पत्रकारितामा महिलाका चुनौतीहरुः पारिश्रमिक र परिवार

पत्रकारितामा महिलाका चुनौतीहरुः पारिश्रमिक र परिवार

सम्झना हुमागाई, काभ्रे ।
काभ्रेपलाञ्चोक बनेपा ६ स्थित बाँसघारी बस्ने पवित्रा भुर्तेल कुनै समय जिल्लामा सक्रियरुपमा पत्रकारिता गर्ने महिलाको रुपमा परिचित थिइन् । २०६१ सालको अन्त्यतिर काभ्रेबाट मोफसलको पत्रकारिता थालेकी उनले ७ वर्षसम्म सक्रियरुपमा काम गरिन् । जिल्लास्थित सञ्जीवनी साप्ताहिकबाट काम सुरु गरेकी उनले त्यसपछि चेष्टा साप्ताहिक, इन्द्रावती साप्ताहिक हुँदै गोरखापत्र दैनिकमा जिल्ला संवाददाताको रुपमा काम गरिन् । तर, २०६७ सालपछि भने उनले पत्रकारिता यात्रामा पूर्णविराम लगाइन् । उनले पत्रकारिता छाड्नुको मुख्य कारण थियो समयमै पारिश्रमिक नपाउनु र आफूले जिल्लाबाट पठाएका समाचारलाई गोरखापत्रले महत्व नदिनु । उनी भन्छिन, ‘त्यतिबेला प्रविधिको सहज पहुँच थिएन, कम्प्यूटर तथा ल्याप्टपमा समाचार लेख्नका लागि पालो कुर्नु पथ्र्यो, समाचार लेखेर पठायो तर समयमै प्रकाशित नहुने । हाम्रा लेखहरुलाई मिडिया हाउसहरुले त्यति रेक्पोन्स् नगर्दा साह्रै नमज्जा हुन्थ्यो, त्यसमाथि पारिश्रमिक पाउने त ठेगाननै नहुने । त्यसअवस्थामा पत्रकारिताबाट आर्थिक व्यवस्थापन नहुने देखेपछि म बाहिरिए ।’ पत्रकारिता क्षेत्र एकदमै मनपर्ने र आत्मसन्तुष्टि मिल्ने ठाँउ भएपनि यसमै रहन नसक्दा दुख लागेको उनी सुनाउँछिन् । ‘आफूले लेखेको समाचार प्रकाशन हुँदा छुट्टै आनन्द आउँथ्यो, अहिले जतिसुकै आर्थिकरुपमा सबल भएपनि त्यतिबेला काम गर्दाको जस्तो आत्मसन्तुष्टि भने छैन, कहिलेकाहि लाग्छ चुनौतीका बावजुद यो पेशामा रहिरनुपर्ने रहेछ, तर आर्थिक पाटो सम्झिँदा भने निराश हुन्छु,’ उनी बताउँछिन् । पत्रकारिता पढेर यस क्षेत्रमा लागेकी भुर्तेल नेपाल पत्रकार महासंघको काभ्रे शाखामा दुई पटक कार्यसमिति सदस्य पदमा समेत निर्वाचिक भएकी थिइन । पत्रकारिताबाट पूर्णरुपमा निस्क्रिय भुर्तेल अहिले प्रदेशसभा सदस्यको सचिवालयमा कार्यरत छिन् ।

तेमाल गाँउपालिका ८ काभ्रेकी सुनिता तामाङले २०६४ सालमा पत्रकारिता यात्रा सुरु गरिन् । उनी पनि ७ वर्षसम्म पत्रकारितामा क्षेत्रमा सक्रिय रहिन् । त्यसपछि भने उनीले यो पेशा छाडिन् । उनले पत्रकारिता छाड्नुको मुख्य कारण पारिश्रमिक नपाउनु नै हो । ‘दिनरात नभनी जुनसुकै समयमा पनि काम गर्नुपर्ने, क्यामेरासमेत आफै किनेर काम गरियो, तर पारिश्रमिकनै कम त्यसमाथि समयमै नआउने’ तामाङले बताइन् । उनले पत्रकारिता तालिम लिएर २०६४ सालबाट जिल्लामा प्रकाशित हुने पूर्विय दर्शन नामक पत्रिकाबाट पत्रकारितामा क्षेत्रमा कलम चलाएकी थिइन । पूर्विय दर्शनबाट सुरु गरेको उनको पत्रकारिता यात्रा सुनकोशी साप्ताहिक, रेडियो नमोबुद्ध हुदै एभिन्यूज टेलिभिजनसम्म पुग्यो । २०७० सालसम्म विभिन्न मिडियामा आवद्ध भएर काम गरेकी सुनिता त्यसपछि भने विस्तारै यो क्षेत्रबाट निस्क्रिय भइन् । सुनिता भन्छिन, ‘मैले एक टेलिभिजनमा जिल्ला संवाददाता भएर काम गरेबापत पाउनुपर्ने पारिश्रमिक लिन अझै बाँकी छ । यस्तो अवस्थामा पत्रकारितामै कतिन्जेल रहने ? त्यसैले पत्रकारिताबाट पछि हटे ।’ अहिले उनी कुनै पनि मिडियासँग आवद्ध छैनन । हाल धुलिखेल बस्ने तामाङ जिल्ला स्थित शान्ती जनआर्दश नामक गैह्रसरकारी संस्थामा काम गर्छिन । त्यसबाट पाउने पारिश्रमिकबाट उनी सन्तुष्ट छिन् ।

मध्यमार्ग साप्ताहिकमा आवद्ध पनौती ८ की शर्मिला गिरीले ३ वर्षसम्म मध्यमार्ग साप्ताहिकमा काम गरिन् । त्यसपछि २०७५ फागुनमा सिन्धुलीको तीनपाटन गाँउपालिकामा उनको विवाह भयो । अहिले उनको काखमा १० महिनाको शिशु छ । आमा बनेपछि उनले यो अवधिभर पत्रकारितामा सक्रिय हुन सकेकी छैनन । तर उनी अब छिट्टै काममा फर्किने बताउँछिन् ।

पवित्रा र सुनिता जस्तै कैयौं महिला पत्रकार पेशामा स्थायी हुन नसकेका थुप्रै उदाहरण छन् । पत्रकारितामा धेरै समय दिनुपर्ने, रातिको समयमा पनि काम गर्नुपर्ने, पारिश्रमिक समयमा नपाउने, रिर्पोटिङ्गका क्रममा टाढा टाढा धाउनुपर्ने, महिला भएकै कारण हेपिनुपर्ने, पारिवारिक समस्या जस्ता चुनौती छन् । महिलाहरुले यस्ता विविध कारणले गर्दा पत्रकारितामा टिकिरहने अवस्था रहदैन । अनि त महिलाको संख्या कम देखिन्छ र थोरै संख्या हुँदा पेशामा एक्लो महसुस हुनु स्वभाविक हो । विवाहपछि बच्चा जन्माउनु पर्ने र उनीहरुलाई मातृत्व दिनुपर्ने, त्यस्तो समयमा सञ्चार गृहले महिलामैत्री वातावरण नबुझ्ने गर्दा काम छाड्नुपर्ने अर्को बाध्यता छ ।

काभ्रे जिल्लामा पत्रकारिता क्षेत्रमा कलम चलाउने महिलाको संख्या यसैपनि कम छ । त्यसमाथि पनि यसैमा टिकिराख्नेको संख्या नगन्य छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अनुसार जिल्लामा कूल १२३ जनाले महासंघको सदस्यता पाएका छन् । त्यसमा महिला सदस्यको संख्या जम्मा १६ छ । सदस्यता नभएका अन्य केही महिला पनि पत्रकारितामा छन् । उनीहरु प्राय रेडियो र अनलाइनमा आबद्ध छन् । महासंघमा सस्दयता पाएका अधिकांश महिला पनि पूर्णरुपमा पत्रकारितामा सक्रिय छैनन । पत्रकारितालाई मुख्य पेशा भन्दा फुर्सदमा गर्ने कामको रुपमा मात्र लिएका छन् । रेडियो काम गर्ने महिलाहरु अधिकांश पार्टटाइमर छन् । त्यसमा पनि उनीहरु समाचार वाचिका वा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छन । पत्रकारिता क्षेत्रमा भविष्य बनाउछु भन्दै आएका कति महिला अहिले भविष्य नदेखेपछि यो पेशाबाट बाहिरिएका छन् ।

महिलालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुदैं आएको भनिएतापछि आज पनि समाजले महिलालाई हेर्ने दृष्टिकोणमा कहि न कहि पितृसत्ता सोच हाबी हुदाँ पनि यस क्षेत्रमा कठिनाइहरु रहेका छन् । यसका बाबजुद् पनि ३ वटा बच्चा हुकाउदै पारिवारिक जिम्मेवारीसहित क्रियाशिल महिलाहरु पनि कार्यक्षेत्रमा अझै सक्रिय छन् । यसको ज्वलन्त उदाहरण मोफसल पत्रकारितामा क्रियाशिल रमा दाहाल पनि हुन् । कान्तिपुर टेलिभिजनमा जिल्ला संवाददाताको रुपमा कार्यरत रमा दाहाल बताउँछिन् ‘महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै व्यवहारिक रुपमा परिवर्तन भएको छैन, महिलाहरुलाई आजपनि पत्रकारिता गर्न त्यति सहज छैन । सुरुमा पत्रकारिता गर्दा मैले पनि यस्ता धेरै अनुभव भोगेकी छु । महिला पत्रकार भनेर मलाई जिल्ला प्रशासन कार्यालयमै रोक लगाउने कार्य पनि भएको थियो’ ।

पत्रकारिता क्षेत्रमै काम गर्ने र यसैलाई मुख्य पेशाको रुपमा लिने महिलाको संख्या कमी भएपनि पछिल्लो समय पत्रकारिता पढ्ने महिलाको संख्या बढेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम काभ्रे बहुमुखी क्याम्पसमा विगत १६ वर्षदेखि पत्रकारिता पढाउँदै आउनुभएका ईश्वरी ओझाका अनुसार पत्रकारिता विषय पढ्ने छात्राहरुमध्ये अन्त्यन्त न्यूनले मात्र पेशाको रुपमा पत्रकारिता गर्ने गरेका छन् । ‘उनीहरु कतिपय बुझेर, कति नबुझेर वा कसैले ग्ल्यामर फिल्डको रुपमा यस क्षेत्रलाई लिने गरेका छन् । त्यसैले काम सुरु गरेको केही समयमै कतिपय महिलाहरु पत्रकारिता क्षेत्रबाट विस्थापित हुने गरेका छन्,’ ओझाले बताए । कम पारिश्रमिक पाउनु, समयमा पारिश्रमिक नआउनु, विवाहपछिका पारिवारिक समस्या, समय धेरै दिनुपर्ने लगायतका कारण महिलाहरु यो क्षेत्रमा संस्थागत हुन नसकेको उनको बुझाइ छ । अर्कोतर्फ बजार सानो भएकाले मिडिया हाउसले आम्दानी गर्न नसक्नुका कारण तलब भुक्तानी गर्न नसेकेको उनले बताए । विशेषगरी पारिश्रमिकको समस्या भने ठूला सञ्चार गृहमा आवद्ध भएकाहरुले भोग्ने गरेको पत्रकार ओझाको भनाइ छ ।

महिलालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्नका लागि नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश देखि जिल्ला शाखाहरुले विभिन्न प्रयासहरु गर्दै आएका छन् । पछिल्ला दिनमा तीनै तहका सरकार र विभिन्न संघसंस्थासँग समन्वय गरेर उनीहरुको क्षमता अभिवृद्धिका लागि महिला लक्षित तालिमका अवसरहरु ल्याइरहेका छन् । बाग्मती प्रदेशले सरकारले पनि महिला पत्रकारिता सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्याउदै आएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफूहरुले गर्ने कामको कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ । यसमा महिलासँग सबन्धित मुद्धाहरुलाई समेट्ने अध्यक्ष बद्रीराज तिमल्सिनाले बताए । महिलालाई पत्रकारितामा स्थायी राख्नका उनीहरुलाई काम गर्ने माहौल सिर्जना गर्ने, नेतृत्वमा समेट्ने, सेवा सुविधा, अध्ययन, तालिमका अवसरहरुमा प्राथमिकता दिने उनको भनाइ छ । ‘महिला पत्रकारलाई कसैबाट लौङिगक हिंसा भएमा, हतोत्साही हुने कार्य कहि कसैले गरेमा वा काम गर्ने क्रममा अवरोध गरेको अनुभुति भएमा उनीहरुका हरेक समस्याको सम्बोधनका लागि महासंघ तयार हुने छ, तिमल्सिनाले बताए ।

पत्रकारिता क्षेत्रमा व्यवसायिक दक्षता, आत्मविश्वास, जनसम्पर्क, चुनौतीको सामना गर्छु भन्ने अठोटको आवश्यकता पर्छ । समाजमा जरो गाडेर बसेको पितृसत्तात्मक सोचका कारण महिलाका लागि चुनौतीपूर्ण त छ नै, तर उनीहरुले पनि त्यो चुनौती पार गर्ने अठोट लिनसक्नुपर्छ । अधिकार अरुले दिने भन्दा आफैले लिन सिक्नुपर्छ । पछिल्लो समय सूचना प्रविधिको विस्तारले पनि विगतमा भन्दा पत्रकारिता गर्न सहजता थपिएको छ । महिला पत्रकारले महिला र बालबालिकाका मुद्धामा मात्र केन्द्रित भएर पुग्दैन । अन्य क्षेत्रमा पनि अघि बढ्नुपर्ने देखिन्छ । अर्कोतर्फ बजार सानो तर सञ्चार गृह धेरै । अनि त्यसको मारमा पर्ने गर्छन्, सञ्चारकर्मी । समयमा तलब आउदैन । यसको नियमनका लागि सरकारलेनै सञ्चार गृहको अनुमति प्रदान गरेदेखिनै संरक्षणको जिम्मेवारी लिनुपर्ने देखिन्छ । अनि मिडिया हाउसले पारिश्रमिक दिने सक्ने सुनिश्चितता भएपछि मात्र श्रमिकलाई काममा लगाउनुपर्छ । नियमित पारिश्रमिक, महिलाका समस्या सम्बोधन, विवाहपछिको मातृत्व र जिम्मेवारी, महिलमैत्री वातावरण र संरचना (स्तनपान कक्ष) निर्माण गरेर उनीहरुको भूमिकालाई बढाएमा मात्र पत्रकारिता क्षेत्रमा महिलाको स्थायित्व कायम हुने देखिन्छ ।

लेखकः रेडियो अरनिको र अरनिको टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal