युवा, अवसर र चुनौती

युवा, अवसर र चुनौती

प्रविण सापकाेटा

आफ्नो र देशको भविष्यबारे युवा पुस्तामा उमङ्गयुक्त परिकल्पना छ तर यसलाई असर पार्ने वाह्य जगतको विकासक्रम, यसले प्रस्तुत गरिहेको अवसर र चुनौतीबारे जानिफकार रहेको युवा पुस्ताको तत्परताले नेपाल दुर्गामी महत्वको सारयुक्त सङ्क्रमण कालमा रहेको बुझिन्छ | हो, ‘भविष्य’ नेपालको संघारमा उभिएको छ तर कसले, कसका लागि, कहिले,भविष्यलाई देशमा भित्र्याउने ? भन्ने प्रश्न आज उत्तिकै समस्यामा छ ।

नेपालको भविष्य युवा पुस्ताको हात समातेर वर्तमान बन्ने क्रममा छ | योग्यता र प्रतिभालाई निरुत्साहित तथा अनुभवलाई अपमान गर्ने दोषयुक्त मनासिकताबाट ग्रस्त वर्तमान नेतृत्वको हातबाट देशको अभिभारा स्थानान्तरण हुन थालेको छ ।

आ.व. २०७५/०७६ मा ७८३ नेपाली युवाले विदेशमा ज्यान गुमाएको सार्वजनिक तथ्याङ्क हामि माझ अझै पनि छ | २०७५/०७६ मा ५ लाख ८ हजार विदेशिएको गत आ.व. मा भने २०७४/०७५ मा ६ लाख १७ हजार चारसय सत्र विदेशिएको देखिन्छ | ३० लाखभन्दा बढी नेपाली युवा सस्तोमा श्रम बेच्न विदेशी भूमिमा छन्। अघिल्लो पुस्ताका राजनीतिक नेताहरूले गरेको व्यवस्थापकीय कमजोरी, आफ्नै पार्टीभित्र र बाहिरको खिचातानी, ससानो कुरामा गरेको लोभ, सबै क्षेत्रमा भएको अनावश्यक राजनीतीकरण, व्याप्त भ्रष्टाचार, क्षणिक फाइदामा बिक्ने प्रवृत्ति र दूरदृष्टिको अभावले यति सुन्दर देश अविकसित र गरिब देशको सूचीमा छ।

हाल नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) रहेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औं नम्बरमा रहेको¸ १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । आज बेरोजगारीको कारण युवाहरु प्रतिवर्ष ५¸३८¸००० रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्द दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् ।

कोरोना भाइरसको महामारीबाट विश्वमा परेको प्रभावले हामीमाझ एक सारभूत प्रश्न खडा गरिदिएको छ। देश कोभिड-१९ को त्रासमा छ। जनता त्रशित छन् | यसै क्रममा विदेशिएका युवा आफ्नो देश फर्कन चाहन्छन |
यो महामारीले विश्व आक्रान्त छ र विश्वभर छरिएर बसेका नेपाली युवा आज पुकारिरहेका छन् | आफ्नो जन्मभुमि सम्झिरहेका छन् | आफ्नो परिवारसंग वेदना पोखिरहेका छन् | आम्दानिका लागि विदेशिएका ति युवा आज आफ्नो गाँस टार्न नसकेर भक्कानिएका छन् | देशको माटो सम्झिरहेका छन् | आफ्नो देश प्रति अपार माया हुदा पनि विदेशिन बाध्य भएका लाखौँ युवा आज आफ्नो अभिभावक सरकारलाई पुकार्न सक्ने माध्यम खोजिरहेका छन् | दलदल बाट निस्कन हात फैलाईरहेका युवा आफ्नो देश फर्की केहि गर्न चाहन्छन |

विदेशिएका युवा मात्र नभई स्वदेशमै रहिरहेका युवा को समस्या पनि उत्तिकै विकराल छ | वेरोजगारले आक्रान्त स्वदेशी युवा कोरोना महामारीले त झन् त्रशित भएका छन् | युवा को भविष्य नै डामाडोल हुने अवस्था आएको छ | “शिक्षामा रुपान्तरण, उद्धमशिलता र नवप्रवर्तन” को नारा आज कोरोना कहरले लुकाईदिएको छ | युवा सम्बन्धि संविधानमा भएको व्यवस्था ऐन, नीति नियम कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुनु नै आजको जड समस्या रहेको देखिन्छ ।

एउटा काम गर्ने मनस्थिति भएको युवाले काम गर्छु भन्दा पनि कामको अवसर छैन | आफ्नो दैनिकी हलो, कोदालो हातमा लिएर फोका उठाएर काम गर्दै शिक्षा हासिल गरेकाले आफ्नो प्रमाणपत्र जलाउन वाध्य भएका छन् । यो महामारीले भोलिका दिनमा येस्तै समस्या तिव्र रुपमा बढ्ने प्रवल सम्भावना रहेको छ |

एक अध्ययन अनुसार राजनैतिक दलको भातृ संस्थाका नाममा राजनीतिको ठुलो उपलब्धिको भोकमा हिडेका करिब १० लाख अगुवा युवाहरुलाई समयमा नै ब्यबस्थापन गर्न सकिएन भने मुलुकले फेरी अर्को आन्दोलन को ज्वारभाटा सहनुपर्ने हुन्छ | दलका नेताहरुका असली सहयोगी भएर घर परिवारको पर्वाह नगरी नेताहरुलाई खुशी तुल्याउँदै हिंडेका युवाहरु आजका प्रमुख चुनौती हुन् | राजनीति थोरै बुझेका, समाजको ब्यबस्थामा थोरै घुलमिल गरेका र परिवर्तनको दिपशिखाहरु प्रज्वलन गरेका यी युवालाई ब्यबसायिक र ब्यबस्थित गर्न नसके मुलुक अर्को द्वन्दको भासमा पर्नेछ | १० वर्षे द्वन्दले निम्त्याएको पिडा र दर्द आज पनि जिउँका त्युँ छ | घाइते, बेपत्ताहरुको अवस्था सुन्दा आँखा रसाएर आउँछन् |

योग्यता र प्रतिभा भएको कयौँ युवा समाज रुपान्तरण, देश विकासका लागि अगाडी बढ्न चाहन्छन | देशहितमा समर्पणको बलबाट राष्ट्रको नेतृत्व समाल्न चाहन्छन | युवा पुस्ता अगाडी बढ्न चाहन्छन | अतित र वर्तमानप्रति सही मूल्याङ्कन तथा अस्ताएका वा अस्ताउन थालेका पुस्ताको अनुभवबाट समृद्ध र विश्वसमुदायमा सम्मानित नया नेपालको निर्माण गर्न चाहन्छन | एक पछि अर्को पुस्तामा हस्तान्तरण गर्नु वर्तमान पुस्ताको अभिभारा, र यो दायित्व निर्वाह गर्न प्रत्येक पुस्ताले आफुले हासिल गरेका सूचना, अनुभव र ज्ञान पनि नयाँ पूस्तालाई हस्तान्तरण गर्नु नै मुलुकको जीत हुनेछ |
यो महामारी संगै नेतृत्व वर्गले बोल्ड डिसिजन गर्ने बेला आएको छ | युवाहरुको ब्यबस्थापनमा अचुक नीति लेराउनु पर्ने बेला आएको छ | विदेशिएका युवा, स्वदेशमा रहेका युवा र नेतृत्व चाहने युवाहरुको मर्म बुझी त्यसलाई ब्यबथापन गर्न जरुरि छ |

युवाहरुका सर्वाङणीण विकासका निम्ती अब नेतृत्व वर्गले अर्जुन दृष्टि होइन दुर दृष्टि राखी लोकतन्त्रको महिमालाई बचाउनु नै राष्ट्र प्रेमको भावनालाई स्थापित गर्नु हो

गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका पाँच आधार स्तम्भलाई सफल पार्ने सबै साधन स्रोत प्रयोग गर्ने, युवा नीतिले निर्दिष्ट गरेका नीति र कार्यनीतिहरुलाई कार्यन्वयन गर्ने, युवा क्षेत्रको विकासका मूल समस्या चुनौती र सम्भावना पहिचान गरी योजना र कार्यक्रम तय गर्नुनै युवा प्रति न्याय हुनेछ |
जे होस् विषम परिस्थितिपछि फेरि नयाँ सुरुवात हुनेछ।
जयतु सदा !!!

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal