विश्व वरियतामा नं. १ स्थानका लागि अष्ट्रेलिया र इङ्गल्याण्ड भिड्दै

विश्व वरियतामा नं. १ स्थानका लागि अष्ट्रेलिया र इङ्गल्याण्ड भिड्दै

– एजेन्सी

इङ्गल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो दुई खेलमा पराजय भोगेर सिरिजँगै विश्व वरियताको पहिलो स्थान त गुमायो नै आज हुने खेलले पुनः तय गर्नेछ, को पहिलो नम्बरमा रहनेछ ? आज हुने तेस्रो टीट्वान्टी खेल नेपाली समयानुसार राति १०ः४५ बजे सुरु हुनेछ ।

तीन खेलको टीट्वान्टी सिरिजमा पहिलो खेलमा २ रन र दोस्रो खेलमा ६ विकेटको जित हात पारेको इङ्गल्याण्ड सिरिज क्लिनस्विप गर्दै विश्व वरियताको पहिलो स्थान सुरक्षित राख्न प्रयास गर्नेछ भने यता अष्ट्रेलिया सान्त्वना जितसँगै विश्व वरियताको पहिलो नम्बर प्राप्त गर्ने प्रयासमा रहनेछ । दुवै टोलीको पछिल्लो विश्व वरियता अनुसार हेर्दा दुवैको रेटिङ प्वाइन्ट २७३ रहेको छ । आज जसको जित हुन्छ, उक्त टिम विश्व वरियताको पहिलो नम्बरमा रहनेछ ।

अघिल्लो दुई खेलमा उत्कष्ट ब्याटिङ्ग गरेका इङ्गल्याण्डका खेलाडी जोश बट्लरले आजको खेल खेल्ने छैनन् । उनको व्यक्तिगत कारणले गर्दा आजको खेल नखेल्ने भएका हुन् । अष्ट्रेलियाको तर्फबाट हेजलवुड टिममा पर्ने सम्भावना रहेको छ ।

आइसीसी विश्व वरियतामा यी दुई टोलीपछि तेस्रो स्थानमा भारत, चौंथोमा पाकिस्तान र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । नेपाल विश्व वरियतामा १५औं स्थानमा रहेको छ । यस्तै, अष्ट्रेलियाका एरोन फिन्च टीट्वान्टी क्रिकेटतर्फको उत्कृष्ट ब्याट्सम्यानको विश्व वरियतामा तेस्रो स्थानमा र ग्लेन म्याक्सवेल छैठौं स्थानमा रहेका छन् भने इङ्गल्याण्डका डेभिड मलान पाँचौ र इयान मोगर्न सातौं स्थानमा रहेका छन् ।

तीन खेलको टीट्वान्टी सिरिज पश्चात यी दुई टोलीले ३ वटा एकदिवसीय खेल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal