पहिलो खेलमा मुम्बईले चेन्नाईको सामना गर्ने

पहिलो खेलमा मुम्बईले चेन्नाईको सामना गर्ने
  • एजेन्सी

इण्डियन प्रिमयर लिग (आइपीएल) को गत सिजन विजेता मुम्बई इण्डियन्सले पहिलो खेलमा चेन्नाई सुपर किंग्सको सामना गर्ने भएको छ ।

यस वर्षको खेल तालिका सार्वजनिक गर्दै विगतमा झैं अघिल्लो सिजनको फाइनलमा पुगेको दुई टोलीले यस सिजनको पहिलो खेल खेल्नेछ । कोभिड–१९ को महामारीका कारण भारतमा खेल सञ्चालन असम्भव देखिएपछि यस वर्षको सम्पूर्ण खेल युएईमा हुनेछ । युएईको आबुधाबी, दुबई र सारजाहमा क्रमशः २०, २४ र १२ खेल खेलाइनेछ ।

मुम्बई र चेन्नाई बीचको पहिलो खेल सेप्टेम्बर १९ मा आबुधाबीमा नेपाली समयाअनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ । राउण्ड रोविन फम्र्याटको समुह चरणको मात्र खेल तालिका सार्वजनिक गरेको यस वर्षको आइपीएलमा सेप्टम्बर महिनाभरी दिनको एक खेल मात्र खेलाइनेछ भने अक्टोबर महिना लागेपछि दिनको दुई खेलसम्म खेलाइनेछ । हालको अवस्थामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस पुग्ने भएकोले दिउँसोको खेल खेल्न खेलाडीहरु राजि नभएको जनाइएको छ ।

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने अनुबन्धित टोली डिल्ली क्यापिटलले पहिलो खेल सेप्टेम्बर २० मा किंग्स एक्सआई पन्जाबसँग दुबईमा खेल्नेछ । यस सिजनमा मुम्बई इण्डियन र चेन्नाई सुपर किंग्ससँगै डिल्ली क्यापिटल, किंग एक्सआई पन्जाब, कोलकत्ता नाइट राइडर, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबाद गरी ८ टिमको सहभागिता रहनेछ ।

इङ्गल्याड र अष्ट्रेलिया बीचको खेल सकेपछि मात्र उक्त टिमका खेलाडी आइपीएलमा सहभागि हुने जनाइएको छ । आइपीएलले उक्त खेलाडीहरुलाईृ ६ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताएको छ भने आबुधाबीको नियमानुसार १४ दिन क्वारेन्टाइनमा राखिनुपर्ने बताएको छ । तर, इङ्गल्याण्ड र अष्ट्रेलियाबाट आउने खेलाडीहरु भने छुट दिने समेत बताइएको छ, यसको निर्णय हुन भने बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal