झडपमा प्रेस ज्याकेट दुरुपयोग गर्ने युट्युबर पक्राउ

झडपमा प्रेस ज्याकेट दुरुपयोग गर्ने युट्युबर पक्राउ

ललितपुर, १९ भदौ । बिहिबार प्रहरी झडपमा प्रेस ज्याकेट लगाई प्रहरीमाथि ढुंगामुढा गर्ने युट्युबरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।


बिहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा प्रेस ज्याकेट लगाई एक हातमा क्यामेरा बोकेर प्रहरीमाथि ढुंगामुढा गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तत्पश्चात अपराध महाशाखाले अनुसन्धान सुरु गरी शुक्रबार महाशाखाको टोलीले महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जनलाई पक्राउ गरेको हो ।


प्रेस ज्याकेट दुरुपयोग अभियोगमा पक्राउ परेका महर्जनले युट्युब चलाउने बताएपनि पत्रकारको कुनै परिचय हालसम्म नखुलेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताउनुभयो । उहाँले महर्जन सहित पक्राउ परेका अन्य १० जनालाई प्रहरी परिसर जावलाखेलमा बुझाइएको समेत जानकारी दिनुभयो । सोही दिन झडपको क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि भएको हातपात र ढुंगामुढाबारे समेत अनुसन्धान प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal