वातावरण मैत्री साइकल संस्कृति र समृद्धि

वातावरण मैत्री साइकल संस्कृति र समृद्धि

नवराज केसी
बातावरण मैत्री साइकल, संस्कृति र सम्बृद्धि
वातावरण अनुकुल अर्थात् वातावरण मैत्री एक मात्र सवारीको साधन साइकल हो । साइकल चढ्नु स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ ।

साइकलिङलाई स्विमिङ पछाडिको दोस्रो व्यायामको माध्यमको रुपमा लिइन्छ । हाम्रो देश प्राकृतिक सुन्दरताको र वातावरणीय विविधताको हिसाबले विश्वमै परिचित छ । प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो देशमा यदि प्रकृति र वातावरणलाई सधैं स्वच्छ, सफा राख्ने हो भने साइकल चढ्ने संस्कारको विकास गर्नुपर्ने देखिन्छ । अहिले हाम्रो देशमा अर्बाै खर्बाैको पेट्रोलियम पदार्थ र त्यसबाट चल्ने सवारीका साधनहरु आयात भइरहेको पाइन्छ । जसका कारण हाम्रा साना शहर र साघुँरा बाटोहरु सँगै देशका मुख्य मुख्य शहरहरुमा ट्राफिक जाम हुने गरी यी साधनहरु चलिरहेका छन् परिणाम त पाँच किलोमिटर यात्रा गर्न घण्टौं समय लाग्ने त छदै छ । यसले हाम्रो वातावरण नराम्ररी प्रदुषित बनाउदै पनि गइरहेको छ ।

वातावरण प्रदुषणले गर्दा वर्तमान समयमा विभिन्न माहामारीहरु भोग्न हामी बाध्य भइरहेका छौं र भविष्यमा अझै यो भन्दा पनि भयावह अवस्था आउन सक्ने आंकलन सहजै गर्न सकिन्छ । खुल्ला रुपमा हावामा स्वाँस फेर्न मुस्किल हुने अवस्था आइरहेको छ । यदि यस बारेमा गम्भिर भएर नसोच्ने हो भने हामीले र हाम्रा भावी पुस्ताले अत्यन्तै भयानक मुश्किलको सामना गर्नुपर्ने छ ।

हो यदि यस्ता समस्याहरुलाई न्यूनिकरण गर्दै हामी जान चाहान्छौं भने, सकेसम्म सवारीका साधनका रुपमा साइकल चढ्नु उत्कृष्ट विकल्प हुन सक्छ । हाम्रो देशको भौगोलिक अवस्था, धरातल पनि साइकलका लागि उपयुक्त छ । साइकलबाटै एक ठाउँबाट अर्को ठाउँमा सजिलै यात्रा गर्न सकिन्छ ।

हाल नेपालको तराईका शहररुमा व्यवसायिक एवं गुजाराको साधानको रुपमा साइकलको प्रयोग व्यापक भएको पाइन्छ भने पहाडी भेगमा सौखको रुपमा साइकलको प्रयोग भएको पाइन्छ । यो समयमा युवाहरु तथा बालबालिकाहरु साइकल सवारी प्रति मोह राख्न थालेका छन् ।

अहिले युवा पिडीहरु बिस्तारै साइकल सवारी प्रति आर्कषित भइरहेको पाइन्छ । बिहान बेलुका फुर्सदको समयमा वा बिदाका दिनहरुमा समूह समूहमा वा एक्लै साइकल चढेर विभिन्न ठाउँमा घुमिरहेका प्रशस्तै देख्न पाइन्छ । यसबाट हामीले के अनुमान गर्न सक्छौं भने अहिलेलाई साइकल चढ्नु सौंखको रुपमा भए पनि भविष्यमा साइकल सौंखबाट माथि उठेर विभिन्न प्रयोजनका लागि राष्ट्रव्यापी रुपमा उपयोग गरिनेछ वा हुनेछ भन्ने आँकलन गर्न सकिन्छ । प्रथम त साइकल चढ्ने बानीको नै बिकास हुन जरुरी छ ।

जनताको स्तरबाट साइकल सवारीको मोह बढिरहेको भएता पनि वर्तमान समयमा हाम्रो देशमा सरकारी संयन्त्र र सरकार चलाउने पदाधिकारीहरु यस प्रति बेखबर जस्तै छन् । यस्ता कुराहरु प्रति चासो चिन्ता केही पनि पाइदैन । जिम्मेवार नै भएको पाइदैन । त्यसैले त साइकल र साइकलका जायज मुद्दाहरुमा उनीहरु संवेदनशिल छैनन् । यसका लागि पूर्वाधारहरुको बिकास गर्नुपर्छ भन्ने सम्म सोच राख्दैनन् ।

हो समस्या यही छ । यसको लागि हामी साइकल अभियान्ताहरुले एक जुटभइ सरकार र स्थानिय निकायहरुलाई यस कुरामा चासो राख्न यसको पूर्वाधार विकासको कामलाई राष्ट्र व्यापी रुपमा अगाडी बढाउन र हाम्रा सम्पूर्ण शहरहरुलाई क्रमशः साइकल मैत्री बनाउनका लागि घचघच्याउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । अनि मात्र साइकलको उपयोग र त्यसको उपयोगीता बढ्न सक्छ ।

यसका पूर्वाधार, विकास गर्न त्यती जतिल पनि छैन मात्र इच्छा, शक्ति र योजना चाहिन्छ । शहरी क्षेत्रमा साइकलको लागि खास गरी दुई ओटा पूर्वाधारको प्रमुख रुपमा विकास गर्न आवश्यक छ ।

पहिलो साइकल लेन अर्थात् साइकल चलाउनका लागि निदृष्ट व्यवस्थित एंव सुरक्षीत सडक हुन जरुरी हुन्छ । अन्य सवारी साधनहरु चल्ने बाटोमानै साइकल यात्रीहरुले साइकल चलाउनु पर्ने बाध्यता छ । यसले गर्दा अन्य सवारी साधनहरुले दुर्घटना गराउन सक्ने सम्भावना व्यापक हुन्छ । साइकल सवार व्यक्तिहरु असुरक्षित भइरहेको छन् । त्यसैले साइकल लेन अत्यावश्यक पहिलो पूर्वाधार हो ।

दोस्रो साइकल स्टयान्ड अर्थत् साइकलहरुलाई व्यवस्थित एंव सुरक्षित रुपमा पार्क गर्न मिल्ने स्थानहरु बनाउन आवश्यक छ । यसले गर्दा अव्यवस्थित रुपमा साइकल पार्क गर्नुपर्ने बाध्यता रहदैन भने साइकल चोरी हुने सम्भावना पनि हुँदैन । हाललाई यी दुई पूर्वाधारहरु मात्र व्यवस्थित हुन सक्यो भने साइकल चढ्ने संस्कारको विकास आफसे आफ बढ्नेछ र साइकल सोखका लागि मात्र नभएर विभिन्न व्यवसायिक तथा अन्य प्रयोजनमा प्रयोग गर्ने प्रचलन बढ्नेछ ।

हाम्रा शहरहरु वा गाउँहरु कतिनै ठुला छन् र एक ठाउँबाट अर्को ठाउँमा जान मोटरसाइकल वा गाडी नै चढ्न पर्छ भन्ने छैन साइकलबाटै सजिलो छिटै निदृष्ट स्थानमा पुग्न सक्छौँ । यति मात्र होइन यसको प्रयोगमा व्यापकता आउने बित्तिकै विदेशबाट ठुलो परिमाणमा धेरै पैसा खर्च गरेर पेट्रोलियम पदार्थ र अनावश्यक सवारीका साधनहरु आयात गर्न आवश्यकता नै हुँदैन ।

सोचौं त यदि यस्तो भयमा देशको नगद अनावश्यक बाहिर पनि नजाने वातावरण पनि स्वच्छ हुने र मानिसहरु पनि स्वस्थ हुने यी निकै नै महत्वपूर्ण फाइदाहरु हुन्छ । अर्को तर्फ हाम्रो देशमा साइकल पर्यटन प्रबर्दन गर्न सकिन्छ । स्वदेशी वा बिदेशी पर्यटकहरुलाई साइकल चढाएर देशभरका विभिन्न प्राकृतिक मनोरम दृश्य ठाँउहरु हाम्रा मठमन्दिरहरु, मौलिक कला, साँस्कृतिक पुराना पुरातात्विक शहरहरुको अवलोकन गराउन सकिन्छ भने नेपालको पहाडी र हिमाली क्षेत्रमा साईकल ट्रेलहरु व्यापक मात्रमा निर्माण गरि विश्वभरका साहसीक साइकल चालकहरुलाई आर्कषित गरी प्रतियोगिता संचालन गर्न सकिन्छ ।

यदि यो क्षेत्रमा प्राथमिकता दिएर केहि प्रमुख एवं अत्यावश्यक योजनाहरु बनाएर कार्यान्वयन गर्न सके विश्वभरबाट थप साइकल पर्यटकहरु भित्र्याउन सकिन्छ यसबाट नेपालीहरुको आर्थिक अवस्था तथा देशकै आर्थिक अवस्थामा सकरात्मक प्रभाव पार्दछ साथसाथै यो देशलाई संसार भर इज्जतका साथ चिनाउन मद्दत गर्दछ । यो देशको माटो भूगोल अनुसारको दीगो विकासको बाटोमा हामी अग्रसर हुन सक्छौं ।

त्यसैले आजै अहिले बाटै हामी वातावरण मैत्री स्वास्थ्यका लागी उपयोगी सवारीको साधान साइकल चढ्ने प्रण गरौं । अरुलाई पनि साइकल चढ्नलागि प्रोत्साहन गरैं । यसैबाट हामी हाम्रो लागि महत्वपूर्ण कुरा वातावरण जोगाउन सक्छौं अनि स्वस्थ रहन सक्छौं । हाम्रो समाजलाई देशलाई स्वस्थ र स्वच्छका साथसाथै समृद्ध बनाउन सक्छौं । आर्थिक रुपमा आत्मनिर्भर बनाउन सक्छौं र बन्न सक्छौं । (लेखक साईकल अभियन्ता हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal