दुर्गन्धित बनेपा

दुर्गन्धित बनेपा

बनेपा/जिल्लाको सबैभन्दा पुरानो नगरपालिका तथा पूर्वी जिल्लाहरुको व्यापारिक केन्द्र बनेपा नगरपालिकाले महिनौ देखि फोहर फ्याक्ने डम्पीङसाईडको व्यवस्थापन गर्न नसक्दा बनेपा दुर्घन्धित बन्दै गएको छ ।

नगरले फोहोर व्यवस्थापन नगर्दा विभिन्न ठाउँमा फोहोर थुप्रिएका छन् भने केहि संकलन गरेर राखिएको फोहर बनेपा बजारको विच भागमा रहेको बसपार्कभित्र र नगरको गेट अगाडि थुपारेका कारण बजारनै दुर्घन्धित भएको हो । बसपार्क भित्र फोहोर फालेर डङ्गुर बनाएपछि दुर्गन्ध फैलिएको भन्दै विद्यार्थी, स्थानीय र ब्यवसायीहरुले विरोध उत्रिएका छन । बनेपा नगरपालिकाले फ्याक्दै आएको श्रीखण्डपुरमा त्यहाँका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै फोहोर फ्याक्न रोक लगाएपछि नगरले बनेपाको बसपार्कमा फोहोर थुपार्दै आएको थियो । नजिकै रहेको रामभक्त मेमोरियल बिद्यालय, एकिकृत खानेपानी कार्यालय, सामुदायिक प्रहरी कार्यालय तथा त्यस आसपासमा व्यापार व्यवसायी गर्ने व्यवसायी, स्थानीयबासी तथा बटुवाहरु मारमा पर्दै आएका छन । रामभक्त मेमोरियल बिद्यालयका बिद्यार्थीहरुले केहि दिन अघि हाम्रो स्वास्थ्यको ख्याल गरिदिनुहोस, फोहोर संकलन केन्द्र तुरुन्त हटाइदिनुहोस् जस्ता प्ले कार्ड लिएर नगरको ध्यानर्कषण गराएका थिए ।

स्थानीयहरुले गर्मी बढ्न थालेकाले दुर्गन्धले विभिन्न रोगहरु लाग्ने बन्दै विरोधमा उत्रिएका छन । स्थानीयहरुले फोहर फाल्न आउनेहरूलाई फर्काउने गरेका छन् । नगरपालिकाले समेत नगरभित्र भएको फोहरहरू त्यही थुपार्ने गरेकोमा त्यसलाई समेत बसपार्क आसपासका स्थानीय बासिन्दाहरूले रोक लगाएका छन् । गर्मी महिना सुरु भएसँगै दुर्गन्धले रोगको महामारी फैलने हो की भन्दै स्थानीय चिन्तीत बनेका छन् । विद्यालय नजिकै फोहरको डङ्गुर रहेका कारण विद्यार्थीहरू विरामी पर्न थालेपछि विद्यालयले समेत बिरोध जनाएका छ । महिनौदेखि को नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, स्थानीय र बाटोमा हिँड्ने बटुवाहरु समेत मुख थुनेरै हिँड्न बाध्य भएका छन् ।

२०५५ सालदेखि डम्पिङ साइटको रुपमा प्रयोग गर्दै आएको आइटिपार्कको क्षेत्र स्थानीयको चर्को विरोध आएपछि नगरपालिकाले फोहोर फ्याक्न सकिरहेको छैन । बनेपा, पनौती र धुलिखेलको लागि संयुक्त रुपमा डम्पिङ साइट बनाउन पनौती पस्थलीमा प्रस्ताव गरिएपनि हुन सकेन । बनेपा नगरपालिकामा फोहोर व्यवस्थापन गर्न असहज भएको भन्दै संघीय मामिला मन्त्रालय र फोहोर मैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रमा पटक पटक जानकारी र पत्रचार गर्दा समेत सम्बन्धित निकायले चासो नदिदाँ बनेपा नगरपलिकामा नियमित जस्तो समस्या बन्दै आएको छ ।

यस विचमा फोहोर व्यवस्थापनको लागि नगरले पहल गरिरहेको बनेपा नगरका उप–प्रमुख रेखा दाहालले जानकारी दिईन । एक कार्यक्रममा बोल्दै उप–प्रमुख दाहालले फोहोर व्यवस्थापनको लागि डम्पिङ गर्ने जग्गा नगरले किनिसकेको बताईन् । उनले केहि समयमानै फोहोरको समस्या समाधान हुने जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal