हुने भयो रातो मच्छिन्द्रनाथको रथयात्रा

हुने भयो रातो मच्छिन्द्रनाथको रथयात्रा

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयमा जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले रथयात्रा गर्ने निर्णय गरेको छ ।


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी भदौ २६ गतेसम्म सम्पन्न गर्न छोटो कार्यविधि गरी जात्रा मनाउने प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, गुठी संस्थानका पदाधिकारी लगायत जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार, भदौ १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्याएर मन्दिरमा विराजमान गराउने गरी छोटो कार्यविधि बनेको बताउनुभयो ।


यसैगरी, हिजो भएको झडपलाई लिएर प्रमुख जिल्ला अधिकारी भट्टले ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको बताउनुभयो भने उहाँले जातीय समूह, ३१ जना पुजारीहरू, खलः पुच, ज्यापू महागुठी, राजनीतिक दलहरू हिजोको घटनालाई लिएर खेद व्यक्त गर्नुभयो ।


करिब १६०० वर्ष अगाडि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा विगतका वर्षहरुमा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने गरिन्थ्यो । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद्हरु बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal