दासत्वबाट प्रारम्भ गरेको राजनैतिक जिवनले दासनै जन्माउने हो

दासत्वबाट प्रारम्भ गरेको राजनैतिक जिवनले दासनै जन्माउने हो

मच्छिन्द्र लामा

प्रिय साथि
जयनेपाल

यहाँ सम्पुर्ण परिवारलाई पत्र लेख्दाको समयसम्म भगवानको कृपाले कुशलै छ तहाँ कस्तो छ। बिशेष नविन समाचार त केही छैन तपाई सात समुन्द्र पारी बसेर नेपाल र नेपालीको उन्नति, प्रगती र समसामयिक राजनीतिको बिषयमा पत्र मार्फत गर्नु भयको चिन्ताको बिषयमा दुई चार शब्द कोर्ने प्रयत्न गरेको छु।

पुरानो ईतिहासको साक्षि त तपाई स्वयं हुनुहुन्छ। विशेश्वर प्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, सादगि नेता मनोमोहन अधिकारी, युग नायक गिरिजाप्रसाद कोइराला, जननेता मदन भण्डारी, शुसिल कोइराला लगायतको नेताहरूले नेपाली र नेपाल आमालाई सिङ्गो जिवन सुम्पेर प्राप्त उपलब्धिहरू संस्थागत हुनसकेको छैन, हुने सम्भावना पनि छैन। शोषित पिडित वर्गको उत्थानको मुद्दा बोकेर १० औं बर्ष भुमिगत भएकाहरू वर्ग विभाजन गर्दै शोषित पीडित वर्गको चरम शोषन गर्दैछन्, युद्ध मोर्चाको अग्र पंक्तिमा रहेका हरू आज भोकभोकै छन्, घाईते नौ जवानहरू कोही विस्तारामा लम्पसार परिरहेका छन् कोही विलौना गर्दै दुई छाक खोले पियर प्राण बचाई रहेका छन्। ती सबै दुःखका दिनहरू शासक वर्गले भुलिसकेका छन्। आज समाज वर्ग बिभाजनको चरम चपेटामा परिरहेको छ । धनि र गरिवको अन्तर हरू दिनप्रतिदिन झाँगिदै गैरहेको छ । नव पुंजीवादि सामान्तवादहरूको जन्म भैरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने बिषय दुरको बिषय भयको छ। शासकहरू देश र जनताको चिन्तामा भन्दा आफ्नै शासनकाल लम्ब्याउन कसरत गरिरहेका देखिन्छ भने सत्ताधारी भित्रका केही झुण्ड दक्षिण संग लम्पसार परेर अँध्यारो कोठामा आफ्नै स्वार्थको लागि तानाबाना बुनिरहेको देखिन्छ। नेपाल आमाको अस्मिता माथि धावा बोल्ने हरूका अगाडि आत्मसमर्पण गरिरहेका छन्। अब त उत्तरलेपनि कान ठाडो पारिसकेको छ। स्वाभिमानको भाषण गर्नेहरूको कम्मर मुनिको बस्त्र नै छैन। यो भन्दा धेरै के लेखौं प्रिय मित्र।

राजनीति दलको कुरा झनै दर्दनाक छ। हिजो परिवर्तनको लागि लड्नेहरू आज सडकको पेटीमा नाङ्लो पसल थापेर जनतन जिविको पार्जन गर्दैछन्। कालो पाईन्टमा सेतो धागोले चार ठाउँमा आफैले टालटुल गरेर लगाएको पाईन्टमा उहाँहरूको दैनिकी वितिरहेको छ । यिनै परिवर्तन लागि लड्ने हरूलाई पक्राउ पुर्जी जारी गर्ने या गर्न लगाउनेहरु आजपनि विभिन्न तहमा शासन गरिरहेका छन् । तिनिहरू बाट परिवर्तनको परिकल्पना गर्नु केवल मृगतृष्णा मात्र हुनेछ भन्ने बिषय प्रमाणित भैसकेको छ।

आज हरेक राजनैतिक दल ढोके,बैठके, हुक्के, चाकडीवाद, धुपौरे म र भजनमण्डली बाट संचालित छ। दासत्वबाट प्रारम्भ गरेको राजनैतिक जिवनले दासनै जन्माउने हो । उ कहिले पनि दासत्वबाट मुक्त हुन सक्दैन। उसको काम हरेक दिन नेताको घर दैलो चाहार्ने, नेताहरूको चाकडी र चाप्लुसी गर्ने, नेताले सेतो लाई कालो भनेमा कालोनै नै भन्ने र पार्टीको भन्दा नेताको बचाउ गर्दै हिड्ने हो। उ जिवनभर त्यो मनोविज्ञान बाट मुक्त हुन सक्दैन र उसले पनि जिवनमा त्यहि लागु गर्ने हो । सामान्य जीवनयापन गर्न धौ हुनेहरू यस्तै गरेर केहि समयमा नै आलिसाहन महल निर्माण गर्न सफल भयका छन्। राजनीतिलाई व्यबसाय बनाएका छन्।

राजनीतिक दलको आफ्नो विधि,विधान,सिद्धान्त र कार्यदिशा छ । तर ति सबै देखाउने दस्तावेज मात्र बनेको छ । यि सबै २०% लागु गरेमात्र आसा गर्न सकिन्थ्यो होला । यहाँ त लागुको कुरै छाडौं उलंघन गर्नेको बाहुल्यता छ । विधिपक्षमा बोल्दा कार्वाहीको भागिदार हुनु पर्छ।

अत: प्रिय मित्र मेरो यो देशको समृद्धिको चाहान अधुरै रहने भो। बैदेशिक हस्तक्षेप मुक्त देशको मेरो परिकल्पना सपना साबित भयो । निरासाको कुरा गर्यो नभन्नु। आजको नेपालको चित्रण गरेको हुँ। अन्त्यमा म भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु राजनितिक दल ढोके,बैठके, हुक्के, चाकडीवाद, धुपौरे म र भजनमण्डली बाट मुक्त होस्, विधि,विधान, सिद्धान्त र कार्यदिशा अनरूप पार्टी संचालन भई मेरो नेपाल आमा समृद्धि तर्फ अगाडि बढोस्। नेपाल आमाको जय होस् ।
जयनेपाल

उहि तपाईंको प्रिय मित्र
संजिव

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal