सहरमा पढ्न चाहने किशोरीको सपनामा ‘ऐना झ्यालको पुतली’


सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदी भाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म भदौ २४ मा सार्वजनिक हुँदैछ ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

लेखक/ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ ,‘ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’ किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताए ।Source : Rajdhani


प्रकाशित : २०७९ श्रावण ३०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित