प्रदेश ३ बाट १ करोड हावाहुरी पीडितलाई

प्रदेश ३ बाट १ करोड हावाहुरी पीडितलाई

जनकपुरधाम / प्रदेश नम्बर–३ सरकारले बुधबार बारा र पर्साका हावाहुरी पीडित परिवारका लागि राहत रकम बुधबार २ नम्बर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार आफै प्रदेश २ को राजधानी जनकपुरमा पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेल र प्रदेश ३ का उपसभामुख राधिका तामाङले राउतलाई प्रदेश सरकारको एक करोड रुपैयाँ र प्रदेशका सबै सांसदको तर्फबाट ४ लाख ६९ हजार रुपैयाँको चेक संयुक्त हस्तान्तरण गर्नुभयो । पीडामा परेको समयमा सहयोग रकम हस्तान्तरण गर्न पाएकोमा मुख्यमन्त्री पौडेलले खुसी व्यक्त गर्नुभयो । त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री राउतले समस्यामा परेको समयमा छिमेकी प्रदेशले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सहयोग रकम प्रदेश २ को दैविप्रकोप उद्धार कोषमा जम्मा गरिने मुख्यमन्त्री राउतले बताउनुभयो ।

छिमेकी प्रदेशका नागरिक हावाहुरीका कारण पीडित बनेकाले उनीहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्देश्यले प्रदेश ३ को सरकारको मन्त्री परिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेशसभाका एक सय नौ जना सदस्यहरुको तीन दिन बराबरको तलबको रकम कटाएर चारलाख ६९ हजार रुपैयाँ सहयोग गरिएको हो ।

प्रदेश २ को बारा र पर्सा जिलामा हावाहुरीका कारण ढलेका गाउँबस्ती हेर्न, उनीहरुका समस्या बुझ्न र अस्पतालमा उपचाररत घाइतेलाई भेट्नका लागि मुख्यमन्त्री पौडेल तत्काल पुग्नुभएको थियो । तराईका जिल्लामा हावाहुरी पीडितका क्षेत्रको अवलोकन गर्ने बित्तिकै मन्त्रिपरिषद्को बैठक बोलाएर एक करोड रुपैयाँ सहयोग गर्ने निणय गर्नु भएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेश ३ का उपसभामुख राधिका तामाङ, प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झालगायतकाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal