गुणस्तरहिन काम गरेको भन्दै अनुगमन टोलीले भत्कायो पक्की नाली

गुणस्तरहिन काम गरेको भन्दै अनुगमन टोलीले भत्कायो पक्की नाली

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकाको तिरतिरेधारा–पदालीचौर हुँदै अनेकोट भ्यूटावर जाने सडकमा बनाएको पक्की नाली गुणस्तरहिन भएको भन्दै अनुगमन टोलीले भत्काईदिएको छ ।

चम्पेश्वर निर्माण सेवाले बनाएको ११ सय ४५ मिटर पक्की नाली मध्ये ७६ मिटर गुणस्तरहिन काम गरेको भन्दै भत्काएर पुनःनिर्माण गर्न निर्देशन समेत दिइएको अनुगमन समितिका संयोजक पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिईन । उपप्रमुख दनुवारका अनुसार ७६ मिटर पक्की नालीमा मापदण्ड अनुसारको सामाग्री प्रयोग नभएकोले पुनः भत्काएर बनाउन भनिएपनि ठेकेदार कम्पनीले अटेरी गरेका कारण सोमवार अनुगमनको क्रममा भत्काईदिएको जानकारी दिईन । गुणस्तर काम नगरे ठेकेदारले पाउने रकम समेत भुक्तानी नदिने नगर उपप्रमुख दनुवारको भनाई छ ।

त्यस्तै पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष एवं अनुगमन समितिका सदस्य रामशरण दुलालले पक्की नाली बनाउने क्रममा माटो राखेर ठेकेदारले गुणस्तरहिन काम गरेकोले पुनः बनाउनु पर्ने बताए । कमजोर निर्माण भएकोले जनप्रतिनिधिले समेत विकास निर्माणका कामहरुको अनुगमन गर्नुपर्ने उनको भनाई थियो । योजनाको सोमवार उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष रामशरण दुलाल, प्राविधिक रोशन ढुंगाना तथा स्थानीयहरुले सयुक्त अनुगमन गरेका थिए । अनुगमन समितिले यस अघि पनि अनुगमनका क्रममा गुणस्तरहिन काम भएकोले पुनः बनाउन भनेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal