किन भयो भारतमा पब्जी माथि प्रतिबन्ध ?

किन भयो भारतमा पब्जी माथि प्रतिबन्ध ?

भारत र चीन बीच बढिरहेको तनावको कारण भारतले १ सय १८ वटा चिनियाँ एपसँगै हाल विश्वमाझ लोकप्रिय पब्जी गेम एपमाथि समेत प्रतिबन्ध लगाएको छ ।


गल्वान भ्यालीमा भएको २० भारतीय सेनाको मृत्युको विषयलाई लिएर बढेको तनावले चीन र भारतबीच सिमा विवाद बढिरहेको छ । सोही समयदेखि विभिन्न चिनियाँ उत्पादनमाथि भारतले प्रतिबन्ध लगाएको थियो । केही समयअघि भारतले लोकप्रिय एप टिकटक सहित ५९ एपहरु माथि प्रतिबन्ध लगाएको थियो । राष्ट्रिय सुरक्षाको सरोकारलाई विशेष मुद्दाको रुपमा लिएर भारतले पब्जी, विच्याट लगायत विभिन्न ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइएको छ । पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ‘विश्वस्त सूचना’ आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
सर्च इञ्जिन बाइडुका दुईवटा एप, क्यामकार्डको बिजनेस कार्ड स्क्यानर, अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे, विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप, मार्भल सुपरवार सहितका खेलका एप, सिना न्यूज लगायत एमहरुमाथि ‘विभिन्न स्रोतहरूबाट’ थुप्रै उजुरी परेको जनाएको छ । “भारतको राष्ट्रिय सुरक्षा र प्रतिरक्षासँग जोडेर हेर्दा यी विवरणहरूको एकीकरण र प्रशोधनले भारतको सार्वभौमसत्ता र अखण्डता जोखिममा पु¥याउँछ,” मन्त्रालयले जनाएको छ ।


पब्जी गेम एपको टेन्सेन्ट कम्पनीमा चीनको मात्र १० प्रतिशत शेयर रहेको छ । स्मरण रहोस्, सन् २०१९ को मार्च महिनामा भारतको गुजरातमा विद्यार्थीहरुले परीक्षामा ध्यान नदिएको भन्दै पब्जीलाई प्रतिबन्ध लगाएको थियो । अन्तिम बोर्ड परीक्षा सकिएलगत्तै प्रतिबन्ध हटाएको थियो । यस्तै, सन् २०१९ को अप्रिल महिनामा वयस्क र बालबालिकाको मनोवैज्ञानिक असरलाई लिएर नेपाल र इराकमा प्रतिबन्ध लगाइएको थियो । तर, नेपालको सर्वाेच्च अदालतले प्रतिबन्ध किन आवश्यक छ र यसले कसैको व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै प्रतिबन्ध नगर्न आदेश दिएको थियो ।
गेम एप पब्जी प्रयोगकर्ताको संख्या हेर्ने हो भने प्रयोगकर्ता १ करोड ७४ लाख मध्ये २४ प्रतिशत भारतीय रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal