त्रिविका परीक्षा दशैं पछि मात्र हुने, स्नातकोत्तर तहको भने अनलाइन गर्ने तयारी

त्रिविका परीक्षा दशैं पछि मात्र हुने, स्नातकोत्तर तहको भने अनलाइन गर्ने तयारी

भदौ ११, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएका स्नातक तहको परीक्षाहरु दशैंपछि मात्र सम्भव हुने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताउनुभयो ।


नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा दिनानुदिन बढिरहेको हुनाले दशैं अगाडि परीक्षा गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “परीक्षा गर्नुपूर्व ३० देखि ३५ दिन अगाडि परीक्षा तालिका प्रकाशित गर्नुपर्छ, र हालको अवस्थामा यो सम्भव छैन ।” उहाँले यस्तो विषम् परिस्थितिमा विद्यार्थीलाई तनावमा राख्न नहुने कुरा बताउनुभयो ।
‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन’ उहाँले भन्नुभयो । परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको समेत उहाँले दुखेसो पोख्नुभयो ।


विद्यार्थी थोरै भएको संकायको परीक्षा दशैं अगाडि गर्ने भनिए पनि कसरी गर्ने भन्ने सम्बन्धमा डिन कार्यालयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।


यस्तै, स्नातकोत्तर तह (एमबीएस) तर्फको चौंथो सेमेष्टरको बाँकी परीक्षा चाँडै नै सञ्चालन गर्ने तयारीमा रहेको डिन डिल्लीराज शर्माले जानकारी दिनुभयो । महामारी फैलिन सक्ने सम्भावना हेरी चैत पहिलो सातामा सञ्चालन भइरहेको स्नातकोत्तर तहको उक्त परीक्षा दुई विषयको परीक्षा सकेर स्थगित गरिएको थियो । उहाँको अनुसार स्नातकोत्तर चौंथो सेमेष्टरको परीक्षा सम्भव भएसम्म अनलाइनबाट लिने तयारी गरिरहेको छ । उक्त तहको शोधपत्र लेखनको लागि त्रिवि डिन कार्यालयले यसअघि नै शोधपत्र लेखन सम्पन्न गरी भच्र्युयल भाइभा गर्न अनुमति दिइसकेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal