काभ्रे कांग्रेसको कृयाशिलता विवादकाे नालिबेलि

काभ्रे कांग्रेसको कृयाशिलता विवादकाे नालिबेलि

काभ्रे / नेपाली कांग्रेसको आशन्न १४ आैं महाधिवेशन लाई लिएर भएकाे कृयाशिल विवादले अझै पनि समयमै महाधिवेशन हुन्छ कि हुन्न भन्ने अन्याेल कायमै छ ।

पटक पटककाे कृयाशिल विवाद मिलाउने प्रयास काभ्रे जिल्लाकाे कांग्रेस नेतृत्वले गर्न खाेजेपनि अर्काे पक्षकाे उल्झनले विवाद समाधान हुन सकेकाे छैन । नेपाली कांग्रेस काभ्रे जिल्लाकाे कृयाशिलताकाे विवादकाे चुराे कुराे बुंदागत रुपमा प्रस्तुत छ ।

काभ्रेमा क्रियाशील सदस्यता सम्वन्धी खास समस्या के हो ?

१.नेपाली कांग्रेस काभ्रेले क्रियाशील सदस्यता वितरण गर्दा साविकका सबै क्रियाशील सदस्यहरुको भेला बोलाएर सामुहिक छलफलबाट मात्र क-कसलाई दिने निर्णय गर्न सबै वडा कार्यसमितिलाई निर्देशन दियो। स्थानीय निर्वाचनमा पार्टीको विजयलाई बल पुर्याउनेगरी सबै टोल-वस्ति, जाति-जनजाति, युवा-महिला सबैलाई समेटेर पारदर्शी रुपबाट क्रियाशील बाँड्ने निर्देशनबाट स्थानीय साथीहरु उत्साहित भएपनि हरेक अधिवेशनमा क्रियाशील सदस्यता आफूखुसी बाँड्ने, काट्ने-थप्ने गर्दैआएका नेताहरुले यो विधिलाई फिटिक्कै मन पराएनन।र, शुरु देखिनै यो विधि विरुद्ध वडाका साथीहरुलाई भड्काउन खोजेका हुन तर एकाध वडा बाहेकले यीनका कुरा सुनेनन । अहिले कतिपय वडामा वडाको भेलाले सिफारिस गरेका नाम गायव पारिएको छ र केही वडामा सिफारिस नै नभएका नामहरु थपिएको छन्।

२. भौगोलिक रुपले विकट कतिपय ठाऊँका वडामा त जिल्लाले पठाएका क्रियाशील सदस्यता फाराम पनि समयमै दिइएन । पुरानै बानी परेका नेताहरुको निर्देशनमा त्यस्तो ठाऊँमा अघिल्ला अधिवेशनमा झैं पेलपाल झेलझालको रणनीति बन्यो। खानीखोला गाउँपालिकामा त ७ वटै वडाका फाराम बुझेको कागजमा बृध्द सभापतिलाई दस्तखत गराएर पनि फाराम दिइएन । बनेपा धुलिखेलमा बसेर आफूखुसी नाम भर्ने योजना बुनेर फाराम फिर्ता ल्याइयो। फाराम दिएको छ र छैन को नाटक हप्तौंसम्म चल्यो। निकै चर्को दवाव परेपछि मात्र लाजगाल प्रदेससभा क्षेत्रीय कार्यसमितिले निकैपछि फाराम पठायो, त्यो पनि संख्या घटाएर । अहिले त्यहाँका केही वडाहरुमा जथाभावि नाम काटिएका र थपिएका छन्।

३. नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सभापतिको विशेष अनुरोधमा नयाँ क्रियाशील सदस्यता भर्दा न्यूनतम एक-तिहाई महिलालाई अनिवार्य भराउनुपर्ने प्रस्ताव पास गर्यो। यो कुरा मैं हुँ भन्ने नेताहरुलाई कत्तिपनि मन परेन। जिल्ला समितिले गरेका हरेक राम्रा र जायज काम समेत सुन्न नसक्ने भएपछि यसलाई पनि भाँड्ने जुक्ति निस्क्यो र केन्द्रीय परिपत्रमा त्यस्तो अनिवार्य ब्यवस्था नभएकाले मान्नैपर्छ भन्ने छैन भन्ने तर्क अघि सारियो। जस्को परिणाम अहिले कतिपय वडामा चाहिनेजति संख्यामा महिलाको प्रतिनिधित्व समेत नहुने अवस्था छ।

४. नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मतिबाट जिल्ला कार्यालय भवन निर्माणका लागि नयाँ पुराना सबै क्रियाशील सदस्यबाट दुई सय रुपैया उठाउने निर्णय गर्यो। यसअघि पनि भवन निर्माणको लागि भनेर पैसा उठाएका तर भवन नबनाएकाहरुलाई यो निर्णय असह्य भयो। कहीं पैसा नदेऊ भन्ने, कहीं एक सय दिए भैहाल्छ नी भन्ने, कहीं पैसा उठेन भनन भन्ने, कहीं उठेको पैसा पनि नदेऊ भन्ने, कहीं यिनीहरुले भवन बनाउँदैनन किन दिन्छौ भन्ने, कहीं म त दिन्न तिमीहरु किन दिन्छौ भन्ने मान्छेपिच्छे कथा बनाउने र सुनाउने काम भयो । वडाको अधिवेशन मुखमा आइसक्यो, अहिले पनि ठूलावडाका आदेश पालना गर्ने पालिका वा क्षेत्रले फाराम र पैसा बुझाएका छैनन। यहीकारणले पनि अधिवेशन प्रभावित हुँदैछ। पार्टी केन्द्रले सबै रकम, फाराम र लेबी नबुझाउनेले अधिवेशनमा भाग लिन नपाउने सूचना निकालिसकेको छ।

५. धेरै वडामा साविकको संख्याभन्दा बढी साथीहरु क्रियाशील सदस्यता प्राप्त गर्न चाहन्थे, नदिइनहुने साथीहरु पनि थुप्रै थिए। तर केन्द्रले साविकको संख्याभन्दा एउटा पनि बढी फाराम दिन नसकिने बतायो। जिल्लाले साथीहरुलाई त्यसैमा चित्त बुझायो । तर ईन्ट्री भएको सूची हेर्दा काभ्रेका धेरै वडामा शतप्रतिशतभन्दा बढी नामहरु केन्द्रबाट सोझै थपिइएको पाइएको छ। पनौती, धुलिखेल, नमोबुध्द, बेथान्चोक लगायतका वडाहरुमा प्रष्टै देखिन्छ।

६. सबैभन्दा ठूलो मज्जाक त पाँचखाल नगरपालिका वडा नं १२ का क्रियाशील साथीहरु माथि गरिएको छ। पार्टीमा लामो समयदेखि काम गरेका, विगतका सबै निर्वाचनमा पार्टी उम्मेदवारलाई जिताउन लागिपरेका, ऊर्जाशील युवा महिलाहरु नयाँ क्रियाशील सदस्यताबाट बन्चित भएका छन। समस्या समाधानमा लागिपर्नु त कता हो कता, पार्टी संगठनलाई गंभीर आघात पुर्याउने काम भयो।

७. ब्यक्तिको राजनीतिक हत्या गर्ने दुराशय काभ्रे कांग्रेसमा यसपल्ट पनि देखियो । जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य भोला थापा र क्षेत्रीय कार्यसमितिका निर्वाचित सदस्य प्रल्हाद केसीलाई वडाबाटै सक्ने डिजाइन अन्तर्गत पनौती नगरपालिका ५ नं वडाको नयाँ क्रियाशील सदस्यता फाराम भर्ने काम साविकका सदस्यहरुको बैठक नै नराखी सीमित ब्यक्तिहरु बसेर निर्देशानुसार सम्पन्न भयो । नेपाली कांग्रेसमा सधैं भोट हालेका, निर्वाचनमा खटेका २५ जनालाई “अन्य पार्टीबाट प्रवेश गरेका” को बदनामी बिल्ला भिराएर त्यही वडामा थपेर ल्याइयो। त्यतिगर्दा पनि हराउन नसकिएला कि भन्ठानेर राप्रपाका नाममा एकाघरपरिवार भित्रका ५८ जनाको नाम थप्ने षड्यन्त्र बुनियो । साविकको भन्दा १६ जनाको अरु नाम पनि थपिएको छ। गत प्रदेससभाका सांसद उम्मेदवार गणेश लामालाई वडामै हराउने षडयन्त्रमा रोसी वडा नं १ मा त्यसैगरी अन्य दल र राप्रपाका नाममा धेरै नामहरु थपिएका छन्।

८. चौरी देउराली-८ ले नियमानुसार प्राप्त गरेको ८४ वटा फाराम क्रियाशील भेलाले निर्णय गरेअनुसार भरेर पठायो । तर, कहीं नभएको जात्रा हाँडीगाऊँमा भने झैं केन्द्रलाई गलत प्रभावमा पारेर तीमध्ये पनि छानीछानीकन ४८ वटा (त्यसमा पनि तल निर्णय नै नभएका केही नाममा टिपेक्स लगाएर) नाम ईन्ट्री गरिएको छ। सँगै फाराम भरेका, पैसा बुझाएका अन्य नामहरु अलपत्र परेका छन। भुम्लु १,२, ४ र ८ बाट फाराम र पैसा बुझाएर पठाएकाहरुको समेत नामहरु वेवसाईटमा नदेखिएको सम्वन्धित वडा सभापतिहरुको गुनासो छ। कतिपयको नाम बिगारिएको छ, कतिको अर्कै वडाको सूचीमा नाम प्रकाशित छ। संशोधन गर्न पठाइएका कतिपय गुनासाहरु संशोधन भएका छैनन्।

९. सबैभन्दा ठूलो नसुहाँउदो गाईजात्रा त पनौती नगर कार्यसमितिले गर्यो। मातहतका वडालाई समयमै पैसा र फाराम बुझाउन हुटहुटी लगायो । समयअगावै १२ वटै वडा कार्यसमितिले आदेशानुसार सबै बुझाए ।तर संरक्षक नेताको कुनिर्देशनको आडमा अरु नेतामाथि धारे हात लगाउँदै नगर सभापति पोको च्यापेर बसे। क्षेत्रीय कार्यसमितिले तागेता लगाएकोमा सुनेकोनसुन्यै गरे। संगठन ध्वस्त बनाउने प्रपंच बुझेका जिल्ला सभापतिले फाराम पैसा नआएपनि फटाफट नवीकरणको नामावली ईन्ट्री गरिदिएपछि नैतिक रुपले नगर समिति फस्यो । त्यसमाथि नगरभित्रका अन्य साथीहरु लिएर नयाँ नामावली समेतको ईन्ट्रीका लागि सभापति स्वयं पटकपटक डेलिगेसन गएपछि नयाँ समेतको ईन्ट्री भयो। आफूले खनेको खाडलमा नगर सभापति र उनका गुरु समेत खसेको चर्चा अहिले पनौतीभरी छ। पनौती-७ मा साविकको संख्या बराबरको क्रियाशील सदस्यता फाराम नगरले नदिएर अन्तै पठाएको रहस्य खुलेपछि यसका स्थानीय मतियार समेत विवादमा परेका छन्।

१०. “अन्य पार्टीबाट” आएकाहरुको नामावलीमा पनौती नगरपालिकाकी उपप्रमुख उम्मेदवार अन्जु रंजीत, पनौती नगरपालिकामा प्रमुखका दावेदार प्रदिप बोगटी, पनौती वडा नं १० की निर्वाचित महिला वडा सदस्य सरिता नेपाल , पनौती नगर महिला समन्वय समितिकी सचिव अनिता कार्कीको नाम जोडेर यी सबैको वदनाम गर्ने काम भयो । जन्मजात कांग्रेस रहेका र कांग्रेसमा लामो योगदान गरेका यीनलाई नवप्रवेशीको बिल्ला भिराउने काम जिल्ला सचिव दिनेश लामा र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको हर्कतबाट भएको कुरा केन्द्रीय पार्टी सचिवालयले पुष्टि गरेको छ। सत्य तथ्य सार्वजनिक भएपछि आफ्नो इतिहास मेट्न खोजेकोमा एकाधलाई छोडेर ५४ जना रुष्ट भएका छन्।

११. तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले पेश गरेका ८७२ (जिल्ला भरेको) नामावलीमध्ये २०० भन्दा बढी प्रतिवध्द ब्यक्तिहरुको नाम केन्द्रीय नेतृत्वको आडमा अन्धाधुन्ध काटिएको छ। कुन वडामा कति संख्या काट्दा आफ्ना पिछलग्गूलाई जिताउन सकिन्छ भनेर हिसाब गरीगरी हटाउने र थप्ने गरेका छन। केही दिन अघिसम्म भएका नामहरु समेत अहिले गायव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal