नेपालका विद्वान र कालिदासकाे कथा

नेपालका विद्वान र कालिदासकाे कथा

– गाेविन्द प्रसाद दुलाल

छिमेकी मुलुक रिसाउने डरले राष्ट्र सुम्पन सकिँदैन भन्नेकुरा सम्म नबुझ्ने बाबुराम लगाएतका त्रिकालदर्शी विद्वान डाक्टरहरू देखेर बाल्यकाल का सुनेकाे कालिदासकाे एउटा कथा पस्कन मन लाग्याे ।

थकित भएर विद्वान् कालीदास एउटी महिलाकाे आँगनमा पुग्छन् ।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहाेस् न ।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् – सूर्य र चन्द्रमा, जाे कहिल्यै राेकिन्नन्, हमेशा चलिरहन्छन्। साँचाे बताऊ, तिमी काे हाै?

कालीदास :- म पाहुना हुँ ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन् । पहिलाे धन र दाेस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन । भन काे हाै तिमी?

कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी – धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन् । अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ । साँच्चै भन त काे हाै तिमी?

कालीदास :- म हठी हुँ ।
महिला :- फेरि असत्य । हठी त दुई मात्र छन् । पहिलाे नङ र दाेस्राे केश । जति काटे पनि फेरि फेरि निक्लिरहन्छन् । सत्य बाेल, काे हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)

कालीदास :- त्यसाे भए म मूर्ख हुँ ।
महिला :- हाेइन, तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलाे शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छन् अनि दाेस्राे उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन् ।

(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए । आफ्नाे फरक फरक परिचय दिएका कारण उनी महिलाकाे गाेडा समाउँदै याचना गर्छन् । )

कालीदास: म कालीदास हुँ ।
महिला :- उठ कालीदास । खासमा म सरस्वती माता हुँ ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो ।)

माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार । तिमीले शिक्षाकाे बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्याै र अहंकारकाे सिँहासनमा बस्यौ । यसैले तिम्रो चक्षु खोल्नकाे लागि मैले याे नाटक गर्नुपर्यो ।

कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन् ।

त्यसैले :-
विद्वत्ताउपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ । त्यस्तै दुई चीजलाई कहिल्यै व्यर्थ जान दिनु हुँदैन । पहिलो ‘अन्नकाे कण’ अनि दाेस्राे ‘समयकाे क्षण’ । बेलैमा बुझौँ ।
त्रिकालदर्शी विद्वान डाक्टरहरूले पनि अाफ्नाे परिचय खुलेरै बताउनु राम्रो हुन्छ । समय परिवेशसँगै साझा समाज, राजनीतिक अवस्था, इतिहासजस्ता तत्वले जनतालाई एकताबद्ध गराउँछ र राष्ट्रियताको जगेर्ना हुने गर्छ । इतिहासदेखि नै स्वतन्त्र अटल र स्वाधीन रहेको राष्ट्रको अक्षुण्णताका लागि देशभक्तमा प्रगाढ विश्वास राख्दै राष्ट्रियताको जगेर्ना गरिनुपर्छ । राष्ट्रका लागि त्याग, तपस्या र बलिदानका साथै मातृभूमिप्रति अखण्ड स्नेह ममता एवं देशभक्ति विचारधारालाई अंगीकार गरी देशप्रति समर्पण भई राष्ट्रियताको प्रतीकका रूपमा स्थापित हुनुपर्छ ।
राष्ट्रको मजबुद अंगका रूपमा राष्ट्र प्रमुख, सेना र सुरक्षा, सिमाना, नागरिक र व्यवस्थाका एकीकृत अंगक शक्तिपुञ्ज बाट राष्ट्रको संरचना हुन्छ । यसको संरक्षण र सम्वद्र्धन गर्न नागरिकले गर्ने कर्तव्य नै राष्ट्रियता हो । राज्य शक्तिको स्रोत जनता हुन् । राष्ट्रियताको मूल आधार नै देशभक्ति हो । राष्ट्रप्रतिको एकात्मक भावना राष्ट्रियता हो । यसैगरी, जनताको त्याग, तपस्या, बलिदान तथा देशभक्तिबाट ओतप्रोत रहँदै नि:स्वार्थ भावनामा राष्ट्रप्रति सेवा समर्पित रहने कार्य देशप्रतिको भावनात्मक सम्बन्धबाट राष्ट्रियता मजबुद हुने गर्छ । जनताद्वारा काम, कर्तव्य, विचार, भावना, आदर्श, सद्भावजस्ता मानवीय आचरणसहित जनताको साझा शक्तिलाई राष्ट्र हितका लागि समर्पण गर्ने कार्यले राष्ट्रियतालाई बलियो बनाउँछ । प्राचीनतम् अवस्थादेखि भिन्न समाजमा समान जन्म र अस्तित्वको संघर्षबाट वचाइराखेको स्वाभिमानको संरक्षण र भिन्न अस्तित्वलाई स्थापना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय पहिचानको मौलिकतालाई संरक्षण गर्दै राष्ट्रियताका लागि समान सहभागितामा महत्त्वका साथ उभिन सक्नुपर्छ । त्यस्ता गुण नभएका व्यक्तिलाई राष्ट्रवादि र विद्वान मान्न सकिदैन ।

अस्तु ।

(लेखक : नेकपा बागमती प्रदेश सल्लाहकार परिषद्का अध्यक्ष तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिब हुन् ।)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal