परम्परागत विकृतिको अन्त्य गर्न जरुरी

परम्परागत विकृतिको अन्त्य गर्न जरुरी

डा. धर्मराज उपाध्याय

देशमा राजनीतिक परिवर्तन भएपछि जनतामा एक खालको उत्साह पलाएको थियो । अब देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो ।

अहिले ती आशा र उत्साह निराशामा परिणत भएका छन् ।अहिले मुलुकको भविष्य अन्धकार तर्फ उन्मुख भएको संकेत देखिन्छ ।दल र तिनका नेताहरु निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनीहरुले जनताको हितलाई सर्वोपरि ठानेनन् । अब देशमा आशलाग्दा नयाँ अनुहारको नेतृत्व आवश्यकता छ । किनभने उनै पात्र, उही प्रवृति भएका नेताबाट देशको विकास हुन सकेन । अब नयाँ सोच, नयाँ शैली र दुरदर्शी नेतृत्वको खाँचो छ । स्वार्थी व्यक्तिहरूको नेतृत्व बाट देश माथि उठ्न नसकेको पुष्टि भै सकेको छ ।

यो राजनीतिक विकृतिको पराकाष्ठा हो ।राजनीतिमा दलीय सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले बढावा पाउँदै आएको छ । गुटगत राजनीतिलाई बलियो बनाउन नेताहरु जस्तोसुकै हतकण्डा प्रयोग गर्न पनि पछि परेनन् । नेताहरु सत्तामा पुग्न र टिकिरहन जस्तोसुकै कदम उठाउन पनि तयार भए । सत्ता जोगाउनका लागि शीर्षस्थ नेताले पुरानै प्रवृत्तिलाई निरन्तरण दिँदै आए । लोकतन्त्रको नाममा गुटतन्त्र हावी हुँदै आएको छ ।

यो देश र पार्टीकै लागि हानिकारक छ । पार्टीको विधि विधान भन्दा व्यक्तिको स्वेच्छाचारितामा राज्य सञ्चालित हुँदा यस्ता समस्या आउने गर्छन् ।यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म देश र जनताको हित हुँदैन । सबै दलका अधिकांश शीर्षस्थ नेताहरू यही मानसिकता बोकेका छन् । अवसरवादी नेताहरू नै पटक पटक सत्तामा पुगिरहने र नयाँ अनुहारलाई अवसर नदिने हो भने निकट भविष्यमा मुलुकमा अर्को राजनीतिक संकट नआउला भन्न सकिदैन ।

यदि देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने नै हो भने मुलुकमा अब राजनीतिक पुस्तान्तर अनिवार्य छ । युवा नेताको दुरदर्शी कार्यशैली राष्ट्रहितको कार्यमा परिक्षण गराउने बेला यही हो ।परम्परागत प्रवृत्तिलाई निरन्तरता दिने होइन, विकास र प्रगति गर्ने युवा नेता देशले चाहेको छ । मुलुकमा राजनीतिक परिवर्तन भयो । तर नेताहरूको कार्यशैलीमा परिवर्तन भएनन् । यस्ता परम्परागत विकृतिको अन्त्य गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal