सन्दिप लामिछाने आबद्ध जमैकाको सेमिफाइनल खेल आज

सन्दिप लामिछाने आबद्ध जमैकाको सेमिफाइनल खेल आज

– एजेन्सी

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको जमैका तल्लावासले पहिलो सेमिफाइनल खेलमा ट्रिन्बागो नाइट राइडर्ससँग भिड्दैछ ।

नेपाली समयानुसार आज साँझ ७ः४५ बजे शुरु हुने पहिलो सेमिफाइनल खेलमा समुह चरणमा १० खेलमा १० जित हात पारेर सेमिफाइनल प्रवेश गरेको नाइट राइडर्ससँग १० खेलमा मात्र ३ खेल जितेको जमैकाले सामना गर्नेछ । वेस्ट इण्डिज क्रिकेट टिमका अलराण्डर किरण पोलार्डको कप्तानीमा नाइट राइडर्स टिम मैदान उत्रनेछ भने जमैका तल्लावास रोभमेन पावेलको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।

चालु क्यारेबियन प्रिमियर लिगको दोस्रो सेमिफाइनल खेल पनि नेपाली समयानुसार बुधबार बिहान ३ः१५ बजे सुरु हुनेछ । जसमा समुहचरणको १० खेलमा समान ६–६ खेलमा जित हात पारेका गुयाना अमेजन वारियर्स र सेन्ट लुुसिया ज्वक्स भिड्नेछन् । ड्यारेन स्याम्मीको कप्तानीमा रहेको ज्वक्सले क्रिस ग्रीनको कप्तानीमा रहेको गुयानासँग भिड्नेछ ।

यो सिजनमा हालसम्म सर्वाधिक रन जोडने खेलाडीमा जमैका तल्लावासको फिलिप्सले ३१४ रन जोडेका छन् भने दोस्रोमा गुयानाका हेटमायरले २६७ र ट्रिन्बागोका ब्राभोले २३९ रन जोडेका छन् । यस्तै, सर्वाधिक विकेट लिने खेलाडीतर्फ जमैकाका अफ्गानी खेलाडी मुजिबले १५, गुयानाका दक्षिणअफ्रिकी खेलाडी इमरान ताहिरले १५ र सेन्ट लुसियाका कग्गेलेइनल १४ विकेट लिएका छन् ।

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले हालसम्म १० खेलमा ३६ ओभर बलिङ्ग गर्दै १ ओभर मेडियन र १८२ रन खर्चेर १२ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीहरुको सूचीमा उनी पाँचौ नम्बरमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal