हार्दिक श्रद्धाञ्जली “प्रजातन्त्र नेपाल रेडियो” स्थापना भन्दा अघिकी गायिकामा !!

हार्दिक श्रद्धाञ्जली “प्रजातन्त्र नेपाल रेडियो” स्थापना भन्दा अघिकी गायिकामा !!

– प्रा. डा. बेनी जंगम रावल

– प्रा. डा. बेनी जंगम रावल

रानुदेवी अधिकारी १९९०–२०७७ बैसाख
रानुदेवीले २००६ सालमा ‘नेपाली अघि बढ हातमा क्रान्ति झण्डा ली’ बोलको गीत नेपाल प्रजातन्त्र रेडियोबाट पहिलो पल्ट गाएर औपचारिक गायन यात्रा सुरूवात गरेकी हुन् ।

त्यस समयमा उनी सँगसँगै चर्चित अभिनेत्री शान्ति मास्के पनि थिइन् जो पछिल्ला समयमा फिल्मी क्षेत्रतिर निकै चर्चित भइन् । तारिणीप्रसाद कोइरालाले झङ्कार पत्रिकामा उल्लेख गरे अनुसार शान्ति मास्के र रानुदेवी दुबैले सँगसँगै ऐतिहासिक क्रान्तिकारी गीत ‘नेपाली अघि बढ हातमा क्रान्ति झण्डा ली’ गाएको भन्ने स्पष्ट हुन्छ । तर शान्ति मास्केले कुनै गीतहरू रेकर्ड गरेको भने देखिँदैन । यसरी राणा शाषण विरूद्ध विजय गान गर्न सक्रिय भूमिका खेलेकाले उनीहरूलाई क्रान्तिकारी गायिका भनिएको हो । आन्दोलनको सिलसिलामा विराटनगर रेडियो स्टेशनबाट राणा शाषण विरोधमा क्रान्तिलाई सफल पार्न क्रान्तिकारी शब्द, सङ्गीत र स्वरका गीतहरू बजाइने गरिन्थ्यो ।
रानुदेवीको जन्म बिरगंजमा भएको थियो । तर लालन पालन र बसाई, प्राथमिक शिक्षा बनारसमा भएको थियो । बनारस बसोबास क्रममा नै उनी गीत गाउँछिन भन्ने बारे नेपाल रेडियोका संस्थापक तारिणीप्रसाद कोइरालालाई ज्ञात थियो । यसप्रकार तारिणीप्रसाद कोइरालाले रानुदेवी (पौडेल) अधिकारीलाई रेडियो नेपालको स्थापना अघि नै विराटनगर रेडियो स्टेसनबाट क्रान्तिकारी गीतहरू गाउन लगाइएको थियो । ती :


१. नेपाली अघि बढ हातमा क्रान्ति झण्डा ली
हे नेपाली आमा बाबु दिदी बैनी दाजु भाई पछि
स्वर : रानुदेवी अधिकारी, शान्ती मास्के र साथीहरू)
रानुदेवी अधिकारी रेडियो नेपालको स्थापना पूर्व नै नेपाली गीत, सङ्गीतमा क्रियाशील थिइन् । त्यस समयमा उनलाई सक्रिय क्रान्तिकारी गायिकाको रूपमा लिइन्थ्यो । त्यसपछि धेरै क्रान्तिकारी गायक गायिकाहरू जन्म भयो त्यसको श्रय उनलाई छ । उनलाई गायनको शौक सुरूबाटै थियो । उनको बिहे, वि.सं २००६ साल फागुनमा भएको थियो । त्यसबेला उनी १६ वर्षकी थिइन् । औपचारिक रूपमा सङ्गीत शिक्षा नलिए पनि, औपचारिक पठन पाठनको क्रममा आइ.ए, बी.एमा एक विषय सङ्गीत लिएर अध्ययन गरेको कुरा उनको अन्तर्वार्ताबाट जानकारी हुन आउँछ । उपरोक्त माहौलमा विवाह पश्चात पनि उनले अन्य डिग्रीका साथ इतिहासमा एम.ए डिग्री प्राप्त गरेकी थिइन् । त्यस पछि उनले स्कुलमा पढाउने कार्य गरेको देखिन्छ । उनका लागि पारिवारिक सद्भाव सुभेच्छा हुँदाहुँदै पनि घर र रेडियो स्टेशनको दूरीका कारण सङ्गीत क्षेत्रसँग टाढिएको पाइन्छ ।
विराटनगर रेडियो स्टेसनबाट क्रान्तिकारी गीतहरू गाएर जनतालाई विउँझाउने क्रममा प्रायः राणाविरोधी वीर रसप्रधान गीतहरू नै गाएका छन् । उनीद्वारा गाइएका र रेकर्ड गरिएका गीतहरू मध्ये केही गीत :

२. आज देशको क्रान्ति युद्धमा, हाम्रो एक पुकारा होस्
लड्दा लड्दै मरे मरौंला, यो एउटा नै नारा होस्
रानुदेवीले प्रजातन्त्र नेपाल रेडियो मार्फत क्रान्तिलाई हाँक्न गायनको माध्यमबाट योगदान दिएको थियो । ती केही पूर्णतः क्रान्तिकारी र केही आधुनिक गीत पनि थिए । जस्तो :

३. चरी भुर्र उडी घरमा मेरो जा
घरमा मेरो जा लिएर सन्देशा
उनीद्वारा गाइएका र रेकर्ड गरिएका गीतका रचनाहरू प्रायः तारिणीप्रसाद कोइरालाकै छन् । उनले रेडियो नेपालमा ६ वटा गीतहरू रेकर्ड गरेका थिए । ती मध्ये कलकत्तामा गई तीनवटा गीत मात्र ग्रामाफोन रेकर्ड गरेका छन् । त्यसमध्ये एउटा गीत यस्तो छ :

४. तिमी दूरदेशका परदेशी तिमी जाउ, तिमी जाउ
तिम्रो आँखाको आँसुले गहमा आँसु भरिभरि आयो
मुटुमा गाँठो परिपरि आयो, बिन्ति नरोई जाउ
परदेशी परदेशी हे दूरदेशका परदेशी तिमी जाउ
“रेडियो नेपालको आधिकारिक जन्ममिति २० चैत २००७ बाट ‘प्रजातन्त्र नेपाल रेडियो’ का नाममा भएको थियो । जुन एक किसिमले २००७ सालको तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा सञ्चालन भएको रेडिया प्रसारणको निरन्तरता थियो । पछि नाम परिवर्तन हुँदै ‘नेपाल रेडियो’ हुँदै रेडियो नेपाल भयो।” यस हिसाबले उनलाई नेपाली काँग्रेस र २००७ सालको क्रान्तिमा समर्पित ‘प्रजातन्त्र नेपाल रेडियो‘ स्थापना भन्दा अघिका गायिका मानिन्छ ।

– प्रा. डा. बेनी जंगम रावल (संंगित अन्वेेषक)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal