१० दिनभित्र बहाल कर बुझाउन सेना-प्रहरीसहित विभिन्न निकायलाई महानगरको पत्र


काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई बहाल कर बुझाउन आग्रह गरेको छ । प्रहरी र सेनालाई पत्र लेख्दै महानगरले १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको हो । सेना र प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै त्यसबापतको बहाल कर बुझाउन उनीहरूलाई आग्रह गरेको छ । बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले आग्रह गरेको छ ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक-पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गर्नुभएको छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा चेतावनी दिइएको छ ।

महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससहित वीर अस्पताल र दशरथ रंगशालालाई बहाल कर बुझाउन ताकेता गरेको छ । महानगरले शंकरदेव, रत्नराज्य लक्ष्मी (आरआर), नेपाल ल, नेपाल कमर्स र सरस्वती बहुमुखी क्याम्पसले आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर बहाल कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको हो । पटक-पटक बहाल कर तिर्न ताकेता गरे पनि नबुझाएको भन्दै महानगरपालिकाले पत्र काटेर १० दिनभित्र तिर्न भनेको हो । नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन महानगरले आग्रह गरेको छ । अन्यथा राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत पत्रमा दिइएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राजस्व असुली र अवैध संरचना भत्काउने अभियान चलाइरहनु भएको छ । महानगरले यसअघि सातवटा क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको थियो । बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक-पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले चार वर्षदेखि नतिरेको महानगरको राजस्व विभागले जनाएको छ । महानगरको पत्रपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो । यसअघि महानगरको ताकेतापछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको थियो ।
Source : ehimalayatimes.com


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित