भ्रमित सरकार,दमित जनता !!

भ्रमित सरकार,दमित जनता !!

राजेन्द्र बांनिया
म अचम्भित छु, सरकार एक पछि अर्को लकडाउनको समय थपेर बहादुरी देखाइरहेको छ ।

सरकारलाई लागिरहेको छ- हामीले लकडाउन गरेर जनताको जीवन सुरक्षित गरेका छौँ । सरकारले भनेको मानेर जनता लकडाउनमा बसेका हुन् भन्ने भ्रमबाट सरकारका मान्छे मुक्त हुँदा हुन्छ । यो सुचनाको खुला युग हो । हरेक जनताको हातमा सुचना छ,अनि उनीहरु सुशिक्षित भैरहेका छन् । जसले बुझेका छैनन् ,उनीहरुलाई परिवारका पछिल्ला पिँढीले बुझाइरहेका छन् । हरेक दुर्गम बस्तीका नागरिक राज्यले बेरोजगार बनाएका कारण बिश्वका विभिन्न कुनामा छन् ,उनीहरुबाट बिप्रेशण मात्र आइरहेको छैन, सुचना र ज्ञान पनि आइरहेको छ ।

तसर्थ,नागरिक कोभिड्बाट बच्ने उपायसङ्ग अबगत छन् ।यसैले उनीहरु घरबाट निस्केका छैनन् ,लकडाउन मानिरहेका छन् । तशर्थ,सरकार हामीले जति दिन फत्वा जारी गरे पनि जनता घरमा बस्ने छन् र हामी कोरोना छाडेर कुर्सीको म्युजिकल चेयर खेलौँ भनेर साँढे जुधाउने तारुकाको जात्रामा नलाग्दा बेश हुन्छ ।

लकडाउन अर्काबाट सापट लिएको जडौरी हो । बिश्वले नै नब्बे बर्ष अघिका अग्रजसङ्ग लिएको उपाय हो अनि हामीले भारतबाट । राजनिती सापट लिँदा लाजनिती बोनस लिन बिर्सेको राजनीतिक सत्ताले लकडाउनपछी जनताप्रतिको जिम्मेवारी बिर्सेको छ । भारतमा मोदी सत्ताले लकडाउनको अबधी कति थप्छ सोधेर यहाँ लकडाउन निर्णय गर्न आकाशबाणी कुर्नेले त्यहाँको सरकारले जनतालाई दिएको,घोषणा गरेको राहत कार्यक्रम पनि सोधेको भए के फरक पर्थ्यो ? कि तपाईहरुको त राजनितीमा पनि तलब र छ्याकन पनि आउँछ भन्छन् (म अनभिज्ञ छु,पुष्टि नभएको आरोप लगाउन चाहन्न) ,जनता गए भाडमा भनेको त होइन होला । जनतालाई पसल बन्द भए भैगोस्,हामीलाई सुपरमार्केट खुलेकै छ भनेको हैन होला ?

हामीले अमेरिकी जनतालाई जस्तो टृलियन डलरको राहत मागेको होइन नि,भारतीय जनतालाई जस्तो निःशुल्क ग्याँस मागेको होइन नि , कोरियाली जनताले जस्तो लकडाउनमा भोट हालेर यहाँको सत्ता उलट्पुलट गर्न खोजेको पनि होइन नि । कम्तिमा पनि भोका जनताको चीत्कार त सुन- अर्को चुनाबसम्म बाँचेनन् भने कसले भोट हाल्दिन्छ ?

सडकमा हिँडेका मजदुर तिम्रा शत्रु होइनन्, घर्बेटीले भाडा मागेर दिक्क बनाएसि कहाँ जाउन त? त्यहाँ पनि तिम्रा पुलिसले डोरी टाँगेर सडकको पासोमा तमासा देखाउँछन् । (महलमा सडकको तस्बिर पुग्दैन कि भनेर ख्वामितमा जाहेरी गरेको ) कम्तिमा नि अर्थमन्त्री बोल्नुस् । कोहि बोलेर रोक्नै मुस्किल,कोहि नबोलेर बोलाउनै मुस्किल । आज डेढ महिना घरभित्र राख्दा हुने खाने जनताको पनि चुलो निभ्ने बेला भो भन्ने किन ख्याल नभाको । बाँच्दा ओखती दिन्न मरेसी किरिया खर्च दिम्ला भन्ने बिबेकहीन राज्य हामीले बनाएकै हैन ।

राम्रो जसबाट सिक्दा पनि हुन्छ, न्युजिल्यान्डमा सरकार प्रमुख सानो छोरी छेउमा सुताएर जनतासङ्ग दैनिक सम्बाद गर्छिन्, भारतमा मोदी लकडाउनलाई जनताको लकडाउन भन्छन् बेलायतमा जोन्सन कोभिडबाट उठेर आएर जनतामा इच्छाशक्तीले रोग जितिन्छ भनेर जनतामा उत्साह भर्छन् । हाम्रोमा एउटा कर्मचारीलाई जिम्मा लगाएर संक्रमितको रन जोड्ने काम भैरहेको छ । सरकारका मान्छे हाम्रा लागि चलचित्रका नायककनायिका या पशुपतिनाथ भित्रका महादेव होइनन् । उनको अनुहार हेर्न गुहार मागेको भ्रमबाट मुक्त हुनुस्,खाली औपचारिक राज्यको उपस्थिति खोजेको । नेताको अनुहार हेर्न र एक लवज सुन्न स्कुलमा खाजा खाना दिएको पैसा कटाएर छोटे नेतालाई दिएकोमा अहिले पनि पछुतो छ,त्यसैले अनुहार हेर्ने माग गरेको होइन । गाईजात्राको प्रहशन निःशुल्क हेर्न सुन्न खोजेको पनि होइन । तर कम्तिमा पनि लकडाउन थप्दा प्रधानमन्त्री अनि हरेक दिन सरकारका प्रबक्ताले जनतालाई जानकारी गराउन कि घरमा आएका पाहुनाले डिस्ट्रब गर्छन् ?

अब बिदेशमा रहेका फर्कनेछन्, त्यसमा ध्यान नदिँदा भयो किनभने त्यतिबेलासम्मा सत्तामा बस्नै देलान् जस्तो छैन । बिप्रेशण घट्ने र पर्यटन ध्वस्त हुने निश्चित छ- यसमा पनि चिन्ता भएन, किनकी बजेट ल्याउने जेठ १५ गतेसम्मको नि भर भएन । कृषि हो, भगवान इन्द्रले पानी पारे भने सुध्रिन्छ- नत्र भारतबाट खाध्य ल्याउने हो,कालोबजारीको सत्ता आइहाल्छ । फेरि उनीहरुले पनि त चुनाबमा लगानी गरेकै छन् नि ।

यस्तोबेला सत्ताको छिनाझपडी गरेर रमिता देखाउनेहरुसङ्ग पनि कम्तिमा नि जनताका केही अपेक्षा छन् । पूरा हुन्नन् भन्ने थाहा पाउँदा पनि मरुभूमिमा भएसी पानी पनि त्यतै खोज्न पर्दोरहेछ ।

कम्तिमा नि संक्रमण कम देखिएका छेत्रका जनतालाई लकडाउन खुकुलो गर्न ढुकुटी फोर्नु पर्दैन । बैक, अस्पताल, साना पसल, निजि सवारी साधन खोल्दा सरकारको इज्जत जाँदैन । बिदेशमा रहेका, आफ्नै खर्चमा जहाज चार्टर गरेर आउँछौ र आफ्नै खर्चमा सरकारले तोकेको या आफै होटेलमा क्वारेन्टाइनमा बस्छौ भन्ने नागरिकसङ्ग किन तर्सेको ? बरु जहाज चार्टर गर्दा कसलाई होला कमिसन पनि आउँछ रे नि त ।

तसर्थ, सरकार छिटो सोच,लकडाउन अन्तिम अस्त्र होइन, बिधीमात्र हो । सामाजिक दुरी कायम गरेर जीवन सहज गर्न सकिन्छ । भिड घटाएर जीवन सुचारू गर्न सकिन्छ । कि फेरि लकडाउनमै अर्को अध्यादेश ल्याउन त छैन होला नि । कसैको दल फुटाल्ने योजना बन्दै त छैन होला नि ? गल्ती गर्न पाइन्छ, दोहोर्‍याउन पाइन्न, गुनासो त्यत्ती हो । तसर्थ, जति दिन सत्तामा बसेपनि जनतालाई जबर्जस्ति थुनेर होइन साथ लिएर कोभिड्सङ्ग लडौ । तिम्रो शैलीले त न तिमी पार्टीसङगका शत्रुसङ्ग लड्न सक्छौ, न हामी भोका सङ्ग ।
आजसम्म हिडेर बर्दीया जानेले बोलेनन् । उदयपुर पुग्नेले उस् सम्म गरेनन् अनि भोकै तीन बच्चा बोकेर देउराली काटेकी तामाङ्ग्नी दिदी बोलिनन् । के को बिरोध भन्ने लाग्ला? यस्तो भ्रमबाट मुक्त हुँदा हुन्छ । भोकसङ्ग लड्दा फुर्सद नपाएकाले उनीहरु चुप छन् । उनीहरुको आवाजमा स्वर भर्ने मध्यम बर्गले हो । आजसम्म स्वार्थी मध्यम बर्गको हाँडीमा चामल थियो, बेफुर्सद जीवनमा लकडाउन घर बस्ने बहाना भएको थियो । अब त धैर्यता पनि टुट्दैछ अनि हाँडी पनि खाली । त्यस्तो बेला सबैले एकस्वरमा लकडाउन तोड्न पनि सक्छन् । त्यो अशहज अबस्था आउनु अघि लकडाउनको बिकल्प खोज्न जरुरी छ अनि जनताको करमा हाम्रो मात्र होइन उनीहरुको पनि हक छ भन्ने वास्तविकता छिटो थाहा पाएर जनतालाई पनि एक टुक्रो रोटी दिउँ भन्दा कसो होला ??जनताले नै तिरस्कार गरेर मिल्काएकासङ्ग डराउँछौ तिमी जनतासङ्गै चाहिँ किन डर नलागेको ??

राजेन्द्र बानियाँ (संचारकर्मि) काे फेसबुकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal