समृद्विको अभियानमा सरकारलाई प्रेरित गरिरहेका छौं : देउवा

समृद्विको अभियानमा सरकारलाई प्रेरित गरिरहेका छौं : देउवा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताएका छन् ।  सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गरे ।

नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनुभएको भेटमा सहभागी काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा काँग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो ।

सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास खोल्न पनि आग्रह गरेका थिए । सभापतिले दुतावास पुनः खोल्न पनि डेनिस सांसदहरुसँग आग्रह गर्नुभएको पनि सहमहामन्त्री महतले बताए । त्यसैगरी सभापति देउवाले नेपालको आर्थिक विकासमा डेनिस सरकारले गर्दै आएको सहयोगप्रति पनि आभार व्यक्त गरेका थिए ।

डेनिस सांसदहरुसँगको भेटवार्तामा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका काँग्रेस नेताहरु सहभागी भएका थिए । भेटमा दुई देशबीचको सम्बन्ध र पार्टीहरुबीचको सम्बन्धका विषयमा पनि छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal