आजबाट मच्छिन्द्रनाथको रथ तानिने, १ सय ६० जना रथ तान्नेहरुको पहिचानका लागि टिसर्ट र टोपी

आजबाट मच्छिन्द्रनाथको रथ तानिने, १ सय ६० जना रथ तान्नेहरुको पहिचानका लागि टिसर्ट र टोपी

ललितपुर । गत चैत महिनामै सुरु हुनुपर्ने रातो मच्छिन्द्रनाथको रथ यात्रा कोरोना त्रासदीको बीचमा पनि आज दिउँसो ३ बजे रथ तानिने भएको छ ।


गत चैत महिनादेखि पटक पटक मिति तोकिएपनि सञ्चालन हुन नसकेको अवस्थामा गत बिहिबार स्थानीय युवाहरुले रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको थियो । तत्पश्चात जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा सरोकारवालाहरुसँगको बैठकले छोटो कार्यविधिमा रथयात्रा सम्पन्न गर्ने निर्णय भएको थियो ।


बैठकको निर्णयानुसार पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०–४० जना गरेर १ सय ६० जनाले रथ तान्ने भएका छन् । रथ तान्नेहरुको पहिचान गर्नका लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र टोपीको व्यवस्था गर्ने भएको छ । स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ ।


यसैगरी, रथयात्राको क्रममा ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ । रथयात्रामा ज्यापू समाज यलः, नेपालभाषा मंका खल यलः, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजकलगायत गरेर १२२ जना बस्ने भएका छन् भने किरण डंगोलको संयोजकत्वकमा गाःबहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुग समिति, लंगया समिति, जावलाखेल समिति, विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।


विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाः बहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर भोटो जात्रा गर्ने गरिन्थ्यो भने गाःबहाल, सुन्धारा , लगनखेल र जावलाखेलमा रथलाई विश्राम गराएर पूजा गरिन्थ्यो । जावलाखेलमा भोटो देखाएपछि मूर्तिलाई बुङ्गमती लगिएसँगै जात्रा सम्पन्न हुन्थ्यो । तर, यसवर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal