पाँचखाल नगरको सातौ नगरसभाले नीति तथा कार्यक्रम पारित

पाँचखाल नगरको सातौ नगरसभाले नीति तथा कार्यक्रम पारित

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकाको सातौ नगरसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । सभाले कृषि, पशुपंक्षि तथा कोरोना जोखिमलाई उच्च प्राथमिकता नीति तथा कार्यक्रम पेश गरेको थियो ।

सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकाकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर, समृद्ध, सुरक्षित र नमुनाकृषि नगर बनाउने नगरबासीको आकांक्षा अनुसार यो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नु हुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी, स्वयम्सेवक, राजनीतिक तथा सामाजिक संघसंस्थाहरु लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै नगर प्रमुख खरेलले विश्व नै कोभिड १९ को संक्रमणका कारण कठिन अवस्थाबाट गुज्रिरहेको अबस्थामा जस्तोसुकै कठिन अवस्थाबाट भएपनि सबै एकजुट भएर कोभिड १९ विरुद्धको लडाइमा अगाडी वढ्नुपर्ने अहिलेको प्राथमिकता रहेको बताए ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५ (परिमार्जित) अनुसार असार ३० गते सम्ममा बजेट स्वीकृत गरि सक्नु पर्ने कानुनी व्यवस्था भए बमोजिम बजेट पेश गर्नु पूर्व नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानूनी व्यवस्थालाई आत्मसाथ गर्दै आ.व २०७७।०७८ को लागि पाँचखाल नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरले जनाएको छ ।

नीति तथा कार्यक्रममा यो पटक कृषि सहर पाँचखालका कृषकका समस्या पहिचानको लागि कृषक संग मेयर कार्यक्रम सन्चालन हुने भएको छ ।

नगरसभामा पाँचखाल नगरका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तमाङले नगरसभा मार्फत जारी भएको नीति नियमले भावि दिनमा नगरको मुहार नै फेरीने बताउनु भयो । उहाँले नीति नियमको आधारमा बजेट बिनियोजन गर्दा पाँचखालमा अति आवश्यक विकास निर्माण सम्पन्न हुने बताउनुभयो । वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङले नगरले जारी गरेको नीति नियममा तामाङ जातीको संग्राहलय थप्नको लागि सुझाव दिए ।

वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले नगरमा आमुल परिवर्तनको खातिर नयाँ ढंगको नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । विगतमा कार्य गर्दा केही कमी कमजोरी भएको भएपनि आगामी दिनमा त्यस्तो कुनै कमी कमजोरी नहुने बताए ।

वडा नं २ का वडा अध्यक्ष हरि खतिवडाले नीति नियमको आधारमा अगाडी बढ्दा पाँचखालको मुहार राम्रो हुने बताए । वडा नं १ का वडा अध्यक्ष अष्टमान तामाङले पाँचखाल धार्मिक तथा ऐतिहासिक नगर भएकोले पुरातात्वीक महत्वको बिषयलाई नीति तथा कार्यक्रममा समेट्नु पर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी, वडा अध्यक्षहरु, नगर सभा सदस्यहरु, कर्मचारी, पत्रकार लगयतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal