ऋषि लामिछानेद्वारा निर्देशित टेलिश्रृंखला ‘दृष्टि’ को १ सय भाग पुरा

ऋषि लामिछानेद्वारा निर्देशित टेलिश्रृंखला ‘दृष्टि’ को १ सय भाग पुरा

काठमाडौं/ निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित पारिवारिक टेलिश्रृंखला ‘दृष्टि : जीवनका हेराइहरु’ ले प्रसारणको एक सय एक भाग पुरा गरेको छ ।

दृष्टिले एक सय भाग पुरा गरेसंगै यो श्रृंखलामा नेपाली चलचित्र क्षेत्रकी प्रथम अभिनेत्री भुवन चन्दले पनि अभिनय गर्ने पक्का भएको छ ।

श्रृंखलाले एक सय एक भाग पुरा गरेको अवसरमा श्रृंखलाका निर्देशक ऋषि लामिछाने तथा कलाकार तथा लेखिका सरिता लामिछानेले दर्शकलाई एउटा भिडियो सन्देशमार्फत धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

सफलताको सय हप्ता, सयौं श्रृंखलामा साथ दिनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद, निर्देशक लामिछानेले रमाइलो टिभीसहित सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गरेका छन् । अभिनेत्री सरिता लामिछानेले पनि दर्शकबाट भविष्यमा पनि यसरी नै माया र स्नेह पाउन सके सयौं, हजारौं भागसम्म यात्रा तय गर्न सकिने बताएकी छिन् ।

‘हाम्रो काम राम्रो राम्रो लाग्छ भने ताली दिनु होला, कतै चुक्यौं भने गाली गर्नु होला, निर्देशक लामिछानेले भनेका छन्-‘हामी तालिले मात्तिदैंनौं, गालीलाई आशीर्वादको रुपमा ग्रहण गर्नेछौं ।’

कविता गेलाल कार्यकारी निर्माता रहेको यो टेलिश्रृंखलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल, विष्णु रिजाल, गोमा केसी, कमल बोहोरा, सरोज दाहाल, आरके मानन्धर, मधुसुदन आचार्य, राजाराम गाैतम आदि कलाकारहरुले अभिनय गरिरहेका छन् ।

श्रृंखलामा आलोकश्रीको संगीतमा रहेको शीर्षक गीतलाई दर्शकले मन पराएका छन्, जसमा युवराज चौलागाईं र सुनिता लोको स्वर छ भने दयाराम पाण्डेका शब्द । श्रृंखलाले एक सय भाग पुरा गरेको अवसर पारेर अभिनेत्री मिथिला शर्माले फेसबुकमा केही तस्बिरसहित एउटा स्टाटस नै लेखेर बधाइ दिएकी छिन् ।

अभिनेत्री शर्माले स्टाटसमा लेखेकी छिन्– ‘हार्दिक बधाई तथा शुभकामना, मेरो दृष्टि, तपाईंको दृष्टि, हामी सबैको दृष्टि एकसय एक पुगेछ हाम्रो दृष्टि । ऋषिको निर्देशनमा चलायमान दृष्टि, रमाइलोको सुन्दर परिकल्पना दृष्टि, सरिताको लेखन अभियान हो दृष्टि, कबिताको आंटिलो निर्माण हो दृष्टि, दर्शकहरुको साथ र अपार मायाका लागि आभारी थियौं, छौं, सदा रहिरहने छौं दृष्टि परिवार ।’

टेलिश्रृंखला प्रत्येक शुक्रवार राति ८ बजे रमाइलो टिभीमा प्रसारण भैरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal