र आकृती संबन्धी ज्ञान र धारणा हुन्छ तर बोली र शब्दको ज्ञान र धारणा नभएकोले; त सपना देख्दछन् तर ईसारा र संकेतमा अर्थ बुझ्दछन् । तर पछी बहिरा भएका मान्छेहरू भने सपनाहरुमा देख्ने र सुन्ने गर्दछन् । जन्म पश्चात दुनियाँ देखेर आँखा गुमाएका मान्छेहरू भने अरु मान्छेहरू जस्तै सपना देख्दछन् । अनुसन्धानहरुले यो पत्ता लगाएका छन् की यस्ता बहिरा मान्छेहरू अरु बोल्न सक्षम मान्छेहरू जस्तै तिनीहरुका सपनामा भने सुन्ने अनि कुरा गर्ने समेत गर्ने पाईएकोछ ।

सपनाका प्रकारहरू:
हामीले देखेका सपनाहरु कती सम्झिन सकिनछन् भने कति सम्झिन सकिदैनन् । हामी लगभग ७ घण्टाको एक रातको सुताईमा औंसत ३ देखी ५ वटा सम्म सपनाहरु देख्दछौं, तर कहीलेकाही ७ वटा सम्म पनि देख्न सकिन्छ । यसरी देखिने सपनाहरुका बिषयबस्तु तथा सन्दर्भहरु के हुन्छन्, त्यो हाम्रो नियन्त्रण र ईच्छामा भर पर्ने कुरा होइनन् । यसको सिंधा मतलब यो हो की सपना माथी हाम्रो पूर्ण नियन्त्रण छैन । सामान्यतया मनिसको उमेर, रहनसहन, दिनचर्या, स्वास्थ्य तथा शरिरीक अबस्था, सुताईको अबस्था, तत्कालिन बाहिरी वातावरण र मनोदशा आदि कुराहरुको वरिपरी नै रहेर सपना देख्ने गरिन्छ । तर कहिलेकाँही त सोच्दै नसोचेका बिषयबस्तु, सन्दर्भ र घटनाहरु सहितका अनौंठा र असान्दर्भिक किसीमका सपना पनि देख्ने गरेको पाईन्छ ।

कतिपय सपनाहरु दोहोरिने गर्छन् भने प्रायजसो नयाँ सपनाहरु नै देखिने गर्दछन् । केही मान्छेहरु त यस्तो पनि दाबी गर्दछन् की उनीहरुले सपनामा देखेको घटना धेरैजसो वास्तबिकतामा परीणत हुने गर्दछन् र यस्तै यस्तै । तर उनीहरुले यसरी देखेका सपनाहरु वास्तवीक जीवनमा घटनाहरु संग मेल खानु भनेको मात्र संयोग हुन् । हरेक मानिसले आफ्नै परिबेस र पृष्ठभूमि अनुसार सपना देख्ने र त्यसोको अनुभब गर्ने हुनाले बिगतका बस्तुस्थिती र परिघटनाहरुका आधारमा केहि भावी घटनाहरु मेल खान गएमा त्यो फगत संयोग मात्र नै हो भन्न सकिन्छ ।

बिष्यबस्तु, घटनाक्रम, अबधी, अर्थ, तथा प्रकृती आदिको आधारमा सपनाहरुलाई धेरै प्रकारमा बिभाजन गर्न सकिन्छ, जस्तो दिवास्वप्न, नियन्त्रित, अनियन्त्रित, पुनरावर्ती, निधान, भविष्यसूचक, सचेतन, अचेतन, संकेत, प्रभाबपूर्ण, आशीर्वाद र श्राप, पारस्परीक, मैथुनीक, दुःस्वप्न, खुशहाल, आतंकीत, भावनात्मक, मनोवैज्ञानिक आदि ईत्यादि । फरक फरक बैज्ञानिक, सोंधकर्ता र चिन्तकहरुले सपनाका प्रकारहरुलाई अ-आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । तर सपना देख्ने मान्छेले सपना देखेको अबस्थाको आधारमा सबै प्रकारका सपनालाई मुख्यत: मात्र दुई प्रकारमा बाँड्न सकिन्छ, ती हुन्: नियन्त्रित र अनियन्त्रित ।

नियन्त्रित सपना – नियन्त्रित सपना भन्नाले त्यस्तो सपना हो जसलाई सपना देख्ने मान्छेहरुले आंशिक वा पूर्ण रुपले नियन्त्रण गर्न सक्छन् । त्यस्ता सपनाहरु मान्छेहरुले अर्धचेतनाको अबस्थामा देख्ने गरिन्छ । तिनीहरु आफ्नो सपनाको बिषयबस्तु र अबधीलाई आफ्नो ईच्छा अनुसार अघी बढाँउछन् या सपनालाई बिचैमा रोक्न सक्छन् । यस्तो प्रकारको सपनालाई मनमौंजी सपना (Lucid Dream) पनि भनिन्छ , किनकी यस्तो सपना मान्छेहरुले आफ्नो ईच्छाले मन खुशी हुने गरी नियन्त्रण गर्दै देख्न वा विचैमा छुटाउन सक्छन् । यस्ता सपनाहरु स्मरणमा लामो समय सम्म रहन्छन् र सपना देख्ने मान्छेहरु आनन्दीत पनि हुन्छन् । सामान्य अभ्यासले मात्र पनि तपाई आफ्नो ईच्छा अनुसारको सपना देख्न सक्नु हुन्छ । के तपाईहरुले पनि यस्तो सपना देख्नु भएको छ ?

अनियन्त्रित सपना – अनियन्त्रित सपना भन्नाले त्यस्तो सपना हो जसलाई सपना देख्ने मान्छेहरुले कुनैपनि रुपले नियन्त्रण गर्न सक्दैनन् । त्यस्ता सपनाहरु अचेतनाको वा गाढा निन्द्राको अबस्थामा देख्ने गरिन्छ । तिनीहरुको आफ्नो सपनाको बिषयबस्तु र अबधीमा कुनै पनि प्रभाब हुदैन, तर असमज्यश्यता र शरिरीक कारणले निन्द्रा भंगभै वा टुट्न गई सपना अघी नबढाँउन् भने सक्दछ । यस्तो प्रकारको सपनालाई सघन सपना (Dense Dream) पनि भनिन्छ, किनकी यस्तो सपना मान्छेहरु गाढा रुपले निदाएको वा गहीरो निन्द्रामा भएको बेलामा देखिन्छ । यस्ता सपनाहरु स्मरणमा लामो समय सम्म रहन सक्दैनन् किनकी त्यस्तो निन्द्राबाट ब्युँझनुपूर्ब अधिकांस सपना मस्तिष्कबाट मेटिसकेको हुन्छ ।

सपनाको धार्मिक, दार्शनिक र सैद्धान्तिक विश्लेषण:
हिन्दु धर्मका उपनिषद, पुराण, बेद आदि ग्रन्थहरुमा सपनाहरुको उत्पत्ती र तिनीहरुको प्रकृती तथा उदेश्य र अर्थको बारेमा प्रशस्तै उल्लेख गरेको पाइन्छ । हिन्दु धर्मका अनुसार मानीसरुको लागी सपनाको महत्वपूर्ण भुमिका छ, यो मान्यता अनुसार सपनाहरुले बिगतको र भाबी जीवनमा केहि अर्थपूर्ण सन्देश र संकेतहरु दिईरहेका हुन्छन् । साथै अन्य धर्म संकृतीहरुले पनि सपनाबारे यस्तै धारणाहरु राखेको पाइन्छ । हिन्दु लगायत सबै जसो धर्म तथा संकृतीहरुका मान्यता अनुसार राम्रा सपनाहरु भगवानले पठाएका शुभ संदेशहरु हुन भने नराम्रा सपनाहरु चाँही दैत्यहरुले दिएका चुनौंतीहरु हुन् ।

प्राग-ऐतिहासिक समय देखिनै हिन्दुहरु लगायत ग्रीक र रोमनहरूले सपनाहरूलाई भविष्यवाणीहरू हुन भन्ने कुरामा बिश्वाश गर्दथे । शताब्दीयौं देखि मानिसहरूले सपनाको अर्थलाई विचार गरेका छन् । प्रारम्भिक सभ्यताहरूमा मानिसहरूले सपनालाई हाम्रो पार्थिव संसार र देवताहरूको बीच एक माध्यमको रूपमा सोच्ने गर्दथे । अहिले भन्दा करिब ९३०० बर्ष अघी मर्हषि वाल्मिकी द्वारा लिखित रामायणमा र ५५०० बर्ष अघी वेदब्यास द्वारा रचित वेदहरुमा सपनाका प्रसंगहरु उल्लेख गरेको पाइन्छ भने ३००० बी.सी. अघीका ग्रीक र रोमन दर्शनशास्त्रहरुमा पनि सपनाहरुका बारेमा चर्चाहरु भएका पाइन्छन् ।

वर्षौं देखी मानीसहरुले सपनाको पछाडिको रहस्यलाई अर्थ लगाउन धेरै प्रयासहरु गरिरहेका छन् र त्यस का लागी असंख्य सिद्धान्तहरू प्रस्तुत गरिएका छन् । परापूर्ब कालदेखिनै धेरै चिन्तक र दार्शनिकहरुले सपनाको बारेमा आफ्ना तर्क, बिचार तथा दर्शनहरु प्रस्तुत गरेका पाईन्छन् । यस्ता तर्क र बिचार राख्नेहरुमा पूर्वीय तथा पश्क्षिमी दार्शनिकहरु पर्दछन् र उनीहरुको योगदान पनि सह्रानीय रहेको पाइन्छ ।

१९ औं सताब्दी को उत्तरार्ध तथा २० औं चर्चित मनोदशा बिशेषज्ञहरु सिग्मण्ड फ्रेड र कार्ल जङ्गले सपना देख्ने सबभन्दा प्रसिद्ध आधुनिक सिद्धान्तहरू प्रस्तुत गरेका छन् । जसमा फ्रेडले विश्वास गर्थेकी समाधान नभएका, दबीएका इच्छा तथा आकांक्षाहरु सपनामा देखिन्छन् र त्यसका उपायहरु प्रकट हुन्छन् । जब की जंगलाई विश्वास थियो कि सपनाहरुले सपना देख्ने ब्याक्त्तीको भावनात्मक वा धार्मिक समस्या र डरहरुको समाधान गर्ने उपायहरुको खुलासा गर्दछन् ।

१९ औं सताब्दी को उत्तरार्ध तथा २० औं सताब्दी सुरुवात तिरका महान मनोबिश्लेष्क सिग्मण्ड फ्रेड (१८५३-१९३९ सन्) सपनाको बारेमा उल्लेखनीय योगदान दिएका छन् । फ्राइडको सिद्धान्तका अनुसार सपनाहरुले प्रकट र अव्यक्त सामग्रीहरु (बिषयबस्तु र घटनाहरु) दुबैको स्पष्ट वा अस्पष्ट रूपमा वर्णन गर्दछन् । अव्यक्त सामग्री गहिरो बेहोश इच्छा वा कल्पनासँग सम्बन्धित छन् जबकि प्रकट सामग्री सतही र अर्थहीन हुन्छन् । मनोविश्लेषक फ्रेडको विश्वास हो पनि छ कि सपनाहरु मान्छेहरुकोको अचेत चाहाना, इच्छाहरुको अभिव्यक्ति गर्नको लागी वास्तविक जीवनमा स्वीकार्य भने छैनन् । सपनाको प्रकट सामग्रीहरु आफैमा परिपूर्ण र पर्याप्त भने हुदैनन्, तर अव्यक्त सामग्रीहरु भित्र लुकेको गहिरो अर्थ र उदेश्य हुन सक्छ ।

मनोविश्लेषक सिग्मण्ड फ्रेड पछी सपना को बारे धेरै बिश्लेषण गर्नेमा मनोचिकित्सक कार्ल जंग (१८७५-१९६१ सन्) पर्दछन् । मनोचिकित्सक जंगको सपना संबन्धी आधारभूत सिद्धान्त र विचार अनुसार सपनाहरु लुक्नु भन्दा बढी प्रकट हुन उद्दत हुन्छन् । जंग भन्दछन् सपनाहरु हाम्रो कल्पनाशक्तीको प्राकृतिक अभिव्यक्ति हुन् र तिनीहरुले हामीले बिर्सन वा फ्याँक्न सोचेको भन्दा सीधा भाषा प्रयोग गर्दछन्: जस्तो पौराणिक कथा, भूतप्रेत, अनौंठो दुनिया आदि । जंग विश्वास गर्दैन कि सपनाहरुले कार्य गर्नको लागि तिनीहरूको व्याख्या गर्न आवश्यक हुन्छ । बरु, उनले सुझाव दिएका छन की सपनाहरु हाम्रो चेतना र अचेतन जीवनहरुलाई एकीकृत गर्ने काम गरिरहेका हुन्छन्; उनले यसलाई अलग गर्ने प्रक्रिया भनेका छन् ।

धम्की अनुकरण सिद्धान्त – यस सिद्धान्त अनुसार सपनामा अक्सर कुनै न कुनै रुपले बारम्बार धम्कि र खतराहरु दोहोरिरहन्छन्, र तिनीहरुलाई सजिलै पिछा छुट्टाउन सकिदैन । त्यसैले ती सपनाहरुलाई एक पुरानो जैविक रक्षा संयन्त्रको रूपमा हेर्नु पर्छ, यसरी देखिएका सपनाहरुले संभावीत खतरा घटनाहरू बाट बच्न सक्ने उपायहरु बिकाश हुनसक्ने संभावना रहन्छ ।

सक्रियता संश्लेषण सिद्धान्त – यो सिद्धान्तका अनुसार सपनाको कुनै अर्थ हुँदैन । सपनाहरू त केवल मस्तिष्कमा हुने विद्युतीय आवेग हुन्, जसले हाम्रो सम्झना र बुझाई अनुरुपका मस्तिष्कमा उन्नत विचार र तस्बिरहरुको शृजना गर्दछन् । सिद्धान्त यो कुरा दाबा गर्दछ की मानिसहरु ब्यूँझिए पछी आफ्नो हिसाबले कथाहरु बनाउँदछन् र तिनीहरुको अर्थ बनाउने प्रयास गर्दछन् ।

लगातार सक्रिय सिद्धान्त – लगातार सक्रिय गर्ने सिद्धान्तका अनुसार मस्तिष्क लगातार सकृय रहिरहन्छ । निदाएर सपना देखेको बेलापनि मस्तिष्कको केही भाग सक्रिय भैरहेको हुन्छ र प्रक्रियात्मक स्मरणको प्रशोधनमा व्यस्त रहन्छ । यो सिद्धान्तको अनुसार सपना देख्नु भनेको मस्तिष्कको सक्रियता र संश्लेषणको परिणाम हो ।

सपनाको बिज्ञानलाई खोज र अनुसन्धान गर्न र यस भित्र अन्तर्निहित सत्य र रहस्य उजागर गर्न साथै सपनाको सामाग्रीहरुको वास्तविक जीवनमा अर्थ पत्तालगाउने उदेश्यले विगतमा धेरै जनाले कोशिस गरेका छन् र अहिले पनि गर्दै आईरहेकाछन् । त्यसै अनुसार सपनाको अर्थ र उद्देस्यलाई सुल्झाउन अनेकन सिद्दान्तहरु पनि प्रतिपादन भैरहेकाछन् । तर सबै बिज्ञहरुले सपनाको बारेमा अ-आफ्नो तर्कहरु अगा डी सारे पनि हाल सम्मपनि यसको रहस्य चाँही कसैले पनि सुल्झाउन सकेका छैनन् । तर सबै दर्शन र सिद्धान्तहरुमा एउटा समानता छ, त्यो के हो भने जुनसुकै सपनाहरु पनि मान्छेहरुको मनोदशा कै उपज हुन् ।

सपनाका डरलग्दा पक्षहरु र समाधानका उपायहरु:
सपनाका धेरै राम्रा पंक्षहरु हुंदा हुंदै पनि कुनै विशेष अबस्थाहरुमा ज्यादै हानीकारक र घातक पनि हुन सक्दछन् । बारम्बार डरलग्दा र नराम्रा सपनाहरु देख्नाले मान्छेहरुको मानसिक अबस्था बिग्रने, त्यता सपनाहरुका कारणले राम्रो संग सुत्न नसक्दा शरिरीक अबस्था कमजोर हुने आदि प्रशस्त घटनाहरु सुन्नमा आउदछन् । यस्तो स्थिती लामो समय सम्म चलिरहदा मानसिक संन्तुलन बिग्रन सक्ने वा ती मान्छेहरुको मृत्यु समेत हुन सक्दछ । सपनाहरु कुनै बेला हाम्रो लागी ज्यानै लिने भयानक खतरा पनि साबीत हुन सक्दछन् । उच्च र न्युन रक्तचाप भएको मान्छेहरुको लागी कुनै कुनै बेला सपना ज्यानमारा साबीत हुन सक्दछ । अनुसंधानबाट यो तथ्य देखिएको छ की केही हप्ता भित्रका नवजात शिशुहरुको पनि निन्द्रामा सपना देख्दा देख्दै मृत्यु हुने गरेको छ ।

यदाकदा उच्च र न्युन रक्तचाप भएको केही युवा र बयश्क मान्छेहरुको निदाएको बेलामा मृत्यु भएको पाईएको छ । जसमा प्राय: उच्च रक्तचाप भएका मान्छेहरु रेम् (REM) अबस्थाको निन्द्राको बेलामा र न्युन रक्तचाप भएका मान्छेहरु गैर-रेम् (Non-REM) अबस्थाको निन्द्राको बेलामा मृत्यु भएको तथ्यहरु पाईएको छन् । ती दुबै अबस्थाहरुमा एउटा समानता छ त्यो हो मस्तिष्कमा रगतको आपुर्ति बिस्तारै कमी हुनु । शरीर बिज्ञानका अनुसार मान्छेको मस्तिष्कमा रगतको आपूर्तिमा कमी हुंदा उ मुर्छित हुन्छ, र मस्तिष्कमा ३ मिनेट रगतको आपुर्ति नभएको अबस्थामा मान्छेको मृत्यु समेत हुन्छ ।

न्युन रक्तचाप भएका मान्छेहरु जब निन्द्रामा सपना देखिरहेका हुन्छन्, यदी कुनै कारणले अचानक रक्तचाप घट्न गएमा शरीरमा रगतको संचार कम हुदै हुन जान्छ र बिस्तारै मस्तिष्कमा रगत कमी हुँदा मुर्छित हुन्छन् । यसरी मस्तिष्कमा रगत कमी हुंदा सपनामा अन्योलको स्थिती पैदा हुन्छ, जस्को कारणले उनीहरुलाई एक प्रकारको आनन्दको अनूभुती गराउदछ । यसरी लामो समयसम्म पनि शरीरमा रगतको संचार कमी भईरहेमा शरीरका संपूर्ण आन्तरिक स्वंचलित प्रणालीहरु शिथिल हुदै जान्छन् भने मस्तिष्कमा समेत रगतको अप्रयाप्तता भई ती मान्छेहरुको मृत्यु पनि सक्दछ ।

त्यस्तै प्रकारले उच्च रक्तचाप भएका मान्छेहरु जब निन्द्रामा सपना देखिरहेका हुन्छन्, यदी कुनै कारणले अचानक रक्तचाप बढ्न गएमा मुटुमा रगतको संचार अबरुद्द हुन जान्छ र बिस्तारै मस्तिष्कमा रगत कमी हुँदा मुर्छित हुन्छन् । यसरी मस्तिष्कमा रगत कमी हुंदा सपनामा अन्योलको स्थिती पैदा हुन्छ, जस्को कारणले उनीहरुलाई एक प्रकारको आनन्दको अनूभुती गराउदछ । र केही मिनेट भित्रमा शरीरको रगत जम्दछ, तब मस्तिष्कमा रगतको आपुर्ति पूर्णरुपले बन्द भई ती मान्छेहरुको मृत्यु हुन्छ ।

सुत्नु अघी धेरै मात्रामा मदीरा सेवन गर्नेहरुको यस्तै कारणले पनि मृत्यु हुन सक्दछ, अत: मदीरा सेवन गर्दै नगर्नु वा कम भन्दा कम सेवन गर्नु नै उत्तम हो । तर त्यसरी अत्याधिक मदीरा सेवन गरेको मान्छेहरुले आराम भने गर्ने, तर मदीरा सेवन पश्चात ३/४ घण्टा पछी मात्रै सुतेको राम्रो हो । साथै पटक पटक गरेर १.५-२.0 लिटर सम्म हल्का गरम (मनतातो) पानी वा पातलो जुस वा नुन कम भएको सुप पिउनु उत्तम हुन्छ र यस्तो अबस्थामा एक्लै सुत्नु हुदैन । त्यस्तै गरेर मुटु वा दुबै प्रकारका रक्तचापका बिमारी मान्छेहरुले सुत्नु अघी एक मद्यम गिलास हल्का गरम (मनतातो) पानी पिउनु र बिचमा निन्द्रा खुलेमा आधा गिलास पानी पिउनाले जीवन रक्षा को संभावना प्रवल हुन्छ ।

साथै, विश्वमा नवजात शिशुहरुको मृत्यु संबन्धी अध्ययन अनुसंन्धानले जन्मिएको केही हप्ता भित्रका शिशुहरु सपनामा आफ्नै आमाको गर्भ भित्र पहिलेकै जस्तो अबस्थामा भएको महशुस गर्दछन्, अनि सास फेर्न छोड्छन् वा बिर्सिन्छन् । र सपनामै बेहोस हुदै तिनीहरुको मृत्यु समेत हुने गर्दछ । विश्वमा नवजात शिशुहरुको मृत्यु संबन्धी अध्ययनको तथ्यांक अनुसार १०% सम्म शिशुहरुको मृत्यु यसरी मृत्यु हुने गरेको अनुमान छ ।

यस्तो दुर्घटनाबाट बच्न जन्मेको ६ हप्ता भित्रका नवजात शिशुलाई न्यानो र हावाको आवत-जावतको लागी राम्रो ब्यबस्था भएको कोठामा (यदि आगो बालेको वा तेलको हिटर प्रयोग गरिएको छ भने त झनै हावा आवत-जावतको हुन जरुरी र अनिबार्य हुन्छ) राख्ने, दिनको एक पटक मुलायम कपडा लाई मनतातो पानिमा चोबी (डुबाई) शिशुको जिउ पुछ्ने र अनुहारको भाग पुरै खुल्ला राख्ने, उज्यालो प्रकाश दिने बत्ति बाली राख्ने (अति जरुरी-कोठा अद्याँरो पटक्कै हुनु हुदैन) र खुट्टामा ठिक्क न्यानो मोजा लगाई दिने तर खुट्टाको तल्लो भाग पुरै नछोप्ने, हात र खुट्टाहरु धोरै चलाउन सक्ने गरी शरीर न्यानो बनाई बेर्ने । त्यसो गर्दा नवजात शिशुलाइ आफु पहिले जस्तै गर्भको थैलो भित्र नभई बाहिरी दुंनियामा भएको आभास हुन्छ र संभावित दुर्घटनाबाट सुरक्षित हुन सक्दछ ।

र अन्त्यमा, मान्छेहरुले सपना सधैजसो र निरन्तर देखिरहनु; तथापी त्यसको कुनै खास उद्देश्य र अर्थ नहुनु एउटा पाटो हो । तर मेरो बिचारमा सपना प्रकृतीले मान्छेहरुलाई दिएको त्यो सुलभ साधन हो, जसबाट उनीहरु प्रशस्तै मनोरंजन लीन सक्छन् । एउटा राम्रो सपनाले लामो समय सम्म मनमा प्रफुल्लता दिन सक्दछ, दिमाग चंगा हुन्छ भने दिनचर्यामा उर्जा थपिन्छ । मनमा अन्धबिश्वास पालेर सपनाको मनगणन्ते अर्थ लगाउनाले चाँही, जीवनमा तनाब उत्पन्न हुन सक्छ, र त्यस बाट जोगिन भने जरुरी हुन्छ ।

तपाईहरु कसैलाई वा तपाईहरुका आफ्ना आफन्तहरुलाई (१४ बर्ष भन्दा माथीकाहरुको लागी मात्र) सपना संबन्धी समस्या वा सपनाको कारणले निन्द्रामा समस्या भएमा नि:शुल्क परामर्श लेखकलाई ९८५१०६९६६१ वा ९८०१०६९६६१ वा rrpb2001@gmail.com मा ईमेल पनि गर्न सक्नु हुनेछ ।

यस आलेखका प्रस्तोता (लेखक) राम राज प्रताप भण्डारी दिगो बिकाश तथा वातवरणविद्व् र मानवशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal