पीडितलाई सहयोग, एकताको सन्देश (बेथानचाेक डायरी)

पीडितलाई सहयोग, एकताको सन्देश (बेथानचाेक डायरी)

मछिन्द्र कुमार लामा

भनिन्छ, दैवी विपत्ति र प्राकृतिक प्रकोप मान्छेको नियन्त्रणभन्दा बाहिरको बिषय हो । न यसले पूर्व सूचना दिन्छ न त तत्कालै रोकथाम गर्न सकिन्छ । यस्तो खालको बिपत्तीको सामना कतिखेर, कहाँ, कस्ले, कसरी गर्नु पर्छ त्यो हामी कसैलाई जानकरी हुँदैन । यस्तै घटना घटेको छ हिजो वेथानचोक गाउँपालिका वडा नं ३ साबिक ढुंखर्क–१ मा ।

स्थानीय बलराम बजगाईं युवा समाज सेवी, जेसिज अभियान्ता, सहकारी कर्मी, व्यापारी तथा राजनीतिकर्मी पनि हुन् उनी । बेथानचोक जेसिज बर्ष २०१९ का उपाध्यक्ष, कृषि सहकारी संस्थाका संचालक, विगत केही समयदेखि ढुंखर्क क्षेत्रमा रासायनिक मलको एक मात्र व्यापारी र गत स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यको प्रत्यासी हुन् उनी । उनका लागि २०७७ जेठ ४ गतेको कालो रात सावित भएर आयो । उनका लागि त्यो समय सम्पूर्ण भगवानले बिश्राम लिएको सावित भयो । रातको १२ बजे करेन्ट सट भई एक्कासी उनको निवासमा आगलागी भयो । आगोलागीको पहिलो सूचना उहाँको बालबालिकाले पाए । त्यस पछि बालबालिकाले मातापिता लाई खबर गरे त्यतिखेरसम्म घरको माथिल्लो तल्लाको एक कुनामा पुरै आगो लागिसकेको थियो, जलीसकेको थियो । उनको पहिलो ध्यान बृद्ध बुवातर्फ गएछ । बृद्ध बुवा आफ्नै कोठामा मस्त सुतिरहनु भएको थियो उक्त समयमा । बुबालाई सुरक्षित स्थानमाल्याउनु उनको पहिलो कर्तव्य थियो, उनले त्यसै गरे । यसअघि उनले बुबाको कोठामा ढक्ढक्याए तर भित्रबाट कुनै उठेको वा थाहा पाएको कुनै संकेत आएन । अत्तालिदै झ्याल र ढोका तोडेर बुवालाई सुरक्षित स्थानसम्म ल्याउन सफल भए । जतिखेरसम्म स्थानीय छरछिमेकीले उहाँको बस्तुहरूलाई सुरक्षित स्थानमा लगिसकेका थिए । प्रत्यक्ष दर्शीका अनुसार जब बुबाको कोठाको ढोका फोरेर कोठाबाट निकालियो सेकेण्डमै त्यही कोठामै आगोको लप्को पस्यो र पाँच सात मिटरसम्म फैलियो ।

त्यतिखेर नै हामीले भगवानलाई सम्झियौं । एक सेकेण्ड ढिला भएको भए आज केसम्म हुनसक्थ्यो, कल्पना गर्यौं । यतिखेरसम्म वडा नं ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठसहित लगभग हजारभन्दा बढी स्थानीय, प्रहरी प्रशासन आगो नियन्त्रणको लागि खटिरहेका थिए । घटनास्थलमा एलपी ग्याँसको सिलिण्डर भएको हुनाले आगो नियन्त्रणमा गएका प्रहरी प्रशासन र स्थानीयहरू त्रसित थिए । तर उनीहरु आगो नियन्त्रणमा जुटिनै रहेका थिए । स्थानीय प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षकले सो घटनाबारे जिल्लामा जानाकारी गराइ सकेका थिए । जसका कारण धुलिखेलबाट दमकल आएको थियो । स्थानीय जनता,प्रहरी र दमकलको सहायताले बिहान पाँच बजे मात्र आगो पूर्ण नियन्त्रणमा आएको थियो ।

हामीले राजनैतिक आस्थाका आधारमा दैवी विपत्तिमा परेकाहरूलाई विभेद गरिएको घटनाहरू नसुनेका छैनौँ । सहयोग र सेवामा मानवीय समवेदनाको हेक्का नभएको समाचारमा पनि धेरै पढेका छौं । तर बेथानचोक गाउँपालिकाका प्रमुख, उपप्रमुख, सोही वडाका वडा अध्यक्ष र अन्य वडाका वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधिहरू सहयोगमा जुटिरहेका थिए । यो अभूतपूर्ण सहयोगी भावनाले राजनीतिलाई मानवीय भावनाभन्दा धेरै तल राखेको सन्देश दिएको छ । वास्तवमा गर्नु पर्ने पनि त्यही हो । यो नै उदाहरणीय काम हो, देशको राजनीतिले बेथानचोकबाट केही त सिकोस न ।

आगो नियन्त्रणमा आएको केही समय नबित्दै गाउँपालिका प्रमुख र वडा नं ३ का अध्यक्षको समूहले पालिका र वडाको तर्फबाट केही खाद्यान्न सामाग्री र केही भाँडाकुडा हस्तान्तरण गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी ढुंखर्क र चलाल गणेशस्थानले तत्काल आवश्यक पर्ने राहत सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । प्रदेश सभा सदस्य माननीय बसुन्धरा हुमागाईले पनि स्थलगत निरीक्षण गरि प्रदेशमार्फत राहतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष समुद्रलाल श्रेष्ठसहितको रेडक्रस अभियान्ताहरुले स्थलगत निरीक्षण गरी तत्कालको लागि केही राहत सामाग्री उपलब्ध गराउनु भएको थियो । थप राहत उपलब्ध गराउने उहाँहरुको प्रतिबद्धताले पीडित मनलाई अबश्य केही शान्त्वना मिलेको हुनुपर्छ । त्यसै गरी तत्कालको लागि श्री कृष्ण प्रणामि समाज ढुंखर्क, वेथानचोक जेसिस, वेथानचोक क्षेत्र सरोकार समाज, हातेमालो युवा समाज, स्थानीय समाज सेवी तिमल्सिना जलपान गृह बनेपाका बद्री तिमल्सिना, जेसिज अभियन्ता रूक्मणी सिग्देल ( क्षमता अभिवृद्धि राष्ट्रिय संयोजक), मुक्तिनाथ तिमल्सिना ( अध्यक्ष वेथानचोक जेसिज बर्ष २०१९),स्थानीय समाजसेवी हुद्दराज तिमल्सिना, राम तिमल्सिनाद्वारा खाद्य सामाग्री, लत्ताकपडा, ओड्ने ओछ्याउने, ब्लाङ्ककेट र भाँडाकुँडा उपलब्ध गराउनु भएको छ ।

आगोलागीबाट दुईतले ढुंगा माटोले बनेको घर,गोठ, गरगहना, लत्ताकपडा,अन्नपात, भाँडाकुँडा र रासायनिक मल खरिदको लागि तयार गरिएको करिब आठलाख नगदसहित पूर्णरूपमा नष्ट भएको बिबरण पीडित बलराम बजगाईंले बताएका छन् । उनलाई मानवीय भावनाले सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्ति,संघसंस्था, सरकारी निकाय र गाउँपालिका प्रमुख सहित, वडा नं तीन का वडा अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद । उहाँलाई थप सहयोगको लागि पनि पहल गरिदिनुहुन हार्दिक अपिल गर्दछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal