जितसँगै अष्ट्रेलिया विश्व वरियताको नम्बर १ मा

जितसँगै अष्ट्रेलिया विश्व वरियताको नम्बर १ मा

एजेन्सी

इङ्गल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले ३ खेलको टीट्वान्टी सिरिजको अन्तिम खेलमा इङ्गल्याण्डलाई ५ विकेटले पराजित गर्दै विश्व वरियताको नम्बर एकको टिम बन्न सफल भएको छ ।

अघिल्लो दुई खेलमा पराजित भएपनि अन्तिम खेलमा अष्ट्रेलियाले सान्त्वना जित हात पारेको हो । यससँगै इङ्गल्याण्डले अष्ट्रेलिया विरुद्धको टीट्वान्टी सिरिज २–१ ले जितेको छ ।

टस हारेर पहिले ब्याटिङ आमन्त्रण पाएको इङ्गल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जसका लागि जोनी बेस्टर््ओले ४४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ५५ रन बनाएको थियो । यस्तै, जोए डेन्लील १९ बलमा २९ रन, मोयन अलीले २१ बलमा २३ रन, डाविन मलानले १८ बलमा २१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेका थिएनन् ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा मिचेल स्टार्क, केन रिचार्डसन, जोस हेजलवुड र एस्टन एगरले १–१ विकट बाँडेका थिए ।

जवाफी ब्याटिङ्गमा मैदान प्रवेश गरेको अष्ट्रेलियाले ३ बल बाँकी छँदा १४६ रनको विजयलक्ष्य हासिल गरेको थियो । जसका लागि कप्तान एरोन फिन्चले २६ बलमा १ छक्का र ४ चौका सहित ३९ रनको योगदान दिएका थिए भने उनलाई पछ्याउँदै मिचेल मार्सले ३६ बलमा अविजित ३९ रन बनाएका थिए । यस्तै, मार्कस स्टोनिसले १८ बलमा २६ रन, मथ्यु वेडले ९ बलमा १४ रन र एस्टन एगरले १३ बलमा अविजित १६ रन बनाएका थिए ।

इङ्गल्याण्डका लागि अदिल रसिदले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए भने टम कुरान र मार्क वुडले १–१ विकेट हात पारेका थिए ।

जितसँगै २७५ वरियता अंकसँगै अष्ट्रेलिया टीट्वान्टी क्रिकेटको पहिलो नम्बरमा पुगेको छ भने इङ्गल्याड २७१ अंक सहित दोस्रो स्थानमा रहेको छ । यी दुई टोलीबीच आगामी हुने ३ खेलका एकदिवसीय क्रिकेट अन्तर्गत पहिलो खेल यहि शुक्रबार हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal