हरायो ,मेरो सरकार

हरायो ,मेरो सरकार

महेश पाैडेल

मुलुक लकडाउनमा छ । कोरोनाको महामारीले सबै क्षेत्र आक्रान्त र भयभित छ । बढी प्रभाबित बनेका पर्सा, बाँके , उदयपुर जस्ता स्थानहरुका प्रत्येक नागरिकका ओठहरु काँप्न थालेका छन् ।

एउटै परिवारका सत्रजनामा संक्रमण फैलिएपछि सिड.गो गाउँमा सन्नाटा छाएको छ । यतिखेर सक्रमण फैलिएको गाउँ वा घरमा आफन्त, सहयोगी साथी वा छिमेकी कोही कठैबरा भन्न उपस्थित हुनसक्ने अबस्था छैन । उपचारतः अस्पतालमा बिरामी भेट्न जाने र सहानुभुति प्रदान गर्ने चिकित्सक बाहेक कोही भेटिैदैन । आज प्रत्येक नेपाली घरका परिवारसँग , समाजका सदश्यसँग र अत्याबश्यक सामाग्री किन्न बजारमा जाँदा समेत डराउनुपर्ने अबस्थामा बाँचिरहेका छन् । आज गोरो मानिससँग कालो बर्णको मानिस र कालो बर्णको मानिससँग गोरो मानिस डराइरहेका छन् ।

लकडाउनको सातौं हप्ता जारी रहदा अब कत्तिपयलाई हातमुख जोर्न कठिनाई भइसक्यो, कतिपय नेपाली दाजुभाई बिदेशमा अलपत्र र बेखर्चि भएर स्वदेश जाने उत्कट इच्छामा नेपाल सम्झेर आँशु झारिरहेका छन्, भारत र नेपालको सिमाबर्तिमा रहेका नेपाली आफनो देश फर्कन नसकेर भारत सरकारसँग भिख मागेझैं उसले दिएको केही खाएर गुजारा चलाएका छन् ।

कतिपय हप्तौं हिडेर आ आफना घर पुगेका छन् तर घरमा खाने अन्न र उपचार गर्न पैसा नभएर छटपटिएका छन् । बाबुलाई छोराको चिन्ता, आमालाई छोरीको चिन्ता छोराछोरीलाई आमाबुबाको चिन्ता दिनप्रतिदिन बढिरहेको छ ।युवाहरुलाई भबिष्यको चिन्ताले पिरोलेको छ । बेखर्चि र बेरोजगार हुने डरले भतभति पोलेको छ । बिदेशमा रहेका युवाहरुको देश गएर के गर्ने भन्ने चिन्ताले आक्रान्त पारेको छ । अस्थिरता चाहनेहरु कोभिड २०१९ को महामारीमा जमाती समूह र अन्य धार्मीक संस्थाका नाममा बिभेद र बिभाजनमा तल्लीन छ । हर क्षेत्र यस्तै समस्यामा अल्झरहेको छ ।

समाजमा यी र यस्तै बिबिध समस्याका कारण मनोरोगीहरु बढिरहेका छन् । कोरोना संक्रमणका कारण अन्य बिरामीहरु उपचार नपाएर मर्ने अबस्थामा पुगेका छन् । यी थुप्रै जिज्ञासाले मलाई पनि पोल्यो । मैले ठाने,म यतिबिधि आत्तिनु हुँदैन । म आत्तिदा मजस्ता थुप्रै मानिस अत्तालिन्छन् । मैले त सबैलाई ढाडस दिनुपर्छ । म मेरो सरकार पनि छ भन्नेमा अलिक आशाबादी बनें र सरकारको खोजी गर्न थालें । किनकी मैले बिकास, निर्माण र संकटमा सहयोग गर्न भोट र राजश्व मार्फत नोट पनि दिएको छु । त्यसैले यतिखेर मैले मेरो सरकार खोज्नुपर्छ । हाम्रा समस्या मैले सरकारलाई भन्नुपर्छ भन्ने सोचें ।त्यसैले म सरकारको खोजिमा हिडेंको छु ।
मेरो सरकार कहाँ छ ?

मैले कोभिड २०१९को प्रकोपले चीनको बुहानमा सन्त्रास फैलदा देखि मैले मेरो सरकार खोजें । मेरो सरकार कहाँ छ ? चीनबाट केही बिद्यार्थी लिएर जेट बिमान आउँदा सम्म सरकार यताकतै भेटेको जस्तो अनुभब थियो मलाई । तर आज महाकालीमा हजारौं नेपाली स्वदेश फर्कन पाउँ भन्दा मैले सरकार भेटिन, हामी स्वास्थ्य परिक्षण गर्छौ भन्दा स्वास्थ्यकर्मिले पर्याप्त किट पाएनन, स्वास्थ्यकमीलाई सुरक्षित रहने पिपिई चाहीयो भन्दा पाएनन मैले त्यहाँपनि सरकार खोजें तर पाइन,आज बिभिन्न देशमा रहेका नेपाली दाजुभाइ स्वदेश फर्कन खोजिरहेका छन् मैले त्यहाँ पनि सरकार पाइन , मैले भोका र नाड.गा जनताहरुको हात र मुखमा सरकार छ की भनेर सरकार खोजे त्यहाँपनि सरकार पाइन, १० दिन लगाएर शहर छौड्दै गाउँ जाने नेपाली जनहरुको साथमा सरकार खोजे त्यहाँ पनि सरकार भेटिन, मैले कतै मास्क र स्यानिटनइजरको बन्दोबस्तीमा छ की भनेर खोजे तर त्यहाँ पनि सरकार भेटिन,मैले सुत्केरी हुन नसकेरेर अस्पताल भर्ना हुन खोज्दा भर्ना नगरीएकी अबोध महिलाको सहयोगमा जुट्यो की भनेर सरकार खोजे तर सरकार भेटिन ।

बिचरा⁄ महिला सरकार खोज्दाखोज्दा परमधाम पुगिन सरकार त्यहाँ पनि पुगेन, मैले सरकार कलकारखाना, शिक्षालय , तर्फ नियालेर हेरें सरकार सामाजिक दुरी कायम गर्ने भनेर त्यता पनि गएनछ, त्यहाँ हुनै कुरै भएन । नीजि अस्पताल र सरकारी अस्पतालमा कोरोनाको उपचार, आइस्युलेशन वार्ड निर्माण, आइसियू निर्माणको ब्यबस्थापन गर्न गयो की भनेर खोजे तर सरकार त्यहाँ पनि भेटिन ।

मैले समाचारपत्रहरु ,टेलिभिजन , रेडियो र दुरभाषांक बाट सुनें ,सरकार त ओम्नी ग्रुपमा पो छ रे? , सरकार त पार्टी बिभाजन गर्नमा पो तल्लीन छ रे? सरकार त ठेक्कापट्टाका लागी नेपाली सेना गुहार्नमा खटिरहेको छ रे ?, सरकार त आजभोली सरकार परिवर्तनको कुरामा ब्यस्त छ रे, सांसदको भेला गर्न बालुवाटारमा खटेको छ रे, खुमलटार, कोटेश्वर र बालुवाटारका बैठकमा धेरै ब्यस्त छ रे ? सरकार त पार्टी फुटाउने अध्यादेश र सरकार जोगाउने आज्ञादेशमा दिनरात गरेर १८ घण्टा काममा ब्यस्त छन् रे ?

सुन्दैछु आजभोली नेकपा नामको भाइरसले सरकार स्वयंलाई पोजिटिभ देखायो रे ? सरकार नै कोभिड २०७७ ले बिरामी छ रे ?स्वयं कोरोनाको डरले सरकार बालुवाटार भित्र पो छ रे ? खुमलटार र कोटेश्वरले पनि सरकार खोजेको १०दिन भयो रे म निराश छु, खुमलटार, कोटेश्वरले त नपाएको सरकार मैले कसरी पाउँ ?अब म कहाँ खोजुँ मेरो सरकार ?
ठूलो सरकार नभेटेपछि म प्रदेश र स्थानीय सरकार खोज्न हिंडे तर अलमलमा छु । प्रदेश सरकार आफैं केन्द्र सरकार खोज्न र आदेश माग्न हिंडेको फर्केको छैन भनेर खबर पाएँ । स्थानीय तहको सरकार गाडी र भत्ताको सुबिधा प्रयोग गर्दै एक पाकेट मास्क , सेनेटाइजर र केही पोका राहत बोकेर कार्यकर्ता खोज्दै हिंडेको खबर पाएँ । म त कसैको कार्यकर्ता होइन ,मलाई खोज्दै कहिले आउँछ मेरो सरकार । मैले उपचार गर्ने गामको स्वास्थ्य चौकी ज्वरो नाप्ने बन्दुक छैन, औषधी छैन, मास्क छैन । तर मेरो स्थानीय सरकार गिट्टी, रोडा,बालुवाको ढुवानीको प्रबन्धमा ब्यापारीको सहयोगको जुटेको छ रे ?

मैले सोचेको थिए, संघिय लोकतान्त्रिक गणतन्त्रमा त मेरो सरकार मेरो घर आँगनमा आउँछ । शासक होइन सेवक भएर आउँ छ । मेरो सरकार किसानको बारी र खेतमा, मजदुरको रोजिरोटीमा, शिक्षकको बौद्धिकतामा, राजनैतिक दलको समन्वयमा, मतदाताको दुःखमा, भोकाको भोजनमा, असुरक्षित नागरिकको सुरक्षामा खोजेको थिए तर कतै पाइन ।
मेरो सरकार त केबल लकडाउनको बन्दक भएछ । लकडाउन मै कोभिड २०१९ परास्त गर्ने सपनामा रुमल्लिएछ । चीनको बुहानबाट कोभिड १९ आयो तर सिंहदरबार र बालुवाटारबाट मात्रै होइन गाउँको सरकार समेत मैले भेटिन , कहाँ गयो मेरो सरकार ⁄कहाँ हरायो मेरो सरकार ⁄

( लेखक नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष हुन् )

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal