महोत्तरीमा आठ प्रतिशत महिला उम्मेदवार


प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । महिलाहरूको नैराश्यपूर्ण सहभागिताले अनेकन् प्रश्न खडा गरेको भन्दै महिलाहरूले राजनीतिकदलहरुसँग आपत्ति जनाएका छन् ।
महिला अधिकार, उत्थान र समावेशीका हिमायती भएको दाबी गर्ने दलहरू नै महिला उम्मेदवारका सवालमा पछि हटेको पाइएको छ । जिल्लाका ४ प्रतिनिधि र ८ प्रदेशसभा गरी १२ सिटका लागि २३९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २१ जना महिलाले मात्र मनोनयन दर्ता गराउनु भएको छ । यो सङ्ख्या कुल उम्मेदवारको साढे ८ प्रतिशत मात्र हो । यो प्रतिसतले संविधानले महिलाका लागि प्रत्याभूत गरेको ३३ प्रतिसतको उपहास भएको महिला नेतृहरूको गुनासो छ ।
चारै क्षेत्रका निर्वाचन अधिकृतले जारी गरेको पछिल्लो रिपोर्टअनुसार प्रतिनिधि सभाका ४ सिटका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ५ अर्थात् २ प्रतिशत मात्र छ । प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमा १७० जनाले मनोनयन दर्ता गराएकामा ६ स्वतन्त्र गरी १६ जना अर्थात् ९ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।
पूर्व प्रदेश सांसद एवं नेकपा एमालेकी नेतृ शारदादेवी थापा निर्वाचनमा महिलाहरूको न्यून सहभागितालाई विभिन्न कोणले विश्लेषण गर्नु हुन्छ । उहाँको भनाइमा दलहरूले महिलाको नेतृत्व र अस्तित्वलाई नस्विकार्ने प्रवृत्तिका कारण संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत आरक्षणबाट समेत वञ्चित हुन परेको हो । ‘कानुनलाई बाध्यकारी नपारेसम्म संविधानमा लेखेर मात्र नहुने रहेछ’ पूर्व प्रदेश सांसद थापाले भन्नुभयो ।  कतिसम्म उपेक्षा गरिएको छ भने प्रतिनिधि सभाका लागि त निर्वाचन क्षेत्र नं २ र ४ बाट एक जना महिलाको पनि उम्मेदवारी परेन । प्रदेश सभाका लागि भने सबैभन्दा बढी क्षेत्र नं १ बाट ७ जना महिलाले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै २ बाट ३ जना, ३ बाट २ जना र ४ बाट ४ जना महिलाले मनोनयन गरेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् ।
यो पटक महोत्तरीमा साना ठुला २४ वटा पार्टी चुनावी मैदानमा देखा परेका छन् । तर सबैभन्दा बढी राप्रपा नेपालबाट ५ महिलाले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै राप्रपा, एमाले, लोसपा, नेकपा एकीकृत समाजवादी लगायत ११ पार्टीले मात्र महिलालाई अवसर दिएको देखिएको छ ।
अगिल्लो निर्वाचनको तुलनामा भने महिला उम्मेदवारको सङ्ख्या बढेको छ । ०७४ को निर्वाचनमा महोत्तरीमा प्रतिनिधि र प्रदेश सभाका गरी २ सय १३ उम्मेदवारी दर्ता भएको थियो । यसमध्ये प्रतिनिधिसभाका २ र प्रदेश सभामा १२ गरी १४ जना महिलाले मात्र मनोनयन दर्ता गराउनु भएको थियो । त्यस निर्वाचनमा पनि क्षेत्र नं ३ र ४ मा प्रतिनिधिसभाका लागि एक जना पनि महिला उम्मेदवार थिएनन् भने निर्वाचन क्षेत्र १ को (ख) र क्षेत्र नं ३ को प्रदेश (क) मा पनि महिलाको उम्मेदवारी परेको थिएन ।Source: Gorkhapatra


प्रकाशित : २०७९ आश्विन २५, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित