फुच्चे स्याटेलाइटको अर्को हल्ला ! डुंगालाई पानीजहाज भनेजस्तै !

फुच्चे स्याटेलाइटको अर्को हल्ला ! डुंगालाई पानीजहाज भनेजस्तै !

काठमाडौं । नेपाल सरकारले करिब २० अर्बको महंगो लगानीमा लगानीमा फ्रान्ससँग पहिलो स्याटेलाइट किन्ने गृहकार्य गरिरहेकै बेला विहीबार एकाएक खबर आयो- नेपालले अन्तरीक्षमा पहिलो स्याटेलाइट पठायो । र, प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको सगर्व घोषणासमेत गरे ।

अमेरिकाको हारवर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका उत्तमबाबु श्रेष्ठले नानो स्याटेलाइटलाई परम्परागत स्याटेलाइटकै रुपमा प्रचार गरिनु ‘डुंगालाई पानीजहाज भनेजस्तै’ भएको बताएका छन् ।

नानो स्याटेलाइट अन्तरीक्षमा पठाउने काम विश्वविद्यालयले पनि गर्ने भन्दै श्रेष्ठले यसमा धेरै हल्ला नगर्न सुझावसमेत दिएका छन् ।

श्रेष्ठले टि्वट गर्दै भनेका छन्- ‘नानो स्याटेलाइटलाई परम्परागत रुपमा बुझिने स्याटेलाइट भनेर प्रचार गर्नु डुंगा चलाएको कुरालाई पानीजहाज भनेर प्रचार गर्नुजस्तै हो । यस्ता नानो स्याटेलाइट अहिले विश्वविद्यालयको पनि हुन्छ है ! अल्लि हल्ला कम गर्ने कि ?U

खुशीकाे कुरा नेपालकाे ‘नानाे’ स्याटेलाइट अन्तरिक्षमा लग्न लागिएकाे छ । तर यसलाइ परम्परागत रूपमा बुझिने ‘स्याटेलाइट’ भनेर प्रचार गर्नु ‘डुंगा’ चलाएकाे कुरालाइ ‘पानी जहाज’ भनेर प्रचार गर्नु जस्तै हाे। यस्ता नानाे स्याटेलाइट अहिले विश्वविद्यालयकाे पनि हुन्छ है।अलि हल्ला कम गर्ने कि?

एकातिर नेपाल सरकारले स्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरिरहेको र अर्कोतर्फ नास्टको करिब डेढ करोड लगानीमा पहिलो स्याटेलाइट नेपालले अन्तरीक्षमा पठाएको समाचारले केही भ्रमहरु उत्पन्न गराएको छ ।

आखिर डेढ करोडको लगानीमै नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्न सक्छ भने फेरि ऋण गरेर २० अर्बको स्याटेलाइट फ्रान्सबाट किन किन्नु पर्‍यो ? आम जनमानसमा यो प्रश्न पनि उब्जाइदिएको छ नानो स्याटेलाइटको प्रक्षेपणले ।

भएको चाहिँ के हो ?

बुधबार राति २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियाँबाट नेपाली विद्यार्थीले तयार पारेको स्याटेलाइट नासाको सहयोगमा अन्तरीक्षमा पठाइएको हो । नेपालका साथै श्रीलंका र जापानको पनि दुईवटा नानो स्याटेलाइटहरु अन्तरीक्षमा पठाइएको छ ।यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्यांक रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन

नेपालले अन्तरीक्षमा पठाएको यो स्याटेलाइट संयुक्त राष्ट्र संघको फेलोसिपमा जापानको क्युटेक यनिभर्सिटीमा भू-उपग्रह प्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयार पारेका हुन् । यसमा पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तरका विद्यार्थी हरिराम श्रेष्ठको योगदान छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको १ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले यो रकम जापान पठाइसकेको छ ।

यो नानो स्याटेलाइटलाई अमेरिकाको भर्जिनियाबाट यानमार्फत अन्तरीक्षमा पठाइएको हो, जसमा श्रीलंकाको नानो स्याटेलाइट रावण-१ र जापानको युगुईसुसमेत छन् ।

के छ विशेषता ?

नेपालले अन्तरीक्षमा पठाएको नेपालीस्याट-१ नामको यो नानो स्टाटेलाइटको तौल १ किलो ३३ ग्राम मात्र छ । यस्ता नानो स्याटेलाइटहरु बढीमा १० केजी तौलसम्मका हुन्छन् ।

यो स्याटेलाइट लोअर अर्बिटमा बस्छ र पृथ्वीलाई फन्को मार्छ । यसको आयु बढीमा ३ वर्ष सम्म अनुमान गरिएको छ ।

नानो स्याटेलाइट नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने र इमेज डाटा खिचेर पृथ्वीमा पठाउने दाबी गरिएको छ ।

आकार हेर्दा खेलौना जस्तै लाग्ने यस्ता नानो स्याटेलाइटहरु विज्ञानका विद्यार्थीले बनाएर नमुना परीक्षणका लागि अन्तरीक्षमा पठाउने गर्दछन् । त्यसरी पठाइएका स्याटेलाइटको आयु थोरै हुने भएता पनि केही डाटाहरु पृथ्वीमा पठाउन काम लाग्ने गरेका छन् । यसमा क्यामेराका लागि डाटा संकलन र जीपीएस सिस्टम पनि हुन्छ ।

तर, यो नानो स्याटेलाइटले अन्तरीक्षबाट नेपालमा डाटा पठाउने भनिए पनि दुर्भाग्यचाहिँ के छ भने त्यसले पठाउने तथ्यांक रिसिभ गर्नका लागि नेपालमा अहिलेसम्म ग्राउन्ड स्टेसन नै बनेको छैन ।

कहाँ पुग्यो २० अर्बमा स्याटेलाइट खरीद गर्ने योजना ?

नेपाल सरकारले अहिले २० अर्बभन्दा बढीको लगानीमा स्याटेलाइट खरीदका लागि फ्रान्ससँग जीटुजीमार्फत सहमति गरिसकेको छ । अबको केही महिनामा मूल्य निर्धारण गरेर औपचारिक सम्झौता गर्ने सरकारको तयारी छ ।

सुरुमा स्याटेलाइट खरीदका लागि दूरसञ्चार प्राधिकरणमार्फत नेण्टर आह्वान गरेको सरकारले पछिल्लो समय सञ्चार मन्त्रालयमार्फत जीटुजी प्रक्रिया अघि बढाएको छ ।

यसका लागि सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फ्रान्समा पुगेर स्याटेलाइट कम्पनीको निरीक्षण गर्नुका साथै मन्त्रीसँग सहमति गरेर आएका छन् ।

उता सरकारले ऋणमार्फत २० अर्ब खर्च गर्न लागिरहेका रसिया लगायतका कतिपय कम्पनी ९ देखि १२ अर्बसम्ममै स्याटेलाइट उपलब्ध गराउन सकिने बताउँदै आएको छ ।

तथापि, नानो नै सही, डेड करोडको खर्चमा नेपालले पहिलोचोटि स्याटेलाइट अन्तरीक्षमा पठाउनु एउटा सकारात्मक उपलब्धि नै हो । यसबाट नेपालले भू उपग्रहसम्बन्धी केही शिक्षाहरु अवश्यै सिक्न सक्छ । र, सबैभन्दा ठूलो पाठ चाहिँ तत्कालै डाटा रिसिभ गर्ने ग्राउण्ड स्टेसन निर्माण गर्नु हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal