दर्शक बिना चलचित्र विकास असम्भवः शेखर सुवेदी

दर्शक बिना चलचित्र विकास असम्भवः शेखर सुवेदी

विभिन्न म्युजिक भिडियो मार्फत कलाकारिता क्षेत्रमा पाइला टेक्नु भएका कलाकार शेखर सुवेदी फरक लुक्सका कारण चर्चामा आउनु भएको छ । उहाँले आफ्नो कलाकारिता क्षेत्रमा प्रवेश गर्नु अगाडि पारिवारिक र साथीभाईको प्रोत्साहन नपाएपनि हाल आएर यस क्षेत्रमा चर्चित मात्र होइन, सबैको साथ र सहयोग समेत पाउनु भएको उहाँ बताउनुहुन्छ । नेपाली रणवीर सिंहको उपनामले चर्चाको शिखरमा पुग्न सफल कलाकार सुवेदीले स्नातक तहको अध्ययन पुरा गर्नुभएको छ । थिएटरबाट अभिनय यात्रा सुरु गरी विभिन्न म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्दागर्दै नेपाली कथानक चलचित्र “चिं मुसी चिं”बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको सुवेदीले “गाजा बाजा” र “निर्भय” मा अभिनय गर्नुभएको छ भने आउँदो फागुन महिनाबाट छायाँकनको कार्य सुरु गरिने चलचित्र “भाँडाकुटी” मा अभिनय गर्नुहुने पक्का भएको छ । यसैबीच कलाकार सुवेदीसँग लुक्सनेपालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

१. आजकल के मा व्यस्त हुनुहुन्छ ?
म्यूजिक भिडियो, चलचित्र, एड्भर्टिज्मेन्ट, फोटोसुटहरूमा व्यस्त छु ।

२. चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
चलचित्र क्षेत्रमा मेरो प्रवेश थिएटरमा नाटकहरुमा अभिनय गर्दै अडिसनहरूमा गएर र विभिन्न म्यूजिक भिडियोहरू खेल्ने क्रममा अवसर पाएर सुरु भएको हो ।

३. गीतमा मोडलिङ गर्नु र चलचित्रमा अभिनय गर्नमा कुन सजिलो ?
मलाई दुवैमा लगाव छ । त्यसैले दुवै नै सहज र सहज लाग्छ । तरपनि प्रश्नले भने अनुसार चलचित्रमा समय धेरै दिनुपर्छ, त्यसकारण गीतमा मोडलिंग गर्न अलि सजिलो हुन्छ ।

४. नेपाली रणवीर सिंहको उपनाम पाउँदा कस्तो अनुभव भयो ?
मेरो भिन्न पहिचान भएको कारण यो उपनाम दिनु राम्रो त हैन । तरपनि बलिउडका चर्चीत कलाकारसँंग तुलना गरेर उपनाम दिनु एउटा गौरवकै कुरा लाग्छ ।

५. फरक लुक्सको कारण चर्चामा आउनुभयो, लुक्स आफ्नो इच्छा अनुसार हो या अरू कसैबाट अभिप्रेरित हुनुभयो ?
लुक्स त आफैले नै बनाको हो, अभिप्रेरित कसैसँग भइन । काम गर्दै जाँदा धेरैले यहि लुक्स नै मनपराएको कारण र धेरै अफर पनि यहि लुक्सकै कारणले आयो । त्यसैकारणले पनि यहि लुक्स बनाएको हो ।

६. कलाकारितामा आउन प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?
प्रेरणाको श्रोत त कोही पनि भएनन् र कलाकारिता क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने पनि कोही थिएनन् ।

७. चलचित्र क्षेत्रमा प्रवेश नगर्नुभएको भए के गर्नु हुन्थ्यो ?
अभिनयमा लगाव भएको कारण यसमा नै धेरै समय दिएकोले अरू सोच गर्ने नै आएन । सायद, चलचित्र क्षेत्रमा नआएपनि थिएटर र गीतको मोडलिङ्गमा नै व्यस्त हुन्थे होला ।

८. चलचित्र क्षेत्रमा लाग्दा पारिवारिक सहयोग कस्तो छ ?
पहिला संघर्ष गर्दा चाहिँ थिएन तर अहिले चाहिँ राम्रै साथ छ ।

९. चलचित्र क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो देशको चलचित्र क्षेत्रमा संघर्ष गर्ने कलाकारहरूको लागि अवसर कम भएकोले सन्तुष्ट हुन सक्दिन तरपनि, अवसर आफैले नै खोज्ने हो भन्ने सोचले आफै काम गर्दा चाहिँ सन्तुष्ट नै छु । किनकी, म कम आशा गर्ने स्वभावको छु ।

१०. तपाइको रुचि?
मेरो रूचि अभिनय हो ।

११. कोभिड–१९ ले चलचित्र क्षेत्रमा पारेको असरलाई कसरी लिनुहुन्छ ?
यसको असरको कारण सिनेमा हल तथा थिएटरहरु बन्द गरिएको छ । फिल्म रिलिज हाललाई स्थगित गर्नु, भविष्यको अरु कुनै मिति तोकिनु वा अनिश्चितकालका लागि भनेर रोकिनुले गर्दा ढिलाई भएको छ । यसले ग्लोबल बक्स अफिसमा अरबौं डलरले गिरावट समेत आएको छ । स्ट्रिमिंग अझै लोकप्रिय हुँदै आएको छ, जबकि फिल्म प्रदर्शकहरूको स्टक पनि खस्किएको छ । मूल रूपमा मार्च र नोभेम्बर बीचमा रिलिज हुने निर्धारित धेरै ब्लकबस्टरहरू विश्वव्यापी रूपमा स्थगित वा रद्द गरिएको छ । फिल्म निर्माणहरू पनि रोकिएको कारण देशको आर्थिक कुरामा मात्र होइन, चलचित्र क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्य गर्नुहुने जोकोहीलाई प्रत्यक्ष असर गरिरहेको छ ।

१२. भावी योजनाहरू के–के छन् ?
योजना त त्यस्तो खासै केही गर्दिन । तरपनि राम्रो र श्रृजनात्मक चलचित्र तथा म्यूजीक भिडियोहरू गर्ने सोच छ ।

१३. अन्त्यमा, आफ्ना दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ?
देशको राम्रो कलाकार र चलचित्रको विकासमा सबैभन्दा ठूलो योगदान दर्शकहरूकै हुने हो । दर्शक बिना चलचित्र विकास असम्भव जस्तै हो । त्यसैले, नेपाली चलचित्र र कलाकारहरूलाई सधैं माया गरी दिनुहुन अनुरोध गर्दछु । साथै, कोभिड–१९ को महामारीको अवस्थामा सम्पूर्ण चलचित्रप्रेमी लगायत समस्त नेपाली दाजुभाइ–दिदीबहिनीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal