ताजा जनादेश अनुरुप गठबन्धन सम्मानजनक हुनुपर्नेमा काभ्रे कांग्रेसको एक मत


पनौती । नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले आसन्न प्रतिनिधी सभा/प्रदेश सभा निर्वाचनमा पार्टीले गर्ने गठबन्धन सम्मानजनक हुनुपर्ने बताएका छन् । ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ (ख) ले पनौतीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले काभ्रेको सन्दर्भमा गठबन्धन गर्दा ‘ताजा जनादेश’ लाई आधार बनाएर पार्टीले निर्णय गर्नुपर्ने बताए ।
अभियानको लागि काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले काभ्रेमा कांग्रेसको पक्षमा माहौल देखिएको भन्दै यसबारे पार्टीले उपयुक्त निर्णय लिनुपर्ने बताइन् । ‘पछिल्लो एक साता म जिल्ला र काभ्रे क्षेत्र नं १ मा खटिएको छु, यहाँको माहोल, तथ्य र तथ्यांक कांग्रेसको पक्षमा देखिएको छ,’ उनले भनिन्, ‘पार्टीको तर्फबाट निर्णय गराउन तपाईहरु पनि लविङ गर्नुस्, म पनि उक्त बिषय प्रतिवेदनमा पार्छु ।’ संविधानको रक्षाको लागि गठबन्धन आवस्यक भएको भन्दै सिट संख्या निर्धारण गर्दा व्यवहारिक निर्णय हुनुपर्ने बताइन् ।
कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले गठबन्धन अहिलेको आवस्यकता रहेको भन्दै चिन्ता मान्नुपर्ने अवस्था नभएको बताए । केन्द्रीय सदस्य गणेश लामाले गठबन्धनको पक्षमा उभिनुपर्ने भन्दै काभ्रेका ६ वटै संसदीय क्षेत्र कांग्रेसले लिनुपर्ने बताए । कांग्रेस जिल्ला सभापति तिर्थ लामाले काभ्रेका १३ वटै स्थानीय तहमा कांग्रेस विजयी भएको भन्दै आसन्न प्रतिनिधी सभा/प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउन पार्टीका सबै तह र तप्का परिचालित हुने बताए । जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईले जो जहाँ बलियो छ, सोही पार्टीलाई सिट दिनुपर्ने भन्दै काभ्रेमा कांग्रेस बलियो रहेको तर्क गरे ।
नमोबुद्ध नगर प्रमुख समेत रहेका कांग्रेस नगर सभापति कुन्साङ लामाले स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत प्रतिनिधी सभा/प्रदेश सभा निर्वाचनमा कांग्रेस उम्मेदवारले पाउने बताए । कांग्रेस नेता रामकृष्ण हुमागाईले बहुमत सिट पाउने गरी गठबन्धनमा सहमति हुनुपर्ने भन्दै स्थानीय तहको नतिजा कारण पनि उत्साहित हुनुपर्ने अवस्था रहेको बताए ।


कार्यक्रममा कांग्रेस नेता इन्द्रमणि अधिकारी, तिर्थ पसखल, संविधान सभा सदस्य कमला थापा, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, वाग्मती प्रदेश कार्यसमिति सदस्य विक्रम लामा, प्रतिनिधी सभा क्षेत्र नं १ सभापति दिनेश लामा, महासमिति सदस्य सार्कीमान बल, जयन्ती हुमागाई, महाधिवेशन प्रतिनिधी इश्वरी ओझा, जिल्ला सदस्य सन्तबहादुर लामा, चित्र गोले, प्रदेश सभा क्षेत्रीय सभापति चन्द्र लामा, पनौती नगर सभापति समेत रहेका नगर प्रमुख रामशरण भण्डारी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, रोशी गाउँपालिका सभापति दुधराज तामाङलगायतले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी हुन आवस्यक रहेको बताए ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सचिव अनिल वल तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति सुदर्शन अधिकारीले राखेका थिए ।


प्रकाशित : २०७९ भाद्र १५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित